अत्यास लाग्दो सवारी जाम हटाउन गृहमन्त्री थापाको निर्देशन


असोज १०, काठमाडौं । गृहमन्त्री रामबहादुर थापाले सबै शक्ति लगाएर नागढुंगा सडकखण्डको जाम खुलाउन सुरक्षा निकायलाई निर्देशन दिएका छन्।

दशैँ मनाउन काठमाडौंबाट घर जाने यात्रु बोकेका सवारीसाधनको ४० किलोमिटरसम्म लामो जाम भएपछि गृहमन्त्री थापाले प्रमुख जिल्ला अधिकारी र प्रहरी अधिकारीलाई मन्त्रालयमा बोलाएर निर्देशन दिएका हुन्। गृहमन्त्री थापाले ट्राफिक जाम अत्यधिक बढेको जनगुनासो आएको भन्दै तत्काल जनताले महसुस गर्नेगरि जाम हटाउन सम्बद्ध सरकारी अधिकारीलाई निर्देशन दिएका उनका प्रेस सहयोगी किरण भट्टराईले जानकारी दिए।

उनले जाम भएका क्षेत्रमा ट्राफिक प्रहरीको जनशक्ति बढाउन, व्यस्त समयमा ठूला सवारी साधनको आवागमनमा रोक लगाउन, बिग्रिएका सवारीसाधन हटाउन आवश्यक क्रेनको व्यवस्था मिलाउन निर्देशन दिए। त्यस्तै जाममा परेका बिमारीहरुको आवश्यकता अनुसार उद्धारका सबै उपाय अपनाउन समेत उनले भनेका छन्।

गृहमन्त्री थापाले काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहाल, महानगरीय प्रहरी कार्यालयका प्रमुख डिआईजी शैलेश थापा क्षेत्री र महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख भीम ढकाललाई मन्त्रालयमा बोलाएर जाम हटाउन आवश्यक कदम चाल्न भनेका हुन्।

चाडपर्वको मौकामा हुनसक्ने कालोबजारी र यात्रुहरुलाई आवश्यक टिकट वितरणमा जनगुनासो आएको भन्दै निगरानी र कारबाही बढाउन निर्देशन दिए। उनले सडक सुरक्षा तथा मर्मतका लागि भौतिक पुर्वाधार मन्त्रालयसँगसमन्वय भइरहेको जानकारी दिए।

१० आश्विन २०७६, शुक्रबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको