लगानी सम्मेलनः निजी क्षेत्रको २७ आयोजनामा सिमेन्ट उद्योगदेखि केबुलकारसम्म


चैत १५, काठमाडौँ । मुलुकमा बाह्य लगानी आकर्षित गर्न सरकारले आयोजना गरेको लगानी सम्मेलन शुक्रबारदेखि सुरु हुँदै छ ।

काठमाडौंको ताहाचलस्थित सोल्टी होटलमा सुरु हुने सो सम्मेलनमा सहभागी हुन विदेशी लगानीकर्ताहरू काठमाडौं आइपुगेका छन् । यस सम्मेलनमा विभिन्न ४० देशका करिब साढे ६ सय बढी विदेशी लगानीकर्ताको उपस्थिति रहनेछ । सो सम्मेलनको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने कार्यक्रम तय भएको छ ।

सम्मेलनका लागि निजी क्षेत्रले २७ वटा आयोजनाको प्रस्ताव तयार पारेको छ । निजी क्षेत्रले अध्ययन गरी तयार पारेका परियोजनाको सूचीमा सिमेन्ट उद्योगदेखि केबुलकारसम्म छन् । जसमा विशाल सिमेन्ट, गरुड सिमेन्ट, आईएमई सिमेन्ट जस्ता उत्पादनमूलक उद्योग परियोजना छन् ।

यसैगरी, जलविद्युत् क्षेत्रमा त्रिशूली–गल्छी हाइड्रोपावर, इङवा हाइड्रोपावर, कालीगण्डकी गर्ज, तल्लो वरुणखोला, मध्ये कालीगण्डकी, म्यादीखोला हाइड्रोपावर, नाम्लान खोला हाइड्रोपावर, माथिल्लो चमेलिया जलविद्युत् परियोजना, माथिल्लो बलेफी जलविद्युत् परियोजना, माथिल्लो बलेफी ए जलविद्युत् परियोजना र तारप खोला जलविद्युत् परियोजनालगायत छन् ।

त्यसैगरी, पूर्वाधार क्षेत्रतर्फ जालपादेवी केबुलकार तथा पर्यटन परियोजना, अन्नपूर्ण सिक्लेस केबुलकार तथा पर्यटन परियोजना, स्वर्गद्वारी केबुलकार तथा पर्यटन परियोजना, सिटी अफ ड्रिम्स, मुक्तिनाथ दर्शन केबुलकार रहेका छन् ।

१५ चैत्र २०७५, शुक्रबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको