विद्यार्थी नेता पक्राउ परेपछि अखिल क्रान्तिकारीले निकाल्यो यस्तो विज्ञप्ति


पुस १३, काठमाडौँ । अखिल क्रान्तिकारीका दुई नेतालाई प्रहरीले गिरफ्तार गरेको छ ।

विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निकट अखिल क्रान्तिकारीका भक्तपुर संयोजक मानबहादुर डाँगी र ललितपुर सचिव ललिजन शाहीलाई विना कारण गिरफ्तार गरेको भन्दै संगठनले विरोध जनाएको छ ।

अखिल क्रान्तिकारीका उपत्यका क्षेत्रीय समन्वय समितिका संयोजक हर्कबहादुर बिकले आइतबार विज्ञप्ति जारी गरेर गिरफ्तारीप्रति आपत्ति जनाएका छन् । बिकका अनुसार डाँगीलाई यही पुस ११ गते आफू अध्ययनरत भक्तपुरस्थित सानोठिमी क्याम्पसबाट र शाहीलाई १२ गते काठमाडौँबाट प्रहरीले गिरफ्तार गरेको हो । बिकले दुबै जनालाई गिरफ्तारपछि कहाँ राखियो भन्ने परिवारलाई समेत जानकारी नदिइएको बताए ।

“हाम्रो संगठनका भक्तपूर जिल्ला संयोजक मानबहादुर डांगीलाई पौष ११ गते उहाँ अध्ययनरत सानोठीमी क्याम्पस भक्तपरबाट र संगठनका ललितपूर जिल्ला सचिव ललिजन शाहीलाई पौष १२ गते काठमाडौबाट बाटोमा हिडिरहेको बेला बिना कारण गिरफ्तार गरेर बेपत्ता बनाइएको छ । यस अन्यायपूर्ण गिरफ्तारीको संगठन घोर भत्र्सना गर्दछ” बिकद्वारा जारी विज्ञप्तिमा भनिएको छ । उनले कलमको भाषा बोल्ने विद्यार्थीसँग बन्दुकको भाषा नबोल्न सरकारलाई चेतावनी दिएका छन् ।

संयोजक बिकले भारतले नेपाली सीमा अतिक्रमणविरुद्ध आफ्नो संगठनले विरोध प्रदर्शन गर्दा समेत सरकारले हस्तक्षेप, धरपकड र गिरफ्तार गरेर सरकारले उल्टो राष्ट्रघात गरिरहेको बताएका छन् । अतिक्रमित नेपालीभूमी फिर्ताको लागि राष्ट्रिय झण्डा लिएर सडकमा जाँदा समेत दमन गरेको बताउँदै बिकले भने, “भारतीय साम्राज्यवादले नेपालको आन्तरिक मामिलामा गर्दै आएको हस्तक्षेपको पराकाष्ठा जंगे पिल्लर सार्नेदेखि लिपूलेक, लिम्पियाधुरा र कालापानी क्षेत्रको ३७२ बर्ग किलोमिटर सीमा क्षेत्रको भूभाग हडप्नेसम्म पुगेको छ । सीमा फिर्ताको लागि सरकारले पत्यारलाग्दो कुटनैतिक पहल गर्नुको सट्टा सीमा फिर्ताको लागि चन्द्र सूर्य अंकित राष्ट्रिय झण्डा र नेपालको नक्सा लिएर सडकमा उत्रिएको हाम्रो संगठनका नेता–कार्यकर्ता तथा सर्वसाधारण नेपाली नागरिकमाथि बर्बर दमन र गिरफ्तार गरिरहेको छ । राष्ट्रियताको रक्षा गर्न माग गर्नेहरुलाई उल्टै सार्बजनिक अपराधको मुद्धा लगाएर सरकारले राष्ट्रघात गरिरहेको छ ।”

राजनीतिक आस्थाकै कारण सरकारले आफ्नो संगठनमाथि हस्तक्षेप तथा दमन गरेर राष्ट्रिय स्वाधिनता र सीमा रक्षाको पक्षमा बोल्न समेत नदिएको भन्दै विज्ञप्तिमा भनिएको छ, “बिदेशी हस्तक्षेपका कारण देश र राष्ट्रियता खतरामा परेको बेला आन्तरिक एकतालाई सुदृढ गरेर प्रतिरोध गर्नुपर्ने बेला आफ््नै देशका स्वाभिमानी तथा परिबर्तनकारी नागरिकहरुमाथि राज्यले दमन चलाइरहेको छ । नौजवान विद्यार्थीहरुको शान्तिपूर्ण कार्यक्रममाथि हस्तक्षेप तथा दमन मच्चाइरहेको छ । राजनीतिक विचार र आस्थाकै कारण विद्यार्थीहरुमाथि बन्दुकको बलमा प्रहरी प्रशासनले निर्लज्ज र निकृष्ट प्रकारको दमन, गिरफ्तारी र धरपकड गरिरहेको छ ।”

१३ पुष २०७६, आईतवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको