मिचिएको भूमि फर्काउन सरकारलाई साथ दिन्छौँ : कांग्रेस


मङ्सिर ११, काठमान्डौ । प्रमुख प्रतिपक्षी कांग्रेसले कालापानी, लिपुलेक र लिम्पियाधुरालाई फर्काउन सरकारले भारतसँग गम्भीर कूटनीतिक पहल नगरेको आरोप दोहो-याएको छ। प्रवक्ता विश्वप्रकाश शर्माले विज्ञप्ति जारी गर्दै परिणाम हासिल गर्ने पहल गर्न सरकारसँग माग गरे।

‘हाम्रो देशको अविभाज्य भूमि कालापानी, लिपुलेक र लिम्पियाधुरालाई आफ्नो देशको नक्सामा गाँसेर भारत सरकारले नक्सा सार्वजनिक गरेको महिना दिन पुग्न लाग्दै छ’, विज्ञप्तिमा भनिएको छ, ‘घटनालगत्तै नेपाली कांग्रेसले गम्भीर विमति त प्रकट ग-यो नै, यो अवधिमा ती भू–भागबाट भारतीय सैनिक फिर्ता हुनुपर्ने र त्यसका लागि नेपाल सरकारले उच्चस्तरीय कूटनीतिक र राजनीतिक पहल गर्नुपर्ने विषयमा अभूतपूर्व राष्ट्रिय एकतासमेत निर्माण भएको छ ।’

सरकारले एक महिनामा पनि गम्भीर पहल नगरेको आरोप कांग्रेसको छ। ‘यो महिना दिनको अवधिमा सरकारले न त गम्भीर कूटनीतिक पहल गरेको सुनिएको छ, न त उच्चस्तरीय राजनीतिक संवाद गरेको देखिएको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘केवल प्रतिक्रिया मात्रै जनाएर सरकारको कर्तव्य पूरा हुन्न। बलियो राष्ट्रिय एकताको साझा अभिमतलाई नेतृत्व गर्न र परिणाम हासिल गर्ने ढंगले सदुपयोग गर्न यसबीचमा सरकारले अयोग्यता प्रदर्शन गरेको छ।’

सरकारको कमजोर क्रियाशीलताले नै अनेक आशंका उब्जनु स्वाभाविक भएको भन्दै कांग्रेसले दृढ ढंगले सरकारलाई साथ दिन प्रतिबद्धता जनाएको छ । राष्ट्रवादको अडान परिणाममुखी हुनुपर्छ भन्ने कांग्रेसको प्रस्ट मान्यता भएको शर्माद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

‘कालापानी प्रकरणमा परीक्षाको यही दायित्व पूरा गर्ने अभिभारा वर्तमान सरकारको काँधमा आइपुगेको छ,’ सरकारमाथि प्रश्न उठाउँदै कांग्रेसले भनेको छ, ‘तर सबै दल र सम्पूर्ण नेपालीको साथ रहँदा पनि गम्भीर पहलकदमी नहुनु दुःखद त छ नै प्रश्न पनि उब्जिएको छ, हिजोको राष्ट्रवादको उग्रभाव कृत्रिम थियो । जुन आज के प्राकृतिक स्वरूपमा लुलो राष्ट्रवाद प्रकट भएको हो ?’

देशको वास्तविक नक्सा सार्वजनिक गर्न, गम्भीर कूटनीतिक पहलकदमी गर्न र उच्चस्तरीय राजनीतिक संवादमार्फत परिणाम हासिल गर्ने प्रक्रिया अघि बढाउन शासकीय योग्यता देखाउन कांग्रेसले भनेको छ । कालापानी, लिपुलेक र लिम्पियाधुरा हाम्रा अविभाज्य भूमि हुन् भन्दै त्यहाँबाट भारतीय सुरक्षाबल फिर्ता हुनुपर्ने अडान कांग्रेसले दोहो-याएको छ ।

११ मंसिर २०७६, बुधबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको