अझै किन गठन भएन रोल्पाको गंगादेवमा नेकपा गाउँ कमिटि ? यस्तो छ विवादको चुरो


मङ्सिर १३, रोल्पा । रोल्पाको एक नगरपालिका र अन्य सबै गाउँपालिकामा नेकपा गाउँ कमिटि गठन गठन भैसकेको अवस्थामा गङ्गादेव गाउँपालिकामा भने कमिटि बिस्तार हुन सकेको छैन । कतिपय गाउँपालिकाहरुमा टोल कमिटि समेत निर्माण भैसकेको अबस्थामा गङ्गादेवमा बिगत ६ महिनादेखि गाउँ कमिटि गठन हुन सकेको छैन ।

पार्टी केन्द्रको निर्णय अनुसार पुर्वएमालेको भागमा परेको अध्यक्ष पदका लागि रोशन ओलीलाई सिफारिस गरेपछि स्थानीय पार्टी कमिटिमा विवाद चर्किएको हो । गाउँ कमिटि अध्यक्ष पदका लागि जिल्ला कार्यदलले पुर्वप्रदेश कमिटि सदस्य समेत रहेका नेब बहादुर डाँगीलाई सिफारिस गरेर पठाए पनि प्रदेश कमिटिले अर्का युवा नेता रोशन ओलीलाई सिफारिस गरेपछि गङ्गादेवको पार्टी कमिटि नै अस्तव्यस्त बन्न पुगेको छ ।

पुर्वएमाले भित्र देखिएको आन्तरिक गुटका कारण कमिटि गठन हुन सकेको छैन । यसरि पुर्वएमाले खेमा भित्र बिबाद चुलिएपछि पुर्वमाओबादी खेमाका नेता तथा कार्यकर्ताहरु भने रमिते बनिरहेका छन् ।

पुर्वएमालेका प्रदेश कमिटि सदस्य कुमार दसौती र पार्टी जिल्ला सचिव हरि घर्ती मगरको आपसी मतभिन्नताका कारण पार्टी नै अस्तव्यस्त बन्दै गएको नेकपा स्रोत बताउछ ।

प्रदेश कमिटि सदस्य कुमार दसौती केपी शर्मा ओली निकटका मानिन्छन भने पार्टी जिल्ला सचिव हरि घर्ति मगर माधव नेपाल निकट मानिन्छन  ।

के हो बिबादको चुरो ?

रोल्पा जिल्लाको पार्टी एकता कार्यदलको बैठक २०७५ मङ्सिर ८ गते बसेको थियो । कार्यदलमा पुर्वएमालेको तर्फबाट हालका प्रदेश कमिटि सदस्य कुमार दसौती र जिल्ला कार्यसमिति सचिव हरि प्रसाद घर्ति मगर रहेका थिए भने पुर्वमाओबादिको तर्फबाट जिल्ला कार्यसमिति अध्यक्ष सुरेन्द्र घर्ति मगर र प्रदेश कमिटि सदस्य आश बहादुर पुन रहेका थिए ।

चार जना सम्मिलित उक्त कार्यदलको मङ्सिर ८ गते बसेको बैठकले पार्टी केन्द्रिय कमिटिको ६०/४०को अबधारणामा टेकेर नगरपालिका र गाउँपालिकाको बांडफांडको निर्णय गरेको थियो ।

सोहि निर्णय अनुसार रोल्पामा एकीकरण पछि ६०% पुर्वमाओबादी र ४०% पुर्वएमालेको भाग-बन्डा भएको थियो ।

मङ्सिर ८ गतेको कार्यदलको निर्णय

उपल्लो कमिटिको ६०/४० को आधार अनुसार रोल्पा नगरपालिका सहित सुनिल स्मृति गाउँपालिका, सुनछहारी गाउँपालिका, थवाङ्ग गाउँपालिका, परिवर्तन गाउँपालिका, माडी गाउँपालिकाहरुमा पार्टी अध्यक्ष पुर्वमाओबादीलाई र सचिव पुर्वएमालेलाई दिने सहमति भएको थियो भने रुण्टिगढ़ी गाउँपालिका, त्रिबेणी गाउँपालिका, गंगादेब गाउँपालिका र लुङ्ग्री गाउँपालिकाहरुमा पार्टी अध्यक्ष पुर्वएमालेलाई र सचिव पुर्वमाओबादीलाई दिने निर्णय पारित भएको थियो ।

लगतै मङ्सिर १३ गते बसेको कार्यदलको बैठकले पालिकामा पार्टी अध्यक्ष र सचिव सिफारिस गरेको थियो । सोहि बैठकमा गङ्गादेब गाउँपालिकामा पार्टी संयोजक पुर्बएमालेको तर्फबाट पुर्बप्रदेश सदस्य नेब बहादुर डाँगी र सचिवमा नर बहादुर रानालाई कार्यदलले निर्णय गरि सिफारिस गरेको थियो । उक्त निर्णय प्रति कार्यदलमा रहेका कुमार दसौतीले मात्रै असहमति जनाएका थिए ।

मङ्सिर १३ गतेको कार्यदलको निर्णय

पुर्वएमालेको तर्फबाट हरि घर्ती मगरले अध्यक्ष पदका लागि दिएको नामावलीलाई थप अध्यन गरि प्रदेश ५ कमिटिलाई छुट्टै राय पेश गर्ने भन्दै निर्णय गरेको  माइन्युटमै नोट लेखेर तत्कालिन कार्यदलका सदस्य कुमार दसौतिले असहमति मत राखेका थिए ।

हरि घर्ती मगरले ‘नेब बहादुर डाँगी’लाई र कुमार दसौतीले ‘रोसन ओली’लाई संयोजक बनाउनेमा मत बाझिएपछि प्रदेश कमिटिको निर्णय अनुसार २०७६ बैशाख २९ गतेको पत्रअनुसार रोसन ओलीलाई अध्यक्ष र भक्त बहादुर ओलीलाई सचिवमा सिफारिस गरि जिल्लामा पठाएको थियो ।

त्यसपछि अध्यक्ष पदमा दुवैले दावी गर्दै आएका छन् । उक्त बिबादको कारण सत्तारुढदल नेकपा गंगादेव पालिकाको कार्यसमिति बिस्तार हुन सकेको छैन ।

अध्यक्षका लागि प्रदेश कमिटिको सिफारिस पत्र

के भन्छन नेब बहादुर डाँगी ?

अध्यक्ष पदका लागि जिल्ला कार्यदलले २०७५ मङ्सिर ८ र १३ गतेको निर्णय अनुसार आफुलाई सिफारिस गरि पठाएको तर प्रदेश कमिटिले रोसन ओलीलाई अध्यक्ष पदमा मनोनित गरेपछि समान्तर कमिटि गठन गरेर जाने नेब बहादुर डाँगीले चेतावानी दिएका छन् । पोष्टपाटीसंग कुरा गर्दै डाँगीले भने ‘कार्यदलका तिन जना सदस्यले मलाई सिफारिस गरि पठाईएको थियो तर जिल्ला कार्यदलको सुझाबलाई नजिर नगरी अन्य व्यक्तिलाई अध्यक्ष बनाईयो, यसमा नेतृत्वको चलखेल देखियो, धोका दिईयो, यो सहिय हुँदैन ।’,

जिल्ला कार्यदलको सिफारिस अनुसार आफुलाई अध्यक्ष बनाउन माग गर्दै डाँगीले पार्टी केन्द्र र प्रदेश कमिटिलाई निबेदन समेत दिएको तर निबेदन दिए पनि कुनै सुनुवाई नभएको गुनासो पोखे ।

डाँगीको निबेदन

उनले आक्रोसित हुँदै भने, ‘जिल्ला कार्यदलको निर्णयलाई लत्याएर प्रदेश कमिटिले केहि नेताहरुको प्रभावमा मलाई अध्यक्ष बनाइएन, अब म अध्यक्ष पद छोड्ने पक्षमा छैन, जिल्ला कार्यसमितिले उपल्लो कमिटिको निर्णयलाई मान्नु पर्छ भन्ने दबाब दिन्छ भने म समानन्तर कमिटि निर्माण गरेर अघि बढ्छु ।’,

आफुलाई पुर्वएमालेको संस्थापकको रुपमा दाबि गर्दै गङ्गादेव गाउँपालिकाको बहुमत पार्टी सदस्यहरु आफ्नो पक्षमा रहेको डाँगीले जिकिर समेत गरे । डाँगीका अनुसार २०७६ फागुन ४ गते बसेको गाउँकमिटिको बैठकद्वारा अध्यक्षका लागि आफुलाई नै सर्बसहमत निर्णय गरेको बताए । यद्यपि रोसन ओलीले उक्त निर्णय प्रति कुमार दसौतीको असहमति अनुसार आफ्नो पनि असहमति रहेको जनाउदै प्रदेश कमिटिको निर्णय मान्य हुने मत राखेका थिए ।

यस्तो छ निर्णय:

फागुन ४ गते बसेको बैठकको गाउँकमिटिको निर्णय

के भन्छन रोसन ओली ?

उपल्लो कमिटिको निर्णयलाई हरेक पार्टी कार्यकर्ताले मान्नु पर्ने रोसन ओलीले जिकिर गरे । कार्यदलको निर्णय जे भएपनि प्रदेश कमिटिले लिएको निर्णय अनुसार पार्टी कमिटि गठन गर्नु पर्ने उनको भनाई छ । गंगादेव गाउँपालिकाको हकमा नेकपाको कार्यसमितिमा समाबेश हुने सदस्यहरु ५५% पुर्वएमाले र ४५% पुर्वमाओबादीको रहेको बताए ।

गाउँकमिटि गठन प्रक्रियामा पूर्वमाओबादीको तर्फबाट असहयोग भएको पनि दावी गरे । उनले भने, पूर्वमाओबादी तर्फबाट सहभागी हुने सदस्यहरुको नामावली नदिएपछि कार्यसमिति गठनमा अबरोध भएको हो ।’ उनले हालका गाउँपालिका अध्यक्ष बिर बहादुर खत्रीले सहयोग नगरेको आरोप समेत लगाए । उनले भने, ‘अध्यक्ष बिर बहादुरले सहभागी सदस्यको नामावली दिन मान्नु भएको छैन’ ।

ओलीले पुर्वएमालेको तर्फबाट गाउँकमिटिमा सहभागी हुने सदस्यहरुको नामावली उपल्लो कमिटीलाई बुझाई सकेको बताए । पुर्वमाओबादीको तर्फबाट नामावली नआएपछि कार्यसमिति बिस्तारमा ढिलाई भएको ओलीको भनाई छ । ओलीले पार्टी गाउँ कमिटि गठन निकट भबिष्मै गर्ने तयारी भएको जानकारी दिए  । तर गठन हुन सक्छ या सक्दैन त्यो भने हेर्न बाँकी छ ।

२०७६ मंसिर १३,शुक्रबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको