संघीयता खारेजीको बाटोतिर जान थाल्यो -सिटौला


असार १५, काठमाडौं । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले संघीयता खारेजीको बाटोतिर नजान सरकारलाई चेतावनी दिएका छन् । जनतामा ‘प्रदेश सरकार नभए पनि हुन्छ’ भन्ने भाव आएको भन्दै सचेत हुन प्रदेश सरकारहरुलाई आग्रह गरे ।

आइतबार आफ्नै निवासमा केही सञ्चारकर्मीहरुसँग कुरा गर्दै सिटौलाले भने, ‘संघीयता दिन प्रतिदिन कमजोर भइरहेको छ र यो खारेजीको वाटोतिर जान थाल्यो ।’

परिर्वतनका बाहकहरु एक हुन नसकेको तथा राजा चाहिन्छ भन्ने नाममा उग्र दक्षिणपन्थी र विप्लवका नाममा उग्रवामपन्थीहरु दिनप्रतिदिन सक्रिय भएको विश्लेषण उनले सुनाए । ‘सरकार र प्रतिपक्षी आफ्नो ठाउँमा छ तर, यो व्यवस्थालाई सुदृढ गर्न सबै एक ठाउँमा आउनुपर्ने हो, त्यो देखिएन’ उनले भनेका छन् ।

नेता सिटौलाले प्रदेश सरकारका काम कारबाहीप्रति असन्तुष्टि जनाए । प्रदेश सरकार गठन भएको एक डेढ वर्षमा नै जनतामा प्रदेश सरकार नभए पनि हुन्छ’ भन्ने भाव आउनु गम्भीर भएको र यसले संघीयतालाई नै कमजोर बनाउने उनले बताए ।

‘यदि केन्द्र सरकारबाट हस्तक्षेप भएको छ भने खुलेर भन्नुपर्‍यो । होइन भने काम गरेर देखाउनुपर्‍यो । जनताको मनोवल गिराउने अधिकार कसैलाई छैन’ उनले भनेका छन् ।

प्रदेशसभामा प्रमुख प्रतिपक्षीको रुपमा रहेको आफ्नो पार्टीका सांसदहरुले पनि प्रभावकारी भूमिका खेलेर सरकारलाई दबाव दिन नसनेको उनले बताए । प्रतिपक्षी कमजोर हुँदा प्रदेश सरकारले मनपरी ढंगले काम गरेको उनको उनको विश्लेषण छ ।

केन्द्र र स्थानीय सरकारले पनि राम्रोसँग काम गर्न नसकेको भन्दै उनले भने, ‘तीनै तहमा ठूला भ्रष्टाचार र कमिसनका खेल हुन थाल्यो । त्यसैले जनता निराश छन् ।’

वाइडबडी विमान, बुढीगण्डकी जलविद्युत जस्ता ठूला भ्रष्टाचारका विषय संसदमा प्रवेश गर्दा टुंगोमा पुग्न नसकेको भन्दै नेता सिटौलाले भने, ‘राज्य सञ्चालन गर्नेहरुको काम गर्ने क्षमता नभएका कारण व्यवस्थाप्रति नै निराशा बड्यो ।’

केन्द्र सरकारको एक/डेढ वर्षको कामकारबाही सन्तोषजनक नभएको भन्दै उनले अब गल्ती नदोहोर्‍याउन केपी शर्मा ओली नेतृत्वको सरकारलाई सुझाव दिए । ‘आत्मसमीक्षा गरोस्, अब गल्ती कमजोरी नदोहोर्‍याओस् र सबैलाई साथ लिएर अघि बढोस्’ उनले भने, ‘सरकारलाई मेरो यही आग्रह छ ।’

१५ असार २०७६, आईतवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको