मध्यकमाण्ड इन्चार्ज ओलीलाई ३ दिन भित्र उपस्थित गराउन सर्वोच्चको आदेश


चैत १४, काठमाडौं । सर्वोच्च अदालतले नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका स्थायी समिति सदस्य तथा मध्यकमाण्ड इन्चार्ज हेमन्तप्रकाश ‌ओली ‘सुदर्शन’लाई तीन दिनभित्र अदालतमा उपस्थित गराउन सरकारलाई आदेश दिएको छ ।

वलीलाई प्रहरीले पक्राउ परेपछि छोरी विपना वलीले बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेकी थिइन् । रिटमा प्रारम्भिक सुनुवाई गर्दै प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको एकल इजलासले बन्दी बनाउनुको कारणसहित तीन दिनभित्र अदालतमा उपस्थित गराउन आदेश दिएको हो ।

विपनाले बुधवार आफ्ना बुवालाई प्रहरीले गैरकानुनी थुनामा राखेकाले थुनामुक्त गर्न आदेश माग गर्दै सर्वोच्च अदालतमा रिट दिएकी थिइन्।

प्रहरीले उनलाई काभ्रेको खानीखोला गाउँपालिका–४ बरुणबेसीबाट गत शनिबार बिहान पक्राउ गरेको हो । महानगरीय प्रहरी अपराध महाशाखा, काभ्रे प्रहरी र विशेष ब्युरोको टोलीले उनीसहित आठ जना नेतालाई पक्राउ गरेको थियो ।

गाडीमा काठमाडौं आउने क्रममा प्रहरीले चेकजाँच गर्दा उनीसहित धर्म राजबाहक, रामकृष्ण खतिवडा, शंकर अधिकारी, विजय श्रेष्ठ, ललित तामाङ, सञ्जीव कार्की, देव घिमिरे र लोकेन्द्र खड्का पनि पक्राउ परेका छन् ।

वलीमाथि संगठित अपराध मुद्दामा अनुसन्धान गर्न प्रहरीले जिल्ला अदालत ललितपुरबाट ८ दिनको म्याद लिएको छ ।

१४ चैत्र २०७५, बिहीबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको