डा. गोबिन्दहरुले अनशन होइन, बन्दुक उठाउने युग हो !


पृथीछक बुढा मगर ।

डा. गोबिन्द केसी नमस्कार !

मेरो घर रुकुम पुर्वको एकदमै विकट गाउँमा पर्छ । मेरो दाजु म जन्मिनु भन्दा ६ महिना पहिले झाडापखालाले ज्यान गुमाए । मेरो मुन्तिरको भाइ पनि झाडाले नै लगेको हो ।

बिश्ववाटै झाडापखाला निर्मुल भइसकेको अबस्थामा पनि मेरो गाउँमा झाडाले मान्छे लगिरहन्छ ।

एक बर्ष भन्दा बढी भयो काहिंली बहिनी खसेको । हेलिकप्टर चार्टर गर्न सकिएन । बोकेर ६ दिनमा काठमाडौ पुर्याएको भोलिपल्टै देह त्यागे । चार बर्ष पहिले आमा भिरवाट लडे । तीन दिनमा जिल्ला अस्पताल पुर्याएको हो ।

हाम्रो लागि भोकभोकै आन्दोलनमा होमिने कुनै डा. गोबिन्दहरु नजन्मिएको हो कि ?

म अलिकति भाग्यले बाचेको हुँ भन्छु । दुई दशक पहिले एकै हप्तामा दादुराले २३ जना मान्छे सोत्तर पार्दा पनि चार महिना थला पर्नु बाहेक ज्यान भने गएन । दुई दशकपछी पनि त्यो अबस्था जस्ताको त्यस्तै छ । एकपटक हाम्रो लागि पनि अनशन बसिदिए आभारी हुने थियौं । हाम्रो माग ठूलो छैन, केवल एउटा हेल्थपोष्ट खडा गरिदिए पुग्छ ।

तपाई १६ औं पटक अनशन बसिरहनु भएको छ । तपाईलाई बधाई दिन चाहन्छु । बिश्वमै धेरै पटक अनशन बसेको रेकर्ड राख्नु भयो । वर्ड रेकर्ड अफ गिनिज बुकमा नाम लेखाउन तपाईलाई अनुरोध गर्दछु ।

तपाईं बिश्वमा रेकर्ड राख्न सक्नु हुन्छ । तपाईं आफ्नो देह त्याग्न सक्नु हुन्छ तर नेपालमा भने तपाईको अनशनले कुनै लछारपाटो लाग्ने छैन ।

किनभने शासकहरुलाई थाहा छ, एउटा डाक्टर गोबिन्द केसिले देह त्याग्दैमा नेपालमा डाक्टरको अभाव हुँदैन । उनिहरु कयौं गोबिन्द केसिहरुको वलि दिएर आजको यो स्थानमा आएका हुन् ।

अहिलेका प्रधानमन्त्री केपि ओलीले झापामा सामन्तको नाममा मान्छेका टाउकाहरु छिनालेकै हुन् । पुष्पकमल दाहालको त के गर्नु र १७ हजार मान्छेको लाशको सिढी चढेर सत्ता हत्याएकै हो ।

अहिले प्रतिपक्षमा रहेको नेपाली काङ्ग्रेसले पनि कम अपराध गरेको छैन । माओवादी युद्ध ताका उसको नेतृत्वमा रुकुम रोल्पामा केके गरेन ? साक्षी म आफै हुँ । अहिले भने गोबिन्द केसिको समर्थनमा बडो रवाफका साथ चिच्याइरहेको छ ।

तपाईं मर्नु भयो भने दुई चार दिन आन्दोलन होला । प्रतिपक्षले जूलूस निकाल्ला । लास माथी राजनिती गर्न पल्केकाहरुको लागि यो ठूलो कुरै होइन ।

कहिले निर्मला पन्तहरुको लासमा राजनिती हुन्छ, कहिले गोबिन्द केसिहरुको अनशनमा राजनिती हुन्छ । त्यो कुरा पक्कै हो यदि तपाईं मर्नु भो भने तपाईंको लासमा पनि राजनिती हुनेछ । ती मान्छेहरुको लासमा पनि राजनिती हुँदै आइरहेको छ जसलाई हामी सहिद भन्छौं ।

कहिलेकाही तपाईंको अनशनलाई पनि शंकाको दृष्टिकोणले हेर्न चाहन्छु । तपाइँलाई थाहा छ कि छैन तर मलाई चाहिँ थाहा छ कि यो भोकै बसेर आन्दोलनमा होमिने समय होइन ।

आन्दोलन भनेको त मुक्ती र मृत्युको अन्तरसंघर्ष हो ।

आन्दोलन भनेको डरछेरुवाहरुको लागि होइन । आन्दोलन पूरा नहुदासम्म किन जारी राख्न सक्नु भएन ? के तपाईंलाई मर्न डर लाग्छ ? कि यो गिनिज बुकमा नाम लेखाउने उद्देश्यले बसेको आन्दोलन हो ।

अहिले सरकारमा भएको एउटा हिस्साले हिजो आफ्नो आन्दोलनताका यदि बुद्ध यो युगमा जन्म लिएको भए उसको हातमा पनि राइफल हुन्थ्यो भनेर सिकाउँथे । बुद्धलाई राइफल बोकाउनेहरुको विरुद्धमा धावा बोल्नको लागि अब के डा. गोबिन्दहरुको युगले बन्दुकको माग गरेकै हो ?

भोको पेटले आन्दोलन सफल हुँदैन भन्ने उदाहरण कतै खोज्न जरुरत छैन, तपाईंकै १६औं अनशन काफी छ ।

तपाईंको आन्दोलनको समर्थक
पृथीछक बुढा मगर
रुकुम पूर्व ।

२०७५ माघ १४,सोमबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको