हुम्ला शोकमग्न: मृतकको संख्या ४ पुग्यो, घाईतेको २० घण्टापछि उद्धार


रेशमराज रोकाया/मंसिर १२, हुम्ला । हुम्लाको उत्तरी गाउँपालिका नाम्खाको सल्लीबाट सामान ढुवानी गरीरहेको लु.४ ख ३२६९ नंबरको ट्रिपर दुर्घटना हुँदा घाईतेका २० घण्टापछि नेपाली सेनाको हेलिकोप्टरबाट आज (विहीबार) उद्धार गरिएको छ ।

घाईतेलाई नेपाली सेनाको हेलिकोप्टर मार्फत उद्धार गरिँदै । तस्बिर: रेशमराज रोकाया, हुम्ला

घाईते भएका १३ जना मध्ये सिमकोट गाउँपालिका वडा नं. ६ का बक्त रोकायाको हुम्ला जिल्ला अस्पतालमा उपचारको क्रममा नै मृत्यु भएपछि मृतकको संख्या ४ पुगेको छ ।

बुधबार दिउँसो २ बजे भएको ट्रिपर दुर्घटनामा ४ जनाको मृत्यु भईसकेको छ । मृत्यु हुनेमा नाम्खा गाउँपालिका वडा नं. १, हेप्का गाउँका छिरिङ्ग कर्मा तामाङ्ग, नरी लामा, खार्पुनाथ १ का बबरजंग शाही रहेका छन् ।

अहिले मृतकको पोष्टमार्टम जिल्ला अस्पताल हुम्लामा भईरहेको छ । मृतकलाई पोष्टमार्टमपछि आफन्तलाई दा’हसं’स्कारको लागि बुझाईने जिल्ला अस्पताल स्रोतले जानकारी दिएको छ ।

चालकले मदिरा सेवन गरी ट्रिपर चलाईएको प्रारम्भिक लक्षण पाईएको भएता पनि रिपोर्टमा सो नपाईएको र अन्य विवरण नेपाल प्रहरीले अनुसन्धान गरीरहेको हुम्ला जिल्ला प्रहरी प्रमुख राम प्रसाद घर्ती मगरले जानकारी दिए ।

दुर्घटना स्थलको कच्ची सडक खण्डमा २ पटक सडकको उत्तरी र दक्षिण्ी भागमा ट्रिपर ठोकिएको र तेस्रो पल्ट दक्षिणी भागको भिरालो खण्डमा खसेको पाईएको छ ।

घाईते हुनेमा नाम्खा गाउँपालिका वडा नं. १ का नाम्गेल लामा, नातोक लामा, सिन्दार तामाङ्ग, सिमकोट गाउँपालिका वडा नं. ६ का कपिल रोकाया, खगेन्द्र रावत, कमल रोकाया, सन्तोष सुनार, रामकुमार रोकाया, सिमकोट वडा नं. ७ का नर सुनार, खार्पुनाथ गाउँपालिका वडा नं. ५ का धनसिँह भण्डारी, सर्केगाड गाउँपालिका वडा नं. २ का अंग फडेरा र चालक आनन्द तामाङ्ग गरी १२ जना घाईते भएका थिए ।

घाईते मध्ये ११ जनाको नेपालगञ्ज तर्फ उपचारको लागि लगिएको छ । दुर्घटनामा अन्य क्षतीको विवरण हालसम्म छानवीनको क्रममा नै रहेको बताईएको छ । घाईते अधिकाँशको अवस्था गम्भिर रहेको छ ।

हुम्ला शोकमग्न, विद्यालय खुलेनन्

४ जनाको दुर्घटनामा ज्यान गएपछि मृतकका आफन्त र सिँगो हुम्ला जिल्ला नै शोक मग्न भएको छ ।

जिल्ला अस्पतालबाट निवृत्त रहेका मृतक बक्त रोकाया, भरखरै हिल्सा सिमकोट सडक खण्डमा १ महिना अगाडी मात्रै नियुक्त भई फिल्डमा नाम्खा गाउँपालिकामा गएका प्राविधिक बबरजंग शाही, २ जना नाम्खा गाउँपालिका वडा नं. १ का २ जनाको मृत्यु हुँदा हुम्ला जिल्ला नै शोक मग्न रहेको हो । कलिलै उमेरमा सेवा प्रवेश गरेका बबरजंग शाहीलाई गुमाउनु पर्दाको क्षण अति नै कहाली लाग्दो रहेको मृतकका आफन्त जीवन बहादुर शाहीले बताए ।

मृतकको दाहसंस्कारको लागि स्थानिय सिमकोटमा रहेका विद्यालयमा अध्ययनरत विद्यार्थी विद्यालयमा उपस्थित नहुँदा विद्यालयको पठन पाठन समेत प्रभवित भएको छ । सिमकोटमा रहेका ३ वटा सरकारी र २ वटा निजी बोर्डिङ्ग स्कुलमा शुक्रबार अघोषित नै विदा भएको छ । मृतकका आफन्तजन जिल्ला अस्पताल सिमकोट परिसरमा भेला भएका छन् भने घाईते विरामीका आफन्तको रुवावासी नै चलेको छ । सिमकोटका अघिकाश बस्तीमा सुनसान छाएको छ ।

घाईतेको उपचारको लागि नेपाल कम्युनिष्ट पार्टी (नेकपा), हुम्ला जिल्लाले एकमुष्ट १ लाख नगद सहयोग कर्णाली प्रदेश अध्यक्ष गोरख बहादुर बोगटी मार्फत जिल्ला समन्वय समितिका अध्यक्ष दान बहादुर रावतलाई प्रदान गरिएको छ ।

त्यसैगरी कर्णाली प्रदेश सरकारका सामाजिक विकास मन्त्री दल रावलले १० हजार प्रदान गरेको र घाईतेको उपचार कर्णाली प्रदेश सरकारले नै गर्ने मन्त्री रावलले जानकारी दिए । हुम्लामा यस्तो कहाली लाग्दो दुर्घटनाले आफु दुःखी भएको बताउदै मन्त्री रावलले घाईतेको सिघ्र स्वस्थ्य लाभको कामना समेत गरेका छन् ।

१२ मंसिर २०७६, बिहीबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको