चैत १६, काठमाडौं । प्रश्नपत्र आउट भएपछि प्रदेश २ मा माध्यमिक शिक्षा परीक्षा (एसईई) परीक्षा स्थगित भएको छ ।
परीक्षा स्थगित भएपछि विद्यार्थीले आन्दोलन थालेका छन् । विद्यार्थीहरुको प्रदर्शनका कारण बिहान ७ बजेदेखि नै राजमार्ग अवरुद्ध छ । प्रहरीले प्रदर्शनकारीलाई हटाई अवरुद्ध राजमार्ग खोल्ने प्रयास गरेपछि बाराको जीतपुर सिमरा उपमहानगरपालिका-७ जीतपुरमा झडप भएको हो ।
प्रदर्शनकारी विद्यार्थीलाई नियन्त्रणमा लिन बारा प्रहरीले अश्रुग्यासका साथै हवाई फायरसमेत गरेको छ । विद्यार्थीले रोकि राखेको गाडीमा आगजनी गर्न थालेपछि हवाई फायर गरेको हो । प्रदर्शनमा उत्रिएका विद्यार्थीको समूहले प्रहरीको ना १ झ ७१२ नम्बको भ्यानमा आगजनी गरेका थिए ।
दुई घण्टादेखि निरन्तर झडप भइरहेको बताइएको छ । झडपका क्रममा आधा दर्जन जति विद्यार्थी र एक प्रहरी घाइते भएका छन् ।
जारी एसईई परीक्षा अन्तर्गत प्रदेश २ मा सञ्चालित परीक्षामा विज्ञान, सामाजिक, स्वास्थ्य तथा जनसंख्या विषयको प्रश्नपत्र बाहिरिएपछि शुक्रबार शिक्षामन्त्री गिरिराजमणी पोखरलेलले पत्रकार सम्मेलन गरी सम्पूर्ण परीक्षा स्थगत गर्न निर्देशन दिएका थिए । सोहीको विरोधमा विद्यार्थी आन्दोलनमा उत्रिएका हुन् ।
प्रतिक्रिया दिनुहोस