खसिको ब्यापार, ९८ लाख सम्मको कारोबार


संकर केसी/पुस १३, सल्यान । बाख्रा पालन संगै खसिको ब्यापारबाट सल्यानमा एक किसानले मनग्य आम्दानी गर्नेगरेका छन् । सल्यान रीमका ५० वर्षिय नन्दराम खत्रीले २२ वर्ष अघि देखि खसिको ब्यापार गरिरहेका छन् ।

खसिको ब्यापार बाट नन्दरामले एक वर्षमा ९ लाख रुपैयाँ सम्म चोखो नाफा गर्नेगरेका छन् । ‘यो वर्ष पनी राम्रो भइरहेको छ,’ उनले भने, ‘गएको वर्ष ९८ लाख सम्मको कारोबार भयो, ९ लाख रुपैयाँ वचत गर्न सफल भएको थिएं ।’ खसि खरिद तथा विक्रिको ब्यापारबाट भएको आम्दानीबाट नन्दरामले केहि जमिन समेत गरिद गरेका छन् । साथै छोरो अष्ट्रेलिया गएको र छोरीलाई जिल्ला वाहिर राम्रो स्कुलमा पढाईरहेको उनले बताए । ‘यो सबै सम्भव खसि ब्यापार र बाख्रा पालनबाटै भएको हो । छोराछोरीको भविष्य उज्वल बनाउने कोसिसमा छु,’ उनले भने ।

अझै १० वर्षसम्म खसि ब्यापार गर्ने उनको योजना छ । कपुरकोट गाउँपालिका, ५ रीम निवासि नन्दरामले जिल्लाका विभिन्न स्थानमा पुगेर किसानको घरबाट खसि खरिद गरेर काठमाण्डौमा विक्रि गर्ने गरेका छन् । उनी भन्छन्, ‘२२ वर्ष भन्दा बढी भयो खसिको ब्यापार गर्न थालेको । घरमा पनी बाख्रा पालन गरेको छु । छोराछोरी पढाउन, घरपरिवार पाल्न मज्जाले पुगेको छ ।’ उनी जीवनभर विदेश गएनन् । बरु स्वदेशमै परिश्रम पोखीरहे ।

सल्यानको खसि बढि मुल्यमा विक्छ

एक पटकमा ४० वटा सम्म खसी काठमाण्डौ पठाउने गरेका नन्दरामले खसि ढुवानीका लागी गाडी समेत खरिद गरेका छन् । आफ्नै गाडीमा उनले काठमाण्डौ खसि पुर्याउने गर्छन् । जिउँदो खसि प्रतिकिलो ४ सय ७० रुपैयाँ सम्म खरिद गरेर व्यापारिहरुले काठमाण्डौमा ५ सय ७५ रुपैयाँ सम्ममा विक्रि गर्ने गरेका छन् । नन्दराम भन्छन्, ‘काठमाण्डौमा अन्यत्र जिल्लाको खसि भन्दा सल्यानमा उत्पादन भएका खसिले राम्रो मुल्य पाउने गरेका छन् ।’ चिसो हावापानीमा हुर्किएका सल्यानका खसिको मासु निकै स्वादीलो हुने भएकाले अन्य जिल्लाको भन्दा सल्यानको खसिको मुल्य प्रतिकिलोम २५ रुपैयाँ बढी हुने गरेको उनले जनाए । खसिबाख्रा पालन मिहेनत साथ गरेमा मनग्य आम्दानी गर्न सकिने नन्दरामको भनाई छ । ‘सल्यान जिल्ला बाख्रा पालनका लागी उपयुक्त स्थान हो,’ उनले भने, ‘विदेश गएर दुःख पाउनु भन्दा यहि केहि गर्ने हो भने जीवन सजिलै संग चलाउन सकिन्छ ।’ आफुले घरमा पनी बाख्रा पालन गरेको जनाउँदै उनले अघि भने, ‘हरेक वर्ष घरमा पालन गरेका ७÷८ वटा खसि विक्रि गर्छु ।’

ठाउँठाउँमा कर तिर्नुपर्छ

खसि विक्रि गर्न काठमाण्डौँ लैजादा केहि समस्याहरु ब्यहोर्नुपरेको व्यापारिहरु बताउँछन् । सम्बन्धीत पशु सेवा शाखाहरुबाट खसिबोकाको स्वास्थ्य परिक्षण गरेर प्रमाण सहित जाँदा पनी प्रहरीले दुख दिने गरेको तथा ठाउँ ठाउँमा कर तिर्नुपरेको उनीहरुको गुनासो छ । खसिको स्वास्थ्य परिक्षण गरेर प्रमाणपत्र प्राप्त गर्दा व्यापारिहरुले पशु सेवा शाखामा एक गोटा खसिको ५० रुपैयाँ शुल्क तिर्ने गर्छन् । तर यस अलावा विभिन्न स्थानीय तहहरुले ठाउँठाउँमा कर असुल्ने गरेको ब्यापारिहरुको गुनासो छ । एक ब्यापारिले भने, ‘सल्यानको बागचौर नगरपालिका, त्रिवेणी गाउँपालिका र कपिलवस्तुका स्थानीय तहहरुले कर उठाउने गरेका छन् ।’ तर जिल्लाको नाकाको रुपमा रहेको कपुरकोट गाउँपालिकाले भने कर नलिएको ब्यापारि नन्दरामले बताए ।

१३ पुष २०७६, आईतवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको