भेनेज्वेलालाई हराउँदै अर्जेन्टिना सेमिफाइनलमा


 

असार १४, एजेन्सी । ब्राजिलमा जारी कोपा अमेरिका फुटबलमा लिओनल मेस्सीको टिम अर्जेन्टिना सेमिफाइनल प्रवेश गरेको छ । क्वार्टरफाइनल खेलमा प्रतिद्वन्द्वी भेनेज्वेलामाथि २–० को सहज जित निकाल्दै अर्जेन्टिना सेमिफाइनल प्रवेश गरेको हो ।

नेपाली समयअनुसार शनिबार बिहान सम्पन्न खेल जितेसंगै सेमिफाइनलमा आयोजक तथा प्रमुख उपाधि दाबेदार टिम ब्राजिलसँग अर्जेन्टिनाको भेट हुने भएको छ । अब फाइनल पुग्न ब्राजिल र अर्जेन्टिनाले एकले अर्कोलाई पन्छाउनुपर्ने छ । यो खेललाई प्रतियोगिताको ‘फाइनल’ खेलका रूपमा हेरिएको छ ।

भेनेज्वेलाविरुद्ध एन्जल डि मारिया र पाउलो डिबालालाई बेन्चमा राखेर मैदान उत्रिएको अर्जेन्टिनाले पहिलो हाफमा १–० को अग्रता लिएको थियो । उसका लागि खेल सुरु भएको १० मिनेटमै लौटारो मार्टिनेजले आकर्षक गोल गरेर अग्रता दिलाएका थिए । उनले बक्सभित्र सर्जियो अगुएरोले दिएको छोटो पासमा उत्कृष्ट ब्याक हिल प्रहार गर्दै बललाई जाली चुमाएका थिए । उनको ब्याक हिलमा भेनेज्वेलाका डिफेन्डर र गोलरक्षकले कुनै भेउ नै पाएनन् । यस अघिको खेलमा पनि उनले गोल गरेका थिए ।

दोस्रो हाफमा अर्जेन्टिनाले ७४औं मिनेटमा दोस्रो गोल गरेको थियो। अगुएरोले बक्स भित्रबाट हानेको प्रहार भेनेज्वेलाका गोलरक्षकको हातबाट चिप्लिएपछि नजिकै रहेका जियोभानी लो सेल्सोले सहजै गोलमा परिणत गर्दै अर्जेन्टिनालाई २–० को सहज अग्रता दिलाए । त्यसअघि खेलको ६९औं मिनेटमा भेनेज्वेलाको एक कडा प्रहार अर्जेन्टिनी गोलरक्षक अर्मानीले बचाएका थिए ।

खेलमा २–० ले पछि परेको भेनेज्वेलाले त्यसपछि गोल गर्न सकेन । र, खेल अर्जेन्टिनाले २–० ले जित्यो । यस खेलमा अर्जेन्टिनाका कप्तान मेस्सीको प्रदर्शन औसत मात्रै रह्यो । उनी आफ्नो पुरानो लयमा नदेखिँदा अन्य खेलाडीले निकै दबाब महसुस गरेका थिए ।

अब पहिलो सेमिफाइनल खेल आगामी जुलाई ३ तारिखमा हुनेछ । सो खेलमा हुने दक्षिण अमेरिकी क्षेत्रका पावर हाउस ब्राजिल र अर्जेन्टिनाको रोमाञ्चक भिडन्त हेर्नलायक हुनेछ ।

‘यस्तो मैदानमा कोपा अमेरिका खेल्नु लाजमर्दो’ -मेस्सी

अर्जेन्टिनाका कप्तान लिओनल मेस्सीले खेल मैदान खराब भएको भन्दै आलोचना गरेका छन् । गत रातिको खेल माराकानास्थित इस्टाडियो जोर्नालिस्टा मारियो फिल्हो रंगशालामा भएको थियो । सो मैदान खेल्न ठीकठाक थिएन । खराब घाँसले मैदानलाई असहज बनाएको थियो । खेल दौरान पनि यो प्रष्ट अनुभूत हुन्थ्यो । बल नउफ्रिने, नचल्ने समस्याले खेलाडी खेल दौरान पनि तनावमा देखिन्थे ।

खेल सकिएपछि मिडियासँग बोल्दै अर्जेन्टिनी कप्तान मेस्सीले कोपाजस्तो ठूलो प्रतियोगितामा तल्लोस्तरको खेल मैदान हुनु ज्यादै लज्जास्पद रहेको बताए । उनले खेल दौरान ‘बल खरायोजस्तो देखिएको’ भन्दै मैदानलाई ठीकठाक राख्न नसकेकोमा आयोजकप्रति खनिए । ‘यो एकदमै सत्य हो, यी मैदान साँच्चै लाजमर्दा छन् । खेलाडीले बल नियन्त्रणमा लिन सक्दैन र बल लिएर दौडिन सक्दैन । बल घाँसमै अल्झिन्छ,’ मेस्सीले भने, ‘कोपा अमेरिकाजस्तो प्रतियोगितामा यस्तो मैदान हुनु साँच्चै लज्जास्पद छ ।’

मेस्सीले अघि थपे, ‘मैदानमा बल खरायोजस्तो देखिन्छ । मैदानकै कारण हामीलाई बल नियन्त्रणमा लिन कठिन भयो । अरूलाई पनि यस्तो भयो होला । फुटबलमा मैदानको अवस्था ज्यादै महत्त्वपूर्ण हुन्छ । तर, यहाँ व्यवस्थापन एकदमै खराब रह्यो । तैपनि, हामीले आफ्नो प्रयासले खेल्यौं । र, जित्न सक्यौं ।’

यसअघि अर्जेन्टिनाका कप्तान लिओनल स्कालोनीले पनि पहिलो खेलमा कोलम्बियासँग २–० ले हारेपछि मैदान खराब भएको भन्दै आलोचना गरेका थिए । खेलपछि उनले ‘आफूहरू खराब मैदानका कारण हारेको’ भन्दै रिसाएका थिए ।

२०७६ असार १४,शनिबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको