प्रतिज्ञाको पाइला ‘अभिशप्त अभिनय’ [भाग -४]


कर्मसही घर्ती मगर । ११ माघ रोज शुभम् ……….!

बिहानै हातमा रबरको पिस्तोल लिएर साढे तीन वर्षको छोराले मलाई ताक्दै भन्यो -‘ए , बाउ ! तिमी गुण्डा है ! म हिरो ।’

‘ तिमी हिरो हाै ?” मैले भनेँ ।

‘ अँ म हिरो, बा गुण्डा ! ” ऊ निर्धक्क साथ भन्दै थियो ।

‘ तिमी हिरो, ल ठीक छ । म किन गुण्डा नि छोरा ?” मैले प्रश्न तेर्स्याएँ ।

‘ तिम्रो जुँगा छ, जुँगादारी हुनेहरू त गुण्डा हो नि बा !’

‘ हैट् !”

ऊ मलाई गुण्डा र आफु हिरो भएर आजको दिनको समुद्घाटन गर्न खोज्दै थियो । दुई दिनको हिमपातले वातावरण निकै चिसिएको थियो । म चिया बसालेर आगो ताप्दै आज अपलोड भएका फेसबुकमा साहित्य हेर्दै थिएँ । ‘गुण्डा” शब्दले झस्किएँ । प्रत्येक्ष गुण्डा नभए पनि अप्रत्येक्ष रूपमा छोराछोरी र जहानको लागि कतै गुण्डा त भएको छैन ? आफैसँग झस्किनु सिवाय अरू के गर्नु र !

छोराले रबरको पिस्तोल मेरो कन्चटमा ताक्यो । ट्रिगर दबायो । पड्केन ।

‘ कक् गर्दिनु न बा !”

मैले तत्क्षण कक् गर्दिएँ । पिस्तोल मतिर ताक्दै भन्यो – ‘खब्दार ! तंलाई गुण्डा ! मा’दिन्चु !”

उसले पिस्तोलको ट्रिगर दबायो । मतिर सोझिएको पिस्तोल ट्वाक्क गर्दै पड्कियो ।

‘ मर्नु न बा ! मर्नु के !” उसले मलाई घचेट्दै मरेको अभिनय गर्न पठायो । म ठूलो आवाजका साथ ढलेको अभिनय गरेँ । ऊ खित्का छोडि खुब हाँस्यो । यसो आँखा ऊ नेर के फर्काएको थिएँ , डुसुम् डुसुम् गर्दै लात्ताले पाखुरामा हिर्कायो । अकस्मात उफ्रेर मुट्कीले आँखैको डिलमा हिर्कायो बजियाले ।

‘ओई , नहान् नहान् !!” म आत्मसमर्पणको आवाजमा कराएँ । हैट् ! छोराको हिरो हुने अभिनयमा यो गुण्डा बाको झण्डै आँखा फुटेको ! जिन्दगीमा छोराको लागि भए पनि कलाकार नहुने आमाबुबा सायदै होलान् । छोराछोरीको मुड अनुसार आमाबुबा चलेनन् भने छोराछोरीको मन बेचैनी हुने । सायद , जिन्दगीमा कहिल्यै काहीँ अभिनय नगरेकाहरू पनि छोराछोरीको लागि कलाकार हुनु पर्छ । यति पनि गरिएन भने सायद नालायक नै भइन्छ कि क्या हो !?

हामीले चिया पियाैँ । हिजो श्रीमतीले फुईती खनेर ल्याएकी थिइन् । उसिनेर खायाैँ । माैसम निकै जाडो भएकोले हलचल गर्न पनि कठिन भैरहेको बेला छोरा मेरो पिठ्युँमा चढ्यो । दुवै खुट्टा दायाँबायाँ छातीमा पसारेर मुन्टोमा चढ्यो । मेरा दायाँबायाँ कान समाएर हुडुडुडुडु हुडुडुडुडु गर्न थाल्यो ।

‘ए, बा ! तिमी मेरो बाइक रे है ! ”

‘जाडो छ नचल् ! ”

आफु भने काठिएर डल्लै भएको छु । छोरो भन्छ ‘बाइक हुनु !’

म चारपाउ टेकेर बामे सर्दै घरभरि फन्फन्ति घुमेँ । छोरा भने एकोहोरो ‘हुटुटुटुटु हुडुडुडुडु” गर्दै कुना पुग्ने बित्तिकै मोडमा आए जसरी कान बटार्छ । मानाैँ, गियर बदल्दैछ ।

जमाना पनि आधुनिक, मान्छे पनि नयाँ । अनि खेल पनि नयाँ । हामी बालक हुने बेला सिकारी जमाना थियो । ऊ बेला सिकार गर्न अहिलेको जस्तो प्रतिबन्ध थिएन । हामी त्यही सिकारीहरूबाट प्रभावित थियाैँ । कोही सिकारी हुन्थ्याैँ । नाका नाकामा खेलाैना बन्दुक लिएर बस्थ्याैँ । कोही बाली बस्थ्याैँ । ताकि सिकारीलाई मृग देखाउन र अन्यत्र जान नदिऊन् भनेर । कोही कुकुर हुन्थ्याैँ, मृग लखेट्नलाई । कोही ईरी हुन्थ्याैँ । कुकुरलाई मृगसम्म जान सजिलो होस् भनेर । कोही मृग हुन्थ्याैँ । यसरी खेल्दा रात बितेको थाहा हुँदैनथ्यो । तर अहिलेका बच्चाहरू प्रविधिको
जमानामा छन् । सिकारी र मृगको खेल सायदैलाई थाहा होला ।

श्रीमती दाउरा गर्न गई । म चाहिँ बच्चाहरूसँगै घरमा रहेँ । माइला दाइलाई टोइलेट बनाउनको लागि खनिँदै गरेको माटो फाल्न सहयोग गर्न गएको थिएँ । आज मान्छे धेरै भएको कारण काम गर्ने ठाउँ नहुने भएर फर्की आएँ ।

पाैने एक बजेतिर हिमपात भयो । बाहिर खेल्न गएका छोराछोरी काठिएर रुँदै आउलान् भनेर आगो निभाएको थिइनँ ।

कविता फुरेको बेला कविता लेख्थेँ । नफुरेको बेला उपलब्ध पुस्तक मध्ये कुनै एक पढ्थेँ । आफुसँग खासै पुस्तकहरू छैनन् । पुथा हिमालय माविमा पढ्न लायक पुस्तक भए पनि हिउँदे विदाले गर्दा स्कुल बन्द थियो ।

*****
१२ माघ ………

रातभरि हिमपात भयो । सरदर एक फिट जति हिउँ हालेछ यसपाली । धेरै वर्ष पछि मात्र यति धेरै हिमपात भयो होला । पोहोर परार यति धेरै हिमपात भएको थिएन ।

‘बा ! हिउँ परेछ हेर्नू त !” छोरीले बिहान हिउँ देख्नेबित्तिकै भनि ।

‘कति धेरै परेछ है बा !” छोरो बोल्यो ।

अण्डा किन्न पसल जानू पर्ने भो । गम्बुट लगाएर जान खोजेको थिएँ । छोरीले भनि – ‘चिप्लेर लड्नु होला बा ! नजानु ।”

‘म बिस्तारै जान्छु नि ल !” मैले भनेँ ।

पसल गएँ । हिमपात भएपछि वातावरण निकै चिसो भएको थियो । त्यही भएर पसल सबका सब बन्द थिए । मेरा अनन्य मित्र प्रेम बहादुर कुँवरको संस्था ‘कर्मा फलाइट्स फाउण्डेसन” मार्फत पुथा हिमालय माविमा वितरित ‘न्यानो ज्याकेट” लाएका साना बच्चाहरू हिउँमा निर्वाध डुलिरहेका थिए ।

झुल्के घाममा बच्चाहरू घाममा घरको छतमा निस्के । हिउँमा गम्बुट डुबिरहेको थियो । झण्डै तिघ्रादेखि हिउँ थियो छोराछोरीको । तै पनि मजा मानिरहेका थिए । चिसो सहन सकेकै हुन् ।

दिउँसो कोही फोटो खिच्नमा मग्न थिए । कोही घरको छतको हिउँ बाटोमा फाल्दै थिए । हिउँ बाटोमा थुप्रिएको थियो ।

काम विशेषले बजार गएँ । पसलहरूको आसपास के गएको थिएँ । टाउकोमा हिउँका डिस्काहरू बज्रिए । घरको छततिर हेरेँ । ओहो ! होलीको राैनकतालाई माथ खुवाउने गरेर हिउँ हानाहान चलेको रहेछ । त्यसको मारमा म पनि परेँ । खुबै रमाइलो गर्दै थिए युवा युवतीहरू ।

म चाहिँ लेखनीमा छिरेँ । लेखनी शिवजीकै कहानीमा फन्को मार्दैछ अझै । कहानी यसरी जोडिन्छ-….

जोमसोमबाट खाली हात फर्केपछि शिवजी काल्दुङ्ग गए । मामा मात्र थिए । आमाको मृत्यु पश्चात् बज्यैको मायामा हुर्केका शिवजीलाई यो बीचमा बज्यैले पनि छोडि गएछिन् । उनी निशब्द भए । निष्प्राणसरि भए । जीवनमा यतिविघ्न विस्मयकारी तनाब सायदै भयो होला । तै पनि संसारको लीला मान्नै पर्‍यो ।

बज्यैको देहावसान पछि लाटा मामासँग मिल्न पनि सकेनन् । कहिले कसको त कहिले कसको घरमा चहार्दै बस्न थाले । समयको प्रवाहमा जीवनका छालहरू छचल्किरहेका थिए । जीवनमा केही गरेरै छाड्ने युवा मन छँदै थियो ।

मंसिर मेला आउन लागेको बेला उनको मनमा हप्ता दिनको लागि पनि जात्राभरिमा होटल राख्ने मन गरे । सहकर्मीको रूपमा काल्दुङ्गकै मनराज पुनलाई छाने । होटल त राख्ने परन्तु अर्थको जोहो के गरि गर्ने ? समस्याको तगारो तेर्सियो । समस्या नएको भए के हुन्थ्यो होला ? कहिले यस्तै सोँच्थे ।

मंसिरे मेला नजिकिँदै आयो । शिवजीले पुषरका कर्म पुनसँग कुवाबारी जग्गा दस हजार रुपैयाँमा धितो राखे । त्यही पैसाको भरमा होटलमा चाहिने सम्पूर्ण सामान खरिद गरे । निकै आशाका साथ मिहिनेत गरेर होटल सुरुवात गरे ।

जात्रा शुरु भयो । अरू पनि थिए होटलेहरू । मान्छेहरू तरुनी जिस्काउन मिल्ने ठाउँमा जान्थे । खान्थे । शिवजीको होटल खासै जमेन । साउँ पनि ढल्ने संभावना देखियो । तै तै जात्रा अवधिभर हल्काफुल्का चल्यो ।

जात्रा सकियो । जात्रासँगै आकांक्षा पनि सकियो । मनराजले भएको पैसा लिएर श्रीमती भगायो । शिवजी हिस्सै भए । यता उनको धितो राखिएको जग्गा लिलाम हुने खतराको संकेतको रूपमा कर्म पुन आए । उनले केही समयमा जग्गा निखन्न नआए लिलाम हुने धम्की दिएर गए । धम्की शिवजीको हृदयमा बज्रियो ।

अब शिवजीको निद्रा भङ्ग भयो । तुरुन्तै मनराजको खोजमा निस्के । धन्न त्यति बेला गाडि थिएनन् । हिउँदमा हिड्ने भनेकै दाङको बाटो थियो । सरासर बाटो लागे । केही दिनको अन्तरमा सल्यानको सीतलपाटिमा मनराज र संगाती लोग्ने स्वास्नीलाई भेटे ।

मनराजले पैसा ल्याएको कुरा स्विकारे । तर अजिले भएको पैसा सबै सकिएको कुरा गरे । पछि असुलउपर गर्ने कुरा भयो । शिवजी निरुत्तर भए ।

शिवजीको जिन्दगीले हरेक पल्ट बल्ड्याङ खाँदा मलाई घरको कुनाकानीमा बसाइँसराइ गर्दै गरेका पाण्डुलिपिको याद आयो । यो पाण्डुलिपि र शिवजीको जीवनमा तात्विक भिन्नता केही पनि देखिनँ । त्यही पाण्डुलिपिबाट यहाँ सुहाउँदा केही कवितांश –

पाण्डुलिपि स्मरण ‘क”

असाैज महिना सत्र गते २०६२ सालमा लेखिएछ यो कविता ।

जीवनको मूल्य
**********
यार्सागुम्बा झैँ
मूल्यवान हुन सक्थ्यो जीवन
र सबै-सबैको नजर पर्न सक्थ्यो यसमा !

तर,
आततायी समयका ज्यानमारा हुरीले
यार्सामय जीवनलाई
खै ! कता मोड्यो कता !!

यिशु झैँ
क्रुसमा टाँगिएर मारिए
अलिकति बाँकी रहेका बैँसालु खुशीहरू !

अभिमन्यूलाई झैँ
चक्रव्यूहमा फसाइए
र मारिए बर्बरतापूर्वक
सम्भावित सपनाहरू !!

यसरी जीवन एकातिर
र खुशी अर्कोतिर
सपना एकातिर
र यथार्थ अर्कोतिर भैदिँदा

जीवन यार्सागुम्बा नभई
एक भाग किरा
र अर्को भाग झार भैदियो

अनि
यस संसारिक संग्रहालयमा
जीवनको कुनै मूल्य भएन
जीवनको कुनै मान्यता भएन ।
*******

पाण्डुलिपि स्मरण ‘ख”

पाण्डुलिपि पल्टाउने क्रममा फागुन २४ गते २०७२ मा लेखिएको कविताको पन्ना पल्टियो ।

आत्मलाप थिचिएको ढुबोको
***************

तिमीले चाहेको बेला
तिम्रो कानमा स्यूरिन सक्थेँ
तिमीले चाहेको बेला
तिम्रो घाँटीमा उनिन सक्थेँ

तिमीले चाहेको बेला
तिम्रो इच्छानुसार
म जे पनि बन्न सक्थेँ
दूर्भाग्य !

म तिम्रो कानमा स्यूरिन सकिनँ
म तिम्रो घाँटीमा उनिन सकिनँ
तिम्रो इच्छानुसार म केही बन्न सकिनँ
खेद छ मलाई !
अपसोच छ मलाई !!

काश !
मैले तिम्रो कानमा शान दिन सकेको भए
मैले तिम्रो गलामा मान उिन सकेको भए
मैले तिम्रो गर्वमा सम्मान दिन सकेको भए

अलिकति भए पनि
धन्य सम्झिन्थेँ आफैलाई ।

हो ,
बंशजले झ्याँगिनु पर्ने हो चारैतिर
लहलहाउने गरेर
बंशजले त फैलिनु पर्ने हो सबैतिर

लोभलाग्दो भएर
यद्यपि थिचिएको छु
चारी चट्टानमुनि कुँजिएर
बाँचिरहेको छु

लुलो , लँगडो र अपाङ्ग जिन्दगी लिएर
केवल अपाङ्ग मानसिकता लिएर !?
*******

पाण्डुलिपि स्मरण ‘ग”

२०७४ सालको साउन १ गते लेखिएको अर्को पन्ना पल्टियो –

जड !

***
सपनाहरूको शान्त जुलुसमा
संधिग्न व्यवधानहरूले
घरिघरि घेराबन्दि गर्छन् यहाँ
र भड्काउन खोज्छन्

असंख्य सपनाका बहावहरू !
सपनाहरू नफक्रिँदै चिमोटिन्छन्/चोइटिन्छन्
टुसाउँदा टुसाउँदै
सपनाहरू काटिन्छन्/टाछिन्छन्/छाँटिन्छन्

कुरूप समयका ज्यानमारा धारहरूद्वारा !
जब बीचैमा मारिन्छन् सपनाहरू
जहीँको तहीँ गाडिँदोरहेछ
खम्बा झैँ एकै ठाउँ
जड जिन्दगी !!

यी कविताहरूले प्रकाशनको मुख नदेखे पनि फेसबुकमा पाठकहरूको माया ममता चाहिँ पाएका छन् ।

पाण्डुलिपि र शिवजीको कहानी मिल्ने भएर यहाँ प्रस्तुत गरिएको हो । उनको जीवन ढुबो झैँ झ्याँगिन सक्थ्यो । नदी भै बग्न सक्थ्यो । सपनाहरू टुसाउन सक्थे । परन्तु बीचमै सपनाहरू मारिइन्थे । सपनाहरू मर्दा उनी यन्त्रवत् हुन्थे । जडवत् हुन्थे ।

उनले सुकर्म गर्न खोज्दा पनि किन अनर्थ भैरहेको छ ? अमृतमय जीवन किन बारबार बिषको घडा भैरहेको छ ? जीवनको राग किन स्वरभङ्ग भैरहेको छ ? उनको मनले केही आँकलन गर्न सक्ने अवस्था उनमा थिएन ।

समयले उनीसँग निकै बेजोड खेल खेल्यो । जीवनको एकमुठी खुशीको लागि बालककालमै के मात्र कुर्बान गरेनन् ? आठ वर्षको उमेरमा आमाको ममतामयी बात्सल्य गुमाए । बुबाको हेलामा परे । अनि जे जस्तो मिहिनेत गरेर केही उपार्जन गर्न सके सबका सब बालुवामा पानी भयो । दु:खमा साथ दिने कुनै हात भेटेनन् । आफ्नाहरूको उपेक्षा त छँदै थियो । समयले पनि बारबार उपेक्षा गर्‍यो ।

छातीमा दर्दको पर्वत थुप्रिएको थियो । हृदयमा विरहाग्नि दन्किरहेको थियो । जीवनको यो एकालापमा भविष्य दावानल झैँ ज्वालामुखिले दन्किरहेको थियो । खग्रास चन्द्रग्रहण झैँ जिन्दगी अँध्यारिएको थियो । जीवनमा पहिलो पल्ट उनको अन्तस्तल उत्तप्त थियो ।सीतलपाटीमा मनराजलाई भेटे पनि उनीबाट फसेको रकम भुक्तान गर्न केही उपाय भेटेनन् । उनी साँच्चिकै जडवत् भए । उनको पृथ्वी काँप्न थाल्यो । हेर्दा हेर्दै उनले टेकेको धरा भास्सिन गयो । धरासँगै उनले आफ्नो जीवन डुब्न लागेको देखे । सम्हालिन हर कोसिस गरे ।

लेख्दा लेख्दै म सोँच्न बाध्य छु , छोराले मलाई अभिनय गर्न बाध्य पारे झैँ शिवजी पनि यस संसारिक चक्रमा थाहा छैन , कस्तो जिन्दगीको अभिनय गर्न अभिशप्त भए ? लाग्छ , त्यो समयमा उनी स्वयं निरुत्तर थिए होलान् ।

क्रमशः ………………..!

लेखकका सम्बन्धित लेकहरु

प्रतिज्ञाको पाइला ‘खाली हात’ [भाग -३]

प्रतिज्ञाको पाइला ‘पीडा र पाण्डुलिपि’ [भाग -२]

माघेसंक्रान्ति बिशेष ‘प्रतिज्ञाको पाइला’ [भाग -१]

२०७५ माघ १४,सोमबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको