विराटनगर तनावपूर्ण बन्दै : निषेधाज्ञा टेरेनन्, सडकमै शव राखेर प्रदर्शन, पूर्वपश्चिम राजमार्ग अवरोध


माघ १४, विराटनगर । टिपरको ठक्‍करबाट बालिकाको मृत्यु भएको घटनाले उग्ररुप लिएपछि जारी गरिएको निषेधाज्ञा स्थानीय बासिन्दाले उल्लंघन गरे  स्थिति थप तनावपूर्ण बन्दै गएको छ । साढे तीन किलोमिटर क्षेत्रलाई लक्षित गरेर बिहान ११:१५ बजेबाट निषेधाज्ञा जारी गरिएको थियो। उनीहरुले शव उठाउन अस्वीकार गर्दै प्रदर्शन र नारावाजीलाई जारी राखेका छन्।

यस विषयमा थप निर्णय लिनका लागि जिल्ला सुरक्षा समिति मोरङको आपतकालिन बैठक विराटनगरमा बसिरहेको छ। निषेधाज्ञाको कुनै पनि प्रवाह नगरिकन आक्रोसित बनेका स्थानीय बासिन्दाले भने टिपरको ठक्करबाट मृत्यु भएकी बालिकाको शव सडकमै राखेर प्रदर्शन गरिरहेका छन्।

ठाउँठाउँमा टायर बालेर गरिएको प्रदर्शनले स्थिति थप तनावपूर्ण बन्दै गएको छ। सुन्दरहरैंचा नगरपालिकाको सिसौघारी र बेलेपुरमा प्रदर्शन गरिरहेको एउटा समूहले विराटचौक पुगेर बजार र पसल बन्द गराउन थालेको छ। पूर्वपश्चिम राजमार्ग अन्तर्गत विराटचौक सडक खण्ड बन्द गरिएको छ। एम्बुलेन्स बाहेक कुनै पनि सवारी साधन संचालन गर्न दिइएको छैन। मुख्य राजमार्गमा प्रहरीले सडक खुलाउने र सवारी आवगामन नियमित बनाउने प्रयास गरिरहे पनि त्यो सफल हुन सकेको छैन।

आगो निभाउन हिडेका दमकल स्थानीयद्वारा अबरोध

घटनाको विरोधमा आक्रोसित बनेर आन्दोलनमा उत्रिएका स्थानीय बासिन्दाले अहिलेसम्म ११ वटा टिपरमा आगजनी गरिसकेको बताए पनि प्रहरीले त्यसलाई पुष्टि गरेको छैन। प्रहरीले भने अहिलेसम्म सातवटामा मात्रै आगजनी गरिएको विवरण प्राप्त भएको जनाएको छ।

आगजनी गरिएको ठाउँमा आगो निभाउन भनेर विभिन्न ठाउँबाट पुगेका दमकल स्थानीय बासिन्दाको अवरोधका कारण घटनास्थलमा पुग्न सकिरहेका छैनन्। टिपरमा आगो दन्किरहँदा स्थानीयले प्रदर्शन उग्र बनाउँदै लगेपछि बेलेपुर र सिसौघारी रणमैदान बनेको छ। अन्य सवारी साधनमाथि आगजनीको घटना हुनसक्ने भन्दै प्रहरीले आन्दोलनकारीलाई रोक्ने प्रयास भने गरिरहेको छ।

प्रदर्शनकारीले निषेधाज्ञालाइ टेरेनन्

मोरङका प्रमुख जिल्ला अधिकारी रमेशकुमार केसीले विराटचौक, सिसौघारी, बेलेपुर र आसपासका क्षेत्रलाई लक्षित गरेर सोमबार बिहान ११:१५ बजेबाट निषेधाज्ञा जारी गरिएको बताए। प्रजिअ केसीले जिल्ला सुरक्षा समितिको बैठक जारी रहेको र निषेधित क्षेत्रमा अझै पनि प्रदर्शन नरोकिएका कारण स्थानीय प्रशासनले यस विषयमा थप निर्णय लिन सक्ने जानकारी दिए ।

स्थानीय प्रशासनले जारी गरेको निषेधाज्ञाका बारेमा प्रहरीले माईकिङ गरेर जानकारी गराएको थियो । तर आक्रोसित स्थानीय बासिन्दाले उक्त क्षेत्र छाडन् मानिरहेका छैनन्। उनीहरुले निषेधित क्षेत्रमा निरन्तर प्रदर्शन गरिरहेका छन्। टिपर आतंक रोक्नु पर्ने माग गर्दै सुरु भएको प्रदर्शनका क्रममा टिपरलाई स्थानीय प्रशासन र प्रहरीकै मिलेमतोमा संरक्षण गरिएको आरोप लगाइएको छ।

प्रजिअ केसीले निषेधित क्षेत्रमा कुनै पनि क्रियाकलाप गर्न नपाइने व्यवस्था कानुनमा रहेको जानकारी दिए। ‘कुनै पनि गतिविधि र क्रियाकलाप गर्न नपाउने गरी निषेधित क्षेत्र घोषणा गरिएको छ। जेसुकै भए पनि त्यहाँबाट स्थानीय बासिन्दा पछि हट्नुको विकल्प छैन,’ केसीले भने, ‘नमाहरु पछि सर्दा राम्रो हुन्छ।’

टिपरले ठक्कर दिँदा मोरङमा बालिकाको मृत्यु

मोरङको सुन्दरहरैंचा नगरपालिका ९ सिसौघारीमा टिपरको ठक्करबाट एक बालिकाको मृत्यु भएको हो । सोमबार बिहान विराटचौकबाट हरैंचातर्फ आउँदै गरेको ना ३ ख ३३५५ नम्बरको टिपरले ठक्कर दिँदा सुन्दरहरैंचा ९ की ११ वर्षीया बालिका लक्ष्मी ढकालको मृत्यु भएको हो ।

प्रहरीकाअनुसार तीव्र गतिमा रहेको टिपरले बाटो काट्दै गरेकी बालिकालाई ठक्कर दिएको थियो। ठक्करबाट उनको घटनास्थलमै मृत्यु भएको हो।

बालिकालाई ठक्कर दिए लगत्तै आक्रोसित बनेका स्थानीय बासिन्दाले टिपरमा आगजनी गरेका थिए । आगजनीबाट टिपर पूर्ण रुपमा क्षति भएको छ। ठक्‍कर दिएर भाग्दै गरेको उक्त टिपर बेलेपुर चौक नजिकै पुगेर सडक छेउको एउटा रुखमा ठोक्किएर दुर्घटनामा परेको थियो। दुर्घटनामा परे लगत्तै स्थानीयले टिपरमा मट्टीतेल र पेट्रोल छर्किएर आगो लगाएको इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरीक्षक रामप्रसाद राईले जानकारी दिए।

दुर्घटनापछि स्थानीय बासिन्दाले सडकमा गुडिरहेका अन्य पाँच/छ वटा टिपरमा पनि तोडफोड गरेका छन्। तोडफोड गरिएको मध्ये को १ ख ५८३३ नम्बरको टिपरको मात्रै नम्बर खुलेको छ। दुर्घटना लगत्तै विराटचौक –विराटनगर सडक खण्डको बेलेपुर र सिसौघारीमा स्थानीय बासिन्दाले नाराजुलुस प्रदर्शन गरिरहेका छन्।

स्थानीय बासिन्दाले टिपर आतंक रोक्नु पर्ने माग गर्दै प्रदर्शन थालेपछि स्थिति असामान्य बनेको थियो। स्थानीय बासिन्दाले घटनास्थलमा जान खोजेको प्रहरीमाथि समेत ढुँगामुडा गरेका थिए।

२०७५ माघ १४,सोमबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको