मेसीको गोलमा बार्सिलोना बन्यो ला लिगा च्याम्पियन


वैशाख १५, एजेन्सी । कप्तान लिओनेल मेसीले एकमात्र गोल गरेपछि क्याटलान क्लब बार्सिलोना ३ खेल अगावै स्पेनिस ला लिगा च्याम्पियन बनेको छ । ला लिगा अन्तरगत शनिबार राति भएको खेलमा लेभान्टेमाथि १–० को झिनो तथा महत्वपुर्ण जित निकाल्दै बार्सिलोना ती खेल अगावै च्याम्पियन बन्न सफल भएको हो ।

तीन खेल अगावै च्याम्पियन बन्ने क्रममा बार्सिलोनाले दोस्रो स्थानको एट्लेटिको मड्रिडलाई ९ अंकले पछि पार्यो । बार्सिलोनाले ३५ खेलबाट ८३ अंक जोड्दा दोस्रो स्थानको एट्लेटिको म्याड्रिडको समान खेलबाट ७४ अंक रहेको छ ।

बार्सिलोनाको यो उपाधि पछिल्लो ११ वर्षमा आठौं हो भने समग्रमा २६औं उपाधि हो । बाँकी तीनै खेलमा एट्लेटिको विजयी र बार्सिलोना पराजित भएको अवस्था आएपनि बार्सिलोना च्याम्पियन बन्ने पक्का थियो ।

घरेलु मैदान नोउ क्याम्पमा बार्सिलोनाको झिनो जितमा वैकल्पिक खेलाडी कप्तान लियोनेल मेस्सीले गोल गरे । मेस्सी दोस्रो हाफको सुरुमै फिलिपे कौटिन्होको स्थानमा मैदान प्रवेश गरेका थिए ।

उनले खेलको ६६औं मिनेटमा आर्टुरो भिडालको पासमा गोल गर्न सफल भएका थिए । खेलभर बार्सिलोनाले लेभान्टेलाई दवावमा राखेपनि गोल गर्न भने सफल भएन । ८९औं मिनेटमा लेभान्टेका इनिस बार्धीको प्रहार पोस्टमा लागेर फर्कदा बराबरीबाट चुक्यो ।

बार्सिलोनाले पछिल्ला १५ वर्षमा १० पटक ला लिगा जितेको छ । उसले सन् २०१० यता ७ पटक लिग जितेको छ भने ३ पटक मात्रै अन्य टिमले जितेका छन् ।

ला लिगा जितेसँगै बार्सिलोनाको ध्यान अब ट्रिबेल उपाधिका लागि अन्य प्रतियोगितामा केन्द्रित हुनेछ । ऊ युरोपियन च्याम्पियन्स लिगको सेमिफाइनलमा पुगेको छ । त्यहाँ उसले इंग्लिस टोली लिभरपुलसँग भिडन्त गर्नेछ । त्यसैगरी, बार्सिलोना कोपा डेल रे फुटबलको पनि फाइनल पुगेको छ । त्यहाँ उसले उपाधिका लागि भ्यालेन्सियासँग भिडन्त गर्नेछ ।

२०७६ बैशाख १५,आईतवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको