बढी भ्रष्टाचार हुने मुलुकमा नेपाल १२४ औं स्थानमा, सबैभन्दा बढी सोमालिया र कम डेनमार्कमा


माघ १५, काठमाडौं। बढी भ्रष्चार हुने मुलुकमा नेपाल १२४ औं स्थानमा परेको छ। ट्रान्सपरेन्सी इन्टरनेशनलले सार्वजनिक गरेको भ्रष्टाचार अवधारण सूचकाङ्क २०१८ मा नेपाल भ्रष्टाचार गर्ने मुलुकको १२४ औँ स्थानमा परेको हो। कुल १०० अंकमा नेपालले ३१ अंक मात्र पाएको छ। गत वर्षपनि नेपालले ३१ अंक पाएको थियो।

ट्रान्सपरेन्सी इन्टरनेशनलको सूचकाङ्क अनुसार सबैभन्दा बढी भ्रष्टाचार गर्ने मुलुकमा सोमालिया रहेको छ भने सबैभन्दा कम भ्रष्टाचार गर्ने मुलुकमा डेनमार्क रहेको छ। एकवर्ष भित्र विश्व बैंक, वल्र्ड इकोनोमिक फोरम, ग्लोबल इनसाइट, बर्टेल्सम्यान फाउन्डेशन, वल्र्ड जस्टिस प्रोजेक्ट र भीडीइएमसमेत गरी ६ वटा संघसस्थाले गरेको सर्वेक्षणका आधारमा अंक दिइएको हो।

सर्वेक्षण गर्दा मूलतः विश्व बैंकले सरकारद्वारा सार्वजनिक क्षेत्र, पदाधिकारीको कामकारवाहीको निगरानीकोस्थित र नागरिक समाजलाई राज्यका काम कारवाहीको जानकारीमा पहुँचबारे सर्वेक्षण गरेको जनाइएको छ। वल्र्ड इकोनमिक फोरमले देशको आयात निर्यात, सार्वजनिक सेवा, कर भुक्तानी, ठेक्कापट्टा, र न्याय प्राप्तिका लागि घुसका विषयमा सर्वेक्षण गरेको उल्लेख छ।

त्यसैगरी ग्लोबल इनसाइटले व्यापार, व्यवसाय, ठेक्कापट्टा सम्बन्धी नै सर्वेक्षण गरेको छ । वल्र्ड जस्टिस प्रोजेक्टले सरकार न्यायलय, संसद र सुरक्षा निकायका प्रतिनिधिद्वारा निजी स्वार्थका लागि पदको दुरुपयोग विषयमा र भेराइटिज अफ डेमोके्रसी प्रोजेक्टले राजनीतिक भ्रष्टाचारको व्यापकताका विषय समेटेर अध्ययन गरेको जनाएको छ।

सर्वेक्षणका आधारमा १०० मा नेपालले ३१ अंक पाएकोले नेपालमा भ्रष्टाचारको अवधारणा सुधार भएको देखिएको छैन। लोकतान्त्रिक मुलुक नेपालमा दुई तिहाई बहुमतको सरकार आएपछि पनि सार्वजनिक क्षेत्रमा भ्रष्टाचार, व्यापार व्यवसायमा घुस, सार्वजनिक पद र अधिकारको दुरुपयोग बढ्दै गएको पाइएको छ।

ट्रान्सपरेन्सी इन्टरनेशनलका अध्यक्ष खेमराज रेग्मीले भने, ‘दुई तिहाई बहुुमतको सरकार आएपछि भ्रष्टाचार न्यूनिकरणको जुन अपेक्षा थियो सो अनुसार भ्रष्टाचार न्यूनिकरण भएको पाइएन। यस्तै हो भने एकदिन नेपालमा लोकतन्त्र संकटमा पर्ने अवस्था देखिएको छ।’

मुलुकमा नियमन र नागरिकका हक अधिकारलाई बलियो बनाउँदै देशका जिम्वेवार पदमा रहेका नेता तथा सार्वजनिक पद बहालीमा रहेका जोकोहीले पनि आफ्नो अधिकार र कर्तव्यको सुनिश्चित गर्नुपर्ने अध्यक्ष रेग्मीको भनाइ छ।

भ्रष्टाचारको अवधारणा सूचकाङ्क २०१८ मा नेपालले पाएको भ्रष्टाचारको स्थिति चिन्ताजनक रहेको छ। यस वर्षको सूचकाङ्कमा १८० देश समावेश गरिएका थिए। जसमध्ये सबैभन्दा कम भ्रष्टाचार गर्ने मुलुक डेनमार्कले कुल १०० मा ८८ अंक प्राप्त सबैभन्दा कम भ्रष्टाचार गर्ने मुलुकमा परेको हो। सोमालियाले १०० मा १० अंक प्राप्त गरी सबैभन्दा बढी भ्रष्टाचार गर्ने मुलुकमा परेको हो ।

दक्षिण एशियाली राष्ट्र मध्ये भुटान ६८ अंक प्राप्त गरी २५ औँ स्थान, भारत ४१ अंक प्राप्त गरी ११७ औँ स्थान, पाकिस्तान, ३३ अंक प्राप्त गरी ११७ औँ स्थान, मालदिभ्स ३१ अंक प्राप्त गरी १२४ औँ स्थान, नेपाल ३१ औँ अंक प्राप्त गरी १२४ औँ स्थान, बंगलादेश २६ अंक प्राप्त गरी १४९ औँ स्थान, र अफगानिस्तान १६ अंक प्राप्त गरी १७२ औँ स्थानमा रहेका छन्। छिमेकी मु्लुक चीन ३९ अंक प्राप्त गरी ८७ औँ स्थानमा रहेको छ।

२०७५ माघ १५,मंगलवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको