हजुरको मुहार हेर्न पाउँछु-पाउँदैन बा ?

भाविको यो लेखालाई च्यात्न सकिदैन र बा ?


पृथीछक बुढा मगर । बा आज हजुरको मु’ख हेर्न पाएन । के गरुँ बा, देशको दुर्दशा यस्तै छ । म मात्रै होइन, लाखौं युवाहरुले आज बाबूको मुख हेर्न पाउनु भएन । कसैले त सधैंको लागि बाबू हेर्न पाउनु हुनेछैन । के थाहा हाम्रो पनि भेट हुन्छ हुँदैन ? सधैंको लागि हजुरको मु’ख हेर्न पाउछु पाउदैन ? हजुर त कतै जाने हतारमा हुनुहुन्छ, सायद यो नक्षत्र देखि कतै टाढा । मलाई पर्खिनु हुँदैन र बा ? हिजोसम्म सोध्नु केही थिएन । आज धेरै कुरा सोध्न मन छ बा ।

अबेर भएको छैन बा । घाम अस्ताउन निकै समय बाकी छ । कहाँ जानू छ र बा ? कहाँ पुग्नु छ र ? किन हतार गर्नुहुन्छ ? जिन्दगीको एउटा बिसौनीमा बाबू छोराको भेट भयो, एकपटक विश्राम गरौं न । जिन्दगीभर हाम्रो लागि निकै दौडधुप गर्नु भयो ।

हजुरलाई धेरै कुरा थाहा छ । हजुरले मलाई धेरै कुरा सिकाउनु छ । मैले धेरै कुरा सिक्नु छ । हिजोसम्म बाबुलाई केही कुरा थाहा छैन भन्ने लाग्थ्यो, आज मौन हुनुहुन्छ, बोल्न सक्नु हुन्न, यहि वेला बाबुलाई सबै कुरा थाहा छ भन्ने लाग्दै छ । हजुरलाई जिवनको मूल्य सोध्नु छ बा । यो धर्तीमा जन्म लिइसकेपछी के पाइदो रहेछ ? के गुमाइदो रहेछ ? यसको रहस्य थाहा पाउनु छ बा ।

तर हजुरको हतारपन देख्दा यस्तो लाग्न थाल्यो कि अब भेट हुने लेखेकै छैन । भाविको यो लेखालाई च्यात्न सकिदैन र बा ?

जिन्दगीमा दु:ख मात्रै पाउनु भयो । एकपटक सुखको अनुभुती पनि दिलाउनु थियो । त्यसैले हामी भेट हुनुपर्छ बा । भेट हुने लेखेको छैन भनेर कसैले लेखेको भए पनि हामीले त्यो लेखान्तिलाई असत्य सावित गर्नुपर्छ बा । कोखबिन्दको भार त म नाथेले के तिर्न सकुला र ! मान्छेको चोला अलिकती लामो हुनुपर्छ भन्छु । समय अलिकती छोटो भइदिएछ बा । हाम्रो बसाई अलिकति छोटो भइदियो ।

यी शहरहरु, यी सडकहरु, यी बिजुलीबत्तिहरु, यी मान्छेहरुका भिडभाड, दौडधुप र ट्राफिक । मानौँ मान्छेहरुलाई सोच्ने फुर्सदै नहुँदो हो । जीउनै छ, यहि भिडमा कर्म खोज्दै बाध्यताका पाइलाहरु सारिरहेको पात्र म, हजुरलाई नसम्झेको होइन बा । जब एकान्तमा एक्लै हुन्छु, जब आरामको लागि बिस्तारामा पल्टिन्छु र आँखाहरु बन्द गर्छु, तब हजुरको यादले मार्न खोज्छ बा । ती पलहरु मैले भुलेको छैन बा, जहाँ बाबू छोराले सुखदुःखका दिनहरु बिताएका थियौँ । ती दिनहरुलाई अब फर्काउन सकिँदैन है बा ।

क्यारियर बनाउँछु भनेर हजुरहरुको काख भन्दा पर रहेर बस्न थालेको पनि २४ बर्ष भएछ । २४ बर्ष पहिलेको चेतनाले भन्थ्यो, क्यारियर बनाएर मैले एउटा ठूलो घर बनाउने छु, जसमा मेरो बुवाआमा मालिक भएर बस्नुहुने छ, अनि गर्वले भन्ने छु कि म बुवाआमासंग बस्छु । अहिले झसङ्ग भएर ब्युझिदा साथमा न क्यारियर वनेको पाएँ, न ठूलो घर, न बुवाआमा । दुबै तर्फ उस्तै उस्तै तिर्खा छ, उता बुवाआमालाई छोराको तिर्खा छ, यता छोरालाई बुवाआमाको तिर्खा । तर समय धेरै बढलिएछ । बुवा अन्तिम घडीमा हुनुभएछ, जसलाई मेरो सख्त जरुरत छ तर अझै क्यारियरकै दौडमा दौडिरहेको छु । केही बर्षपछी साथमा न क्यारियर हुनेछ, न बुवाआमा । यस्तो पनि दौड ? जसमा कुनै बिजय छैन । के यहि परिणाम नै जिन्दगी हो बा ?

१३ भाद्र २०७६, शुक्रबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको