हुम्लामा ट्रिपर दुर्घटना हुँदा ३ को मृत्यु, १३ जना घाईते


रेशमराज रोकाया/मङ्सिर ११, हुम्ला । हुम्लाको उत्तरी गाउँपालिका नाम्खाको सल्लीबाट सामान ढुवानी गरीरहेको लु.४ ख ३२६९ नंबरको ट्रिपर दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । दुर्घटनामा परि १३ जना घाईते भएका छन् ।

तस्बिर: रेशमराज रोकाया 

नेपाल खाद्य संस्थानको चामल र अन्य वन्दोवस्तीको सामान ढुवानीको साथमा यात्रु सदरमुकाम सिमकोट तिर आउँदै गरेको ट्रिपर सिमकोटको लाग्ना डाँडा नजिकै दुर्घटना भएको हो ।

चालकले अत्याधिक मदिरा सेवन गरी ट्रिपर हाँकेको पाईएको प्रारम्भिक अध्ययनले देखाएको छ । चालक काभ्रे जिल्ला बुद्ध नगरपालिका वडा नं. ११ भालुखर्कका आनन्द तामाङ्गलाई स्थानियले कब्जामा लिई प्रहरी समक्ष बुझाएका छन् ।

मृत्यु हुनेमा नाम्खा गाउँपालिका वडा नं. १, हेप्का गाउँका छिरिङ्ग कर्मा तामाङ्, नरी लामा र खार्पूनाथ गाउँपालिका १ का बबरजंग शाही रहेका छन् । घाईते हुनेमा नाम्खा गाउँपालिका वडा नं. १ का नाम्गेल लामा, नातोक लामा, सिन्दार तामाङ्ग, सिमकोट गाउँपालिका वडा नं. ६ का कपिल रोकाया, खगेन्द्र रावत, कमल रोकाया, सन्तोष सुनार, भक्त ब. रोकाया, रामकुमार रोकाया, सिमकोट वडा नं. ७ का नर सुनार, खार्पुनाथ गाउँपालिका वडा नं. ५ का धनसिँह भण्डारी, सर्केगाड गाउँपालिका वडा नं. २ का अंग फडेरा रहेका छन् ।

ट्रिपर मुल सडक भन्दा करिब ३० मिटर दक्षिणमा खसेको हुम्ला जिल्ला प्रहरी प्रमुख राम प्रसाद घर्ती मगरले जानकारी दिए । दुर्घटना पछि ट्रिपर नजिकै रहेको विद्युत पोलमा अडिएको छ । अन्य के कति मात्रामा हताहत भए भन्ने अनुसन्धान र उद्धारको लागि प्रहरी सहायक निरिक्षक सहितको १३ जनाको टोली घटनास्थलमा रहेको प्रहरीले जनाएको छ ।

घाईते हुने सबैको जिल्ला अस्पताल सिमकोटमा उपचार भईरहेको छ । अधिकाँश घाईतेको अवस्था गम्भिर रहेको प्रहरी प्रमुख घर्ती मगरले जानकारी दिए ।

घाईतेको उपचार सिमकोटमा गर्नको लागि कठिन भईरहेको बताइएको छ । अधिकाँशको छाती, टाउको र हात खुट्टा काम नलाग्ने अवस्थामा रहेको प्रहरी स्रोतले जानकारी दिएको छ ।

यसैगरी घाईतेको अवस्था बुझ्नको लागि कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री दल रावल अस्पतालमा पुगेका छन् । घाईतेलाई प्रारम्भिक उपचारपछि भोली (बिहिबार) हवाईमार्गबाट थप उपचारका लागि नेपालगञ्ज पठाउन लागिएको मन्त्री रावलले जानकारी दिए । दुर्घटना अबेर भएको कारण हेलिकोप्टर झिकाउनको लागि समस्या भएको मन्त्री रावलले जानकारी दिए ।

११ मंसिर २०७६, बुधबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको