सभामुखको निर्वाचन कार्यतालिका तय, को बन्लान सभामुख ?


पुस ११, काठमाडौँ । प्रतिनिधि सभाको सभामुखका लागि यही पुस १४ गते निर्वाचनको प्रस्ताव गरिएको छ । प्रतिनिधि सभा सचिवालयले राजनीतिक दलसँगको अनौपचारिक परामर्शका आधारमा निर्वाचन कार्यतालिका तय गरेको हो ।

औपचारिक रूपमा कार्यव्यवस्था परामर्श समितिले भने कार्यतालिकाबारे निर्णय गरिसकेको छैन । शुक्रबारको प्रतिनिधि सभा बैठकबाट निर्वाचन कार्यतालिका प्रकाशनका लागि निर्देशनको तयारी गरेको छ । सचिवालयले तयार पारेको प्रस्तावित कार्यतालिकाअनुसार यही पुस १३ गते उम्मेदवारको मनोनयन हुनेछ भने १४ गते निर्वाचन हुनेछ ।

सदनको निर्देशनानुसार संसद्का महासचिव मनोहरप्रसाद भट्टराईले कार्यतालिका प्रकाशन गर्नेछन् । “हामीले अनौपचारिक परामर्शका आधारमा कार्यतालिका प्रस्ताव गरेका छौँ । हामीले १३ गते मनोनयन र १४ गते निर्वाचनको मिति प्रस्ताव गरेका छौँ । राजनीतिक रूपमा कुनै अर्को निर्णय नभएमा यही कार्यतालिका अगाडि बढ्छ”, सचिवालय स्रोतले भन्यो ।

सभामुखको उम्मेदवारी चयनलगायतका विषयमा राजनीतिक परामर्शका लागि यसअघि अधिवेशनको पहिलो बैठकबाट दोस्रो बैठकको अवधि एक साता तोकिएको थियो तर यसबीचमा राजनीतिक दलबीच औपचारिक रूपमा परामर्श भएको छैन । पुस ४ गतेको परामर्श बैठकमा भने पुस ११ मा कार्यतालिका सार्वजनिक गर्ने सहमति भएको थियो ।

सभामुखमा सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले उम्मेदवार उठाउने निश्चित छ तर संवैधानिक व्यवस्था अनुसार सभामुखमा उम्मेदवारी दिन तत्कालीन एमालेबाट उम्मेदवार बन्नुभएकी उपसभामुख डा. शिवमाया तुम्बाहाङ्फेको राजीनामा आवश्यक छ । उहाँको राजीनामा सभामुख चयनको कार्यतालिका अघि वा पछि यकिन भइसकेको छैन । गोरखापत्र दैनिकमा खबर छ ।

११ पुष २०७६, शुक्रबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको