काठमाडौं उपत्यकामा १२ वर्षपछि हिमपात


फागुन १६, भक्तपुर । भक्तपुर शहरमा १२ वर्षपछि हिमपात भएको छ । भक्तपुरलगायत काठमाडौं उपत्यकामा आज बिहानै हिमपात भएको हो ।

भक्तपुरको नगरकोट, चाँगुनारायण, सुडाल, ताथली, चित्तपोल, नंखेल, सिपाडो, नलिन्चोक, गुण्डु, रानीकोट, घ्याम्पेडाँडालगायतका क्षेत्रमा हिमपात हुँदा चिसो बढेर जनजीवन प्रभावित भएको छ ।

भक्तपुर, मध्यपुरथिमि, चाँगुनारायण र सूर्यविनायक नगरपालिकाका शहरी क्षेत्रमा समेत हिमपात भएको छ । उपत्यकाका काठमाडौं र ललितपुरमा समेत हिमपात भएको छ ।

हिमपातका कारण नगरकोट, सुडाल, रानीकोटलगायतका जिल्लाका पर्यटकीय क्षेत्रमा बिहान यातायातसमेत सञ्चालन हुन सकेका थिएनन् । हिमपातले भक्तपुर हुँदै नगरकोटतर्फ आउने यातायात सेवा बिहानैदेखि अवरुद्ध भएको तेलकोटका सोम शर्मा बजगाईंले जानकारी दिए ।

हिमपातपछि पर्यटकीय क्षेत्र नगरकोटलगायतका क्षेत्रमा आन्तरिक पर्यटक हिउँ खेल्न आउने क्रम भने बढेको र दिनभर पर्यटकको ओइरो लाग्ने अपेक्षा गरिएको होटल व्यवसायी गोकुल लामिछानेले बताए ।

शहरी क्षेत्रमा लामो समयपछि हिउँ परेकाले स्थानीय भने बिहानै हिउँमा रमाएका छन् । बाह्र वर्षअघि दिउँसो हिमपात भएको थियो भने आज बिहानै हिमपात भएको छ ।

१६ फाल्गुन २०७५, बिहीबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको