दुर्घटना बढिरहे, सावधानी किन बढेन ?


मङ्सिर १३, काठमाडौँ । १२ वर्षमा एक लाख पाँच हजार दुर्घटना, २२ हजार नौ सयको मृत्यु, हवाई दुर्घटनाको हरेकपटक छानबिन हुन्छ, तर सडक दुर्घटनामा अहिलेसम्म एउटा मात्रै समिति, पूर्वगृहमन्त्री माधव घिमिरे दुर्घटनामा परेपछि गठन भएको छानबिन समितिले दिएको प्रतिवेदन पनि दराजमा थन्कियो ।

पूर्वगृहमन्त्री माधव घिमिरे आफैँले चलाएको गाडी ९ असोज ०७३ मा मुग्लिनको सडकबाट त्रिशूलीमा खस्यो । माधव परिवारसहित मुक्तिनाथबाट फर्कंदै थिए । पछाडि बसेका चालकको उद्धार भएको थियो भने घिमिरेकी आमा, भाइ, आफन्त र अंगरक्षकको शव भेटिएको थियो । तर, माधव र अर्का भाइ अहिलेसम्म बेपत्ता छन् । पूर्वगृहमन्त्री दुर्घटनामा परेर बेपत्ता भएकाले सरकारले छानबिन समिति बनाएको थियो ।

पछिल्लो १२ वर्षमा एक लाख पाँच हजार दुर्घटना भएका छन् जसमा २२ हजार नौ सयको मृत्यु भएको छ । तर, सडक दुर्घटनाको छानबिन गर्न समिति गठन भएको यो पहिलो र अन्तिमपटक हो । घिमिरेको दुर्घटनापछि पूर्वप्रहरी महानिरीक्षक कुवेरसिंह रानाको नेतृत्वमा बनाएको छानबिन समितिले दिएको प्रतिवेदन पनि कार्यान्वयन भएको छैन । प्रतिवेदन सरकारी दराजमा छ ।

घिमिरेको दुर्घटना भएको दुई दिनपछि ११ असोज ०७३ मा रानाको नेतृत्वमा समिति बनेको थियो । समितिले पूर्वगृहमन्त्री घिमिरेको दुर्घटनाको कारण पत्ता लगाउन, पृथ्वी राजमार्ग र मुग्लिन–नारायणगढ सडक क्षेत्रमा सुरक्षित सवारी आवागमन र देशभर दुर्घटना न्यूनीकरणका उपायको सुझाब ल्याउन कार्यादेश पाएको थियो । दुई महिनाको अध्ययनपछि २३ मंसिर ०७३ मा नै समितिले प्रतिवेदन दिएको थियो ।

सवारीसाधनको संख्यामा वृद्धि भए पनि सडकको स्तरोन्नति नभएकाले दुर्घटना बढेको समितिको ठहर छ । चालक, पैदलयात्री र यात्रीमा सडकसम्बन्धी ऐन–नियमको जानकारीको अभाव, जानकारी भए पनि उल्लंघन गर्ने प्रवृत्तिका कारण दुर्घटना बढेको निष्कर्ष समितिको छ । यसका लागि चेतना बढाउन र नियम–कानुन कार्यान्वयन गराउन नयाँ पहल गर्न समितिले सिफारिस गरेको थियो । तर, सरकारले त्यस्तो कुनै पहल गरेको छैन ।

समितिले पछिल्लो एक दशकमा भएका दुर्घटनाको विवरण पनि संकलन गरेको थियो । समितिले अध्ययन गरेका ११ वर्षमा ९१ हजार आठ सय ५७ सवारी दुर्घटनामा २० हजार एक सय ७७ व्यक्तिले ज्यान गुमाएका थिए । समितिले प्रतिवेदन बुझाएपछिको वर्ष ०७५/७६ मा १३ हजार तीन सय ६६ सवारी दुर्घटना भएका छन् भने दुई हजार सात सय ८९ जनाको मृत्यु भएको छ । दुर्घटनामा चार हजार तीन सय ७६ गम्भीर तथा दश हजार तीन सय ६० जना सामान्य घाइते भएको प्रहरीको तथ्यांक छ ।

तथ्यांकले प्रत्येक दिन औसत ५ व्यक्तिको ज्यान जाने गरेको देखाउँछ । औसतमा वर्षमा एक हजार आठ सयभन्दा धेरैको ज्यान जान्छ । यो संख्या प्राकृतिक विपद्बाट मृत्यु हुने संख्याभन्दा झन्डै दुईगुणा हो । तथ्यांकअनुसार प्राकृतिक विपद्मा परी वर्षमा औसत नौ सयको ज्यान जाने गरेको छ ।

अझ पछिल्लो पाँच वर्षको तथ्यांकअनुसार मुलुकभर भएकामध्ये ९२ प्रतिशत सवारी दुर्घटनामा चालकको लापरबाही देखिएको छ । यो अवधिमा भएका ४६ हजार सात सय ९२ दुर्घटनामा ४३ हजार एक सय दुर्घटना चालकको लापरबाहीले भएका हुन् । यो कुल दुर्घटनाको ९२ दशमलव १२ प्रतिशत हो । मादक पदार्थ सेवन, तीव्र गति, ओभरटेकजस्ता चालकका गल्तीले यी दुर्घटना भएका हुन् ।

यस्तै, यात्रुको गल्तीले पनि केही दुर्घटना हुने गरेका छन् । यस्तो दुर्घटनाको दर ३% छ । यान्त्रिक गडबडीले ३%, ओभरलोडका कारण १% र अन्य कारणले १% दुर्घटना हुने गरेको तथ्यांकले देखाएको छ । आर्थिक अनियमितता गरेर चालकलाई लाइसेन्स थमाएका धेरै घटना सार्वजनिक पनि भएका छन् । यातायातका यस्ता कर्मचारीलाई अख्तियारको टोलीले ठाउँको ठाउँ समातेको पनि छ । तर पनि लाइसेन्स परीक्षा नियमन प्रभावकारी भएको छैन ।

टिपर दुर्घटनामा घाइते ११ जना कसैको पनि हुम्लामा उपचार हुन सकेन, हेलिकोप्टरबाट नेपालगन्ज ल्याइएको छ । हुम्लाको सिमकोट लाग्ना डाँडामा बुधबार टिपर दुर्घटना हुँदा घाइते भएका ११ जनामध्ये कसैको पनि जिल्ला अस्पतालमा उपचार हुन नसकेपछि सेनाको हेलिकोप्टरबाट बिहीबार नेपालगन्ज लगिएको छ ।

सिमकोट–७ स्थित लाग्नामा टिपर दुर्घटनामा चारको मृत्यु भएको थियो । प्रहरीका अनुसार तीनजनाको घटनास्थलमै र एकजनाको उपचारका क्रममा जिल्ला अस्पताल मृत्यु भएको हो । दुर्घटनामा नाम्खा गाउँपालिका–१ हेप्कागाउँका ४५ वर्षीय छिरिङकार्मा लामा, ३५ वर्षीय नरी लामा, खार्पुनाथ गाउँपालिका–१ प्युसका बबरजंग शाही र सिमकोट–६ का भक्त रोकायाको मृत्यु भएको थियो । रोकाया स्वास्थ्य कार्यालयका कार्यालय सहयोगी हुन् ।

दुर्घटनामा घाइते भएका ११ जनालाई उपचारका लागि बुधबार नै जिल्ला अस्पताल लगिएको थियो । गम्भीर घाइते भएकाले उनीहरूको उपचार सम्भव नभएको अस्पतालले जनाएको छ । उनीहरूलाई थप उपचारका लागि नेपालगन्ज लगिएको प्रमुख जिल्ला अधिकारी बिनिता भट्टराईले बताइन् ।

उनीहरूको भेरी अञ्चल अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनामा सर्केगाड–३ उनापानीका अंग फडेरा, सिमकोट–६ का खगेन्द्र रावत, रामकुमार सुनार, नरवीर सुनार, अकिल रोकाया, कमल भण्डारी, सिमकोट–७ डाँडाफायाका सन्तोष सुनार घाइते भएको जिल्ला प्रहरी कार्यालयका डिएसपी रामप्रसाद घर्तीमगरले बताए । त्यस्तै, नाम्खा–१ हेप्काका नुटुप लामा, नाम्गेल तामाङ, सिउधर तामाङ, खार्पुनाथ–५ का धनसिंह सुनार घाइते भएका हुन् । नयाँ पत्रिकामा खबर छ ।

१३ मंसिर २०७६, शुक्रबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको