चैत १५, काठमाडौं । एसईई परीक्षा अन्तर्गत प्रदेश–२ शनिबार हुन लागेको स्वास्थ्य तथा जनसंख्या विषयको प्रश्नपत्र पनि बाहिरिएको छ।
यसअघि बिहीबारको विज्ञान र शुक्रबारको सामाजिक विषयको प्रश्नपत्रसमेत बाहिरिएको थियो । परीक्षाको अघिल्लो दिन नै प्रश्नपत्र बाहिरिएपछि शनिबारको परीक्षा तयारीबारे बुझ्न सम्बन्धित क्षेत्रमा खटिएका प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रतिनिधि र सरोकारवालाको टोलीले शनिबारको प्रश्नपत्र बाहिरिएको पुष्टि गरेका हुन् ।
शनिबारको यो विषयको प्रश्नपत्र सामाजिक सञ्जालबाट बाहिरिएको हो । टोलीको अध्ययनबाट प्राप्त गरेको सूचनाको आधारमा प्रतिवेदन लेख्ने तयारी गरिरहेको छ । शिक्षा मन्त्रालय स्रोतका अनुसार उनीहरुले प्रश्नपत्र बाहिरिएको जानकारी मन्त्रालयमा गराइसकेका छन् ।
प्रतिवेदन अध्ययनपछि शनिबारलगायत अन्य दिनका परीक्षा सञ्चालनबारे के गर्ने भन्ने निर्णय गरिने मन्त्रालयले जनाएको छ । यसबारे जानकारी दिन मन्त्रालयले साँझ सात बजे पत्रकार सम्मेलन गर्ने भएको छ ।
दैनिक परीक्षा रद्ध हुँदै गएपछि प्रदेश २ का विद्यार्थी आन्दोलित भएका छन् । कतिपय स्थानमा प्रहरीले विद्यार्थीका गतिविधि नियन्त्रण लिन अश्रुग्याससमेत प्रहार गर्नु परेको छ ।
प्रतिक्रिया दिनुहोस