धनुषाका बालक आर्यनलाई बलि चढाएर हत्या गरेको आरोपमा झाँक्री महतो पक्राउ


नितेस कुमार यादब/जेठ १६, जनकपुरधाम । धनुषाको आर्यन हत्यामा बली दिएको खुलासा भएको छ । मिथिला नगरपालिका ६ बस्ने शम्भु साहको अढाई वर्षीय छोरा आर्यन साहलाई बली चढाउने झाक्री पक्राउ परेका छन् । गएको वैशाख २३ गते हराएका बालक आर्यनको शव वैशाख २४ गते विहान स्थानीय कृष्णानन्दन महतोको बारीको झाडीमा धारिलो हतियार प्रहार गरी हत्या गरेर फालिएको अवस्थामा फेला परेको थियो ।

जिल्ला प्रहरी कार्यालय धनुषा, प्रदेश प्रहरी र संघीय प्रहरी ईकाइले संयुक्त रुपमा ६५ जनालाई नियन्त्रणमा लिएर गरेको सूक्ष्म अनुसन्धानको क्रममा धामीझाँक्री सिक्दै गरेका छिमेक ५५ वर्षका शत्रुधन महतोले बालक आर्यनको बली दिएको रहस्य खुलेको छ । धामीझाक्रीमा दखल दिन आफु शक्तिशाली हुने अन्ध विश्वासको लागि बालक आर्यनको बलि दिएको अनुसन्धानबाट खुलेको धनुषाका प्रहरी उपरीक्षक शेखर खनालले जनाए ।

हत्यारा झाक्री महतोलाई प्रहरीले पक्राउ गरी घटनाको झण्डै तीनसाता पछि बिहीबार विहान पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ । वैशाख २३ गते साँझ बालककी आमा रेनुदेवी घाँस काट्न गएको बेला घरमा कोहि नभएको मौकाछोपी झक्री महतोले बालकलाई ललाईफकाई आफ्नै घरको दरको दैलोबाट अपहरण गरेका थिए ।

त्यसै राति झाक्री महतोले बालकलाई लुकाएर राखेको र राति २ बजे सिद्धि हुने अन्ध विश्वासमा आफ्नै आंगनमा धारिलो हतियार प्रहार गरी देवीदेउताको नाममा बालकको घाँटी रेटेर बलि दिएका थिए । बलि पश्चात बालकलाई कृष्णानन्दको झाडीमा बालकको शवलाई फालेका थिए । त्यसपछि उनले बालकलाई बलि दिएको हतियार र लुगाकपडा समेत धोइपखाल गरी नुहाएका समेत थिए । झाक्री महतो घरपरिवारका सदस्यहरु उपचार गराउन बाहिर गएको र घरमा कोहि नभएको मौका छोपी बालकको निर्दयतापूर्वक बलि दिएको अनुसन्धानबाट खुलेको उपरीक्षक खनालले बताए ।

बालक आर्यन विरामी हुँदा समेत झाक्री महतोले झारफुक गर्ने गरेका थिए । झाक्रीको घर बालक आर्यनको घरबाट करिब १ सयमिटर टाढा रहेको छ । बालक आर्यनको बुबा वैदेशिक रोजगारमा छन् । बालक आर्यन आमाबुबाको एकलो छोरा थिए । बालकको हत्यामा प्रयोग गरेको घर्लु हतियार र लुगाकपडा समेत प्रहरीले बरामद गरेको छ ।

बालकका हजुरबुबा पिताम्बर साह हलुवाइको झाक्री महतोमाथि दिएको अपहरण शरीर बन्धक राखि हत्या गरेको ज्यान सम्बन्धी मुद्दामा कार्वाही प्रक्रिया अघि बढाएको उपरीक्षक खनालले जानकारी दिए ।

२०७६ जेष्ठ १६,बिहीबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको