साउन १२, काठमाडौं । राजपा नेपालका अध्यक्ष मण्डलका नवनियुक्त संयोजक राजकिशोर यादवले सरकारले भोलिसम्म सर्लाहीमा संविधानको बर्खिलापमा गैरन्यायिक हत्या भएको र उक्त प्रकरणबारे संसदीय छानबिन समिति गठन नगरेसम्म सदन चल्न नदिने चेतावनी दिएका छन् ।
आइतबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै यादवले सर्लाहीमा भएको हत्या प्रकरण गैरन्यायिक र संविधानको बर्खिलापमा रहेको दाबी गरे । उनले भने,‘हामीले सदनभित्र यो हत्या प्रकरणको बारेमा सत्य, तथ्य छानबिन हुनुपर्छ भनेर आवाज उठाईरहेका छौं । तर, अहिलेसम्म सरकारले संसदीय समिति गठन गरेको छैन् । भोलिसम्म पनि समिति गठन नगरे हामी भोलि बस्ने सदनपनि अवरुद्ध गर्छौं ।’
कार्यक्रममा बोल्दै संयोजक यादवले तत्काल संसदीय समिति गठन गर्नुपर्ने आफूहरुको अडान कायमै रहेको सुनाए । यादवले पार्टीको महाधिवेशन निर्धारित मितिमै हुने स्पष्ट पारेका छन् । उनले भने,‘हामी पार्टीको महाधिवेशन निर्धारित मिति कात्तिक २८, २९ र ३० गते नै गर्छौं । हाम्रो मुख्य ध्यान नै त्यतातर्फ छ ।’
आफूले महाधिवेशनको मुखमा पार्टी नेतृत्वको जिम्मेवारी पाएकोले महाधिवेशनको वातावरण निर्माण गरेर सफल तुल्याउने मुख्य काम रहेको पनि यादवले सुनाए । उनले भने,‘पार्टीको आन्तरिक संगठन सवलीकरण र मजवुद पार्दै अघि बढ्नुपर्छ । नीति तथा सिद्धान्तलाई लागु गर्नुपर्छ ।’ आफ्नो पार्टी तेस्रो ठूलो शक्तिको रुपमा संसदमा रहेकोले सोहीअनुसार सार्थक र प्रभावकारी भूमिका निर्वाह गर्दै आएको पनि यादवले सुनाए ।
यादवले वर्तमान सरकार मनोमानी र एकलौटी ढंगले अगाडि बढेको आरोप लगाए । उनले भने,‘यो सरकारले लोकतन्त्रलाई संकुचित गर्दै अघि बढेको छ । संसदभित्र विपक्षीको भूमिकालाई अझै मजबुद बनाउनुपर्छ । यसको लागि हामीले कांग्रेससँग कार्यगत एकता गरेका छौं ।’ लोकतन्त्रको सवालमा, जनताको जनजीवीकाको सवालमा, शान्ति र सुशासनको सवालमा, सुशासनको सवालमा कांग्रेससँग एक ठाउँमा रहनेपनि उनले जनाए ।
पूर्वमन्त्री समेत रहेका नेता यादवले राजपा सशक्त वैकल्पिक शक्ति निर्माण गर्ने तयारीमा आफूहरु लागेको पनि सुनाए । राजनीतिक, सैद्धान्तिक र वैचारिक रुपमा मिलन हुने शक्तिहरुसँग मोर्चाबन्दी हुनेपनि यादवले जनाए । उपेन्द्र यादव नेतृत्वको समाजवादी पार्टी, नेपाललगायतका साना दलहरुसँग पनि एकताको लागि कुराकानी भैरहेको यादवको भनाई छ । यद्धपी मिडियामा हल्ला भएजस्तो समाजवादी पार्टीसँग एकताबारे औपचारिक वार्ता तथा सहमति नभएको पनि यादवले जिकिर गरे ।
उनले भने,‘दुवैतर्फ वार्ता कमिटी बनाईएका छन् । तर, औपचारिक वार्ता अहिलेसम्म भएको छैन् । हाम्रो पार्टी अब महाधिवेशन गर्नतिर केन्द्रित छ । त्यही अनुसार कार्यक्रम ल्याउँदैछ । हामी समयमै महाधिवेशन गर्छौ । सफल हुन्छौं ।’
वर्तमान सरकारसँग देश र जनताको हित र पक्षमा काम गर्नसक्ने अवसर रहेको पनि त्यसलाई सदुपयोग गर्न नसकेको यादवको आरोप छ । उनले भने,‘यो सरकारसँग देश र जनताको पक्षमा काम गर्ने ऐतिहाँसिक अवसर थियो । डिपार्चरको काम गर्नुपर्दथ्यो । तर, सरकारले विश्वास जगाउन सकेन् ।’ ओली सरकार कसै न कसैको घेराबन्दीमा परेको उनको दाबी छ । उनले थपे,‘सबै मोर्चामा यो सरकार असफल छ ।’
प्रतिक्रिया दिनुहोस