हर्ट अट्याक भएका यात्रुलाई ट्याक्सीबाट निकाल्ने चालक पक्राउ, यात्रुको मृत्यु (भिडियो)


चैत १५, काठमाडौं । हृदयाघात भएका व्यक्तिलाई ट्याक्सीबाट बाटैमा झारेर फरार भएका ट्याक्सी चालक पक्राउ परेका छन् ।

बिरामीलाई ट्याक्सीबाट झारेर फरार भएका चालक कमलबहादुर श्रेष्ठलाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता होबिन्द्र बोगटीले बताए ।

गोकर्णेश्वर नगरपालिका–४ का ६० वर्षीय गोपाल कारञ्जित बुधबार बिहान नियमित स्वास्थ्य परीक्षणका लागि उनी चाबहिलस्थित मेडिकेयर अस्पताल हिँडेका थिए ।

स्वास्थ्य परीक्षण सकिएपछि बा १ ख ३८५१ नम्बरको ट्याक्सीमा बाबुलाई राखेर छोरा प्रवीण मोटरसाइकलमा घर फर्किएका थिए ।

ट्याक्सी चढेको केहीबेरमै गोपाल छट्पटाउन थाले । चालकले हेल्पिङ ह्याण्ड अस्पताल नजिकै सडक किनारमा गोपाललाई तानेर ट्याक्सीबाट झारे र फरार भए ।

सडकमा मान्छे अलपत्र देखेर प्रहरी र स्थानीयले उद्धार गरी अस्पताल पुर्याएपनि उनको मृत्यु भइसकेको घोषणा डाक्टरले गरेका थिए ।

यसरी चालकले अलपत्र छोड्दा गोपालको मृत्यु भएपछि महानगरीय प्रहरी बृत्त गौशालाले सडक किनारमा जोडिएको सिसिटिभी फुटेजका आधारमा चालकलाई पक्राउ गरेको छ ।

चालक श्रेष्ठ दोलखा जिल्ला मेलुङ स्थायी घर भई हाल कपन बस्ने गरेको पाइएको प्रहरीले जनाएको छ । ट्याक्सीभित्रै ती यात्रु भट्याकभट्याक गर्न थालेपछि आफुलाई डर लागेपछि उनलाई ट्याक्सीबाट निकालेको चालकले प्रहरीसमक्ष बताएका छन् ।

५० वर्षीय कमलबहादुर श्रेष्ठलाई प्रहरीले काठमाडौं जिल्ला प्रशासन कार्यालयमा म्याद थप गरी सार्वजनिक अपराधमा मुद्दा चलाएको छ ।

१५ चैत्र २०७५, शुक्रबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको