पत्रकार महासंघको ६४ औं स्थापना दिवस आज


चैत १६, काठमाडौं । नेपाली पत्रकारहरूको साझा संस्था नेपाल पत्रकार महासंघ शनिबार आफ्नो स्थापनाको ६४ औं वर्षमा प्रवेश गरेको छ ।

स्थापना दिवसका अवसरमा महासंघका देशैभर र विश्वका विभिन्न देशमा छरिएर रहेका शाखाहरुले विभन्न कार्यक्रमको आयोजना गरेका छन् ।

स्थापना दिवसका अवसरमा महासंघका अध्यक्ष गोविन्द आचार्यले शुभकामना सन्देश दिएका छन् । सन्देशमा ‘नेपालमा लोकतन्त्र, नागरिक अधिकार, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता, पत्रकारिताको संस्थागत विकास र श्रमजीवी पत्रकारको हकहितका लागि अग्रजहरूले सुरू गरेको गौरवपूर्ण इतिहासप्रति महासंघ गर्व गर्दछ’ भनिएको छ ।

सञ्चार क्षेत्रले राज्यका सबै निकायका काम कारवाहीको निगरानी गर्नुका साथै सत्य–तथ्य सूचना प्रवाह र जनताका आवाजहरूलाई सार्वजनिक गर्न अझ बढी संवेदनशील बन्न जरुरी भएको उनले बताएका छन् । ‘राष्ट्रिय सम्वृद्धि र विकासका पक्षमा आफ्नो जिम्मेवारी बहन गर्नसमेत म महासंघको तर्फबाट नेपाली मिडिया जगत् र आम सञ्चारकर्मीहरूमा हार्दिक अपिल गर्दछु’, शुभकामना सन्देशमा उल्लेख छ ।

सन्देशमा लेखिएको छ, ‘नेपालको संविधान र राष्ट्रिय आमसञ्चार नीति २०७३ लाई कार्यान्वयन गर्नुका साथै सोही नीति अनुरुप सरोकार पक्षसँगको छलफल र सहमतिमा सूचना तथा सञ्चारसम्बन्धी कानूनी र संरचनागत व्यवस्थाका लागि म नेपाल सरकार र सरोकारवाला पक्षसँग आग्रह गर्दछु । महासंघले अगाडि सार्दै आएका श्रमजीवी पत्रकार ऐनको पूर्ण कार्यान्वयन, संचार माध्यमलाई संचार सेवा उद्योगको मान्यता, साना लागानीका स्वरोजगारमूलक र गैरनाफामूलक संचार माध्यमको प्रवद्र्धन, पत्रकारको दक्षता अभिबृद्धिका लागि केन्द्र र प्रदेश स्तरमा आम सञ्चार प्रशिक्षण प्रतिष्ठानको स्थापना, सार्वजनिक सेवा प्रसारक संस्थाको स्थापना, आम सञ्चार प्राधिकरण, विज्ञापन परिषद् जस्ता निकायको स्थापना, प्रेस काउन्सिलको पुर्नसंरचना, समानुपातिक विज्ञापन नीतिको कार्यान्वयन, पत्रकारका लागि दुर्घटना तथा स्वास्थ्य बीमा, जेष्ठ तथा अशक्त पत्रकारलाई जीवन निर्वाह भत्ताको व्यवस्था एवं आमसञ्चार विकास कोषको स्थापनालगायतका मागहरू पूरा गर्न सरकारसहित सम्बन्धित निकायहरूमा म पुनः ध्यानाकर्षण गराउँदछु ।’

पछिल्ला दिनहरूमा प्रेस स्वतन्त्रता हनन्का घटनामा संख्यात्मकरूपमा केही कमी आए पनि प्रबृत्तिगत अवस्था उस्तै रहेको छ भने दण्डहीनता र सेल्फसेन्सरसीपको अवस्था पनि कायमै छ । उनले श्रमजीवी पत्रकारहरूका समस्या ज्यू का त्यू रहेको बताए । स्थापना दिवसको दिन चैत्र १६ गते महासंघ केन्द्रीय समितिले सञ्चारग्रामस्थित केन्द्रीय कार्यालयमा दिउसो १२ः०० बजे विशेष समारोहको आयोजना गरेको छ ।

कार्यक्रममा महासंघका पूर्वउपसभापति, उपाध्यक्ष र महासचिवलाई सम्मान गरिने छ । यसैगरी नेपाल पत्रकार महासंघ कास्की र सुनसरी शाखालाई समेत सम्मान गरिने छ । स्थापना दिवसका अवसरमा आयोजित मैत्रीपूर्ण फूटसल प्रतियोगिताका विजयीहरुलाई पुरस्कृत गरिने छ ।

१६ चैत्र २०७५, शनिबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको