चैत १५, सप्तरी । जारी एसईई अन्तर्गत प्रदेश २ मा एसईईका परीक्षा स्थगित भएपछि राजविराजस्थित जिल्ला शिक्षा विकास तथा समन्वय ईकाइ कार्यालयमा ढुंगामुढा भएको छ । आक्रोसित विद्यार्थीले शुक्रबार अपरान्ह ढुंगामुढा गरेका छन् ।
विद्यार्थीले हानेको ढुंगामुढाले कार्यालयको झ्याल ढोकाका सिसा फुटेको छ ।
आक्रोसित विद्यार्थीले प्रहरीमाथि पनि ढुंगा प्रहार गरेका थिए । तोडफोड गर्न आएका विद्यार्थीलाई प्रहरीले तितर वितर पारेको छ ।
करिब सय जना विद्यार्थी परीक्षा स्थगित गरेर भविष्यमाथि खेलबाड गरेको भन्दै प्रदर्शनमा उत्रिएका थिए । कार्यालय आसपासको क्षेत्र अहिले तनावग्रस्त छ ।
‘अनिवार्य सामाजिक अध्ययन’ विषयको प्रश्नपत्र परीक्षा अगावै बाहिरिएको पुष्टि भए पछि २ नम्बर प्रदेशको परिक्षा नै स्थगित भएको थियो ।
राष्ट्रिय परीक्षा बोर्ड बैठकले प्रश्नपत्र बाहिरिएको विषयमा अध्ययन अनुसन्धान गरेर १५ दिनभित्र प्रतिवेदन पेश गर्ने गरी चार सदस्यीय छानबिन समिति गठन गरेकै दिन बिहीबार सामाजिक अध्ययनको प्रश्नपत्र सामाजिक सञ्जालहरुमा देखा परेको थियो ।
प्रतिक्रिया दिनुहोस