असोज १३ मा नेपाल खुला दिसामुक्त राष्ट्र घोषणा हुने


असोज १०, काठमाडौं । सरकारले असोज १३ गते ‘नेपाललाई खुला दिसामुक्त राष्ट्र’ घोषणा गर्ने भएको छ।

खानेपानी मन्त्रालयले शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गरी यही असोज १३ गते सोमबार काठमाडौंमा विशेष कार्यक्रमको आयोजना गरी नेपाललाई खुला दिसामुक्त राष्ट्र घोषणा गर्न लागिएको जानकारी गराएको हो।

सामाजिक उत्थानको क्षेत्रमा निकै ठूलो उपलब्धि हासिल भएकाले राष्ट्रिय उत्सवकै रुपमा मुलुकलाई खुला दिसामुक्त राष्ट्र घोषणा गर्ने निर्णय गरिएको खानेपानी मन्त्री विना मगरले जानकारी दिइन्। उनले सो अभियानलाई सफल बनाउन सबै मन्त्रालय, सम्वद्ध पक्ष र सर्वसाधारणलाई पनि अपिल गरिन्।

सरकारले सन् २०११ बाट जिल्लालाई खुला दिसामुक्त घोषणा गर्न सुरु गरेको थियो। सोही अभियानअन्तर्गत सबैभन्दा पहिला कास्की जिल्लालाई खुला दिसामुक्त जिल्ला घोषणा गरिएको थियो।

यो अभियान स्कुल र जिल्ला तह हुँदै अघि बढाइएको पनि मन्त्री मगरले बताइन्। अभियानमा सबै राजनीतिक दल, पेसा र व्यवसायमा संलग्न रहेकाले पनि देशलाई नै खुला दिसामुक्त घोषणा गर्नसक्ने अवस्थामा आइपुगिएको पनि खानेपानी मन्त्रालयको भनाइ छ।

नेपालमा खुला दिसामुक्त राष्ट्र घोषणा गरेलगत्तै सरसफाइ अभियानलाई तीव्रता दिने सरकारको योजना छ।

१० आश्विन २०७६, शुक्रबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको