बैठक स्तब्ध भएको त्यो हृदयविदारक सूचना


फागुन १६, काठमाडौँ । फागुन १६ गते । दिउँसोको करिब १ः५५ बजे । संवेदनशील मानिएको नागरिकता विधेयकको छलफलमा राज्य व्यवस्था तथा सुशासन समितिको सानो हल खचाखच थियो । विधेयकको दफावार छलफल जारी थियो ।

सांसदहरू शब्दशब्दमा बहस गरिरहेका थिए । त्यही बेला छलफलमा सहभागी गृहसचिव प्रेमकुकार राई बाहिर निस्कनुभयो । समिति बैठक कक्षको ढोकाको छेउमै बसेको थिएँ म । बाहिर निस्कने क्रममा सचिव राईले भन्नुभयो, ‘‘बैठक लामै हुने भयो है ।’’

करिब चार÷पाँच मिनेटको अन्तरालमा राई पुनः बैठक कक्षमा प्रवेश गर्नुभयो । सांसदहरुको बहस सकिएकै थिएन । बैठक कक्षमा प्रवेश गर्नसाथ सभापति शशी श्रेष्ठसँग बोल्नका लागि सङ्केत गर्दै राईले भन्नुभयो, ‘‘अत्यन्तै दुःखद् खबर आयो म निस्कनुपर्ने भयो ।’’

चर्को बहस भइरहेको बैठककक्ष शान्त भयो । मैले छेउमा रहेका साथीहरूलाई भनेँ, ‘‘सिरियस भएर फर्कनुभयो सचिवज्यू, के भएछ ?’’ केही बेरपछि गला अवरुद्ध शैलीमा सचिव राईले थप्नुभयो ‘तेह्रथुमको विमानस्थल अनुमगनका क्रममा जानुभएका माननीय पर्यटनमन्त्री रवीन्द्र अधिकारी त्यहाँबाट ताप्लेजुङको पाथीभरा पुग्नेक्रममा दुर्घटनामा परेको खबर आयो ।

एयर डाइनेस्टीको हेलिकोप्टरमा उहाँ जानुभएको थियो । साथमा डाइनेस्टीकै मालिक आङछिरिङ शेर्पासहित छ जना रहेको प्रारम्भिक सूचना छ ।’ सचिव राईको सूचनामा बैठकक्ष स्तब्ध बन्यो ।

झट्ट मन्त्री अधिकारीको हँसिलो अनुहार आँखाअघि आयो । एक सञ्चारकर्मी र राजनीतिज्ञको सम्बन्ध सायद निरपेक्ष हुन्न तर, अधिकारीसँगको मेरो विगत विर्सनपर्ने नै के थियो र ?

सचिव राईको सूचनामा मेरो चेतना नै शून्यमा झरेजस्तो लाग्यो । मेरो मानस्पटलमा दशकअघिको सुनेको घुन्सा दुर्घटना पनि सँगै ठोक्किन आयो ।
सचिव राईसँगै बैठक कक्षबाट बाहिरिएँ । राईसँग मैले थप सोधेँ– को को जानुभएको रहेछ ? उहाँले भन्नुभयो, ‘‘पाथीभरा आसपासमै हो भन्ने छ । तर, राम्रो सूचना छैन । अन्य विवरण छैन ।’’

जवाफपछि लाग्यो बाँकी छैन चमत्कारबाहेक । त्यतिन्जेल सचिव राईको सूचनामा आधारित समाचार प्रवाह भइसकेका थिए ।
बैठक कक्षबाट बाहिरिँदै गर्दा सञ्चारकर्मीद्वय अशोक दाहाल र सिर्जन घिमिरेसँगै थिए । अशोक तेह्रथुमका थिए । मैले तत्कालै सोधेँ– सीडीओ वा कसैको सम्पर्क नम्बर छ ? अशोकले नभएको बताए । मेलै फेरि सोधेँ ,‘‘भवानी खापुङलाई (तेह्रथुमका प्रतिनिधिसभा सदस्य) सोधौँ ।’’

थप सूचना छैन । आफूसँग कोही सम्पर्कमा छैनन् । पाथीभरा पुग्ने क्रममा भन्ने सचिवको जवाफले मेरो दिमागमा सांसद योगेश भट्टराईको नाम आयो । सँगै पो जानुभएको थियो कि ? मैले अशोकलाई फेरि भने योगेश दाइ त जानुभएको थिएन ? उहाँले अनविज्ञता जनाउनुभयो ।

मैले सांसद भट्टराईलाई फोन गरेँ । तर, तत्काल सम्पर्क हुन सकेन । मन चिसो बनाउँदै फेरि डायल गरेँ । भट्टराईसँग फोनमा कुरा भयो । आफू नगएको तर, प्राप्त जानकारी अनुसार पाथीभरा नजिकैको डाँडाको फेदीमा दुर्घटना भएको सुनाउनुभयो ।

म फेरि समितिको बैठक कक्षमै फर्किए । पूर्वगृहमन्त्री जनार्दन शर्मा, सांसद नवराज सिलवाल लगायत बुझ्ने प्रयत्नमै हुनुहुन्थ्यो । बैठक कक्षबाट पुनः बाहिरिएँ सांसद विजय सुब्बाले भन्नुभयो, ‘‘ठाउँ नपुगेर पो नगएको म पनि । नभए जाने । सँगै निस्कनुभएका सांसद कृष्णगोपाल श्रेष्ठले भन्नुभयो ‘जाउँ त मलाई पनि भनेका थिए ।’’

सहकर्मीको अप्रत्याशित दुर्घटनाको खबर र आफू जोगिएको मिश्रित प्रतिक्रिया सुब्बा र श्रेष्ठ दुवैको अनुहारमा झल्कन्थ्यो ।
मैले जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका सूचना अधिकारी विनोद परियारलाई फोन गरे । परियारको भनाइ थियो,‘‘घटनास्थलमा आगो बलिरहेको स्थानीयले जानकारी दिएका छन् । प्रहरी पुगेको छैन ।’’

घटनास्थलमा आगो लागिरहेको जवाफपछि मनमा रहेको सानो आशा खरानीमा परिणत भयो । एकाध घन्टामा दुर्घटनामा परेका कोही पनि जीवित नरहेको खबर पुष्टि भयो । यो समाचार आजको गोरखापत्र दैनिकमा नारायण काफ्लले लेखेका छन् ।

१६ फाल्गुन २०७५, बिहीबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको