दसैंका यात्रुको गुनासो-‘अहिले टिकट छैन, सबै बुक भइसक्यो मात्र भन्छन्’


असोज १०, काठमाडौँ । दसैं नजिकिँदै जाँदा यात्रुले टिकट नपाएको गुनासो गरेका छन् ।

यो समाचार कान्तिपुर दैनिकमा विमल खतिवडाले लेखेका छन् । दसैंकै मुखमा घर जाने तयारीमा रहेका यात्रु टिकट नपाउँदा निराश छन् । पूर्व, पश्चिम, मध्य पश्चिम र सुदूरपश्चिम सबैतिरका यात्रुले टिकट काट्न जाँदा बुक भइसकेको सूचना पाउने गरेको बताए ।

यही भीडमा १६ गते घर जाने तयारीमा रहेका जाजरकोटका नवराज शाही ठकुरीले अहिलेसम्म टिकट नपाएको गुनासो गरे । उनी गोंगबुस्थित नयाँबसपार्कमा टिकट लिन पुगेका थिए । ‘१६ गते घर जानका लागि टिकट बुक गर्न खोजेको थिएँ,’ उनले भने, ‘जुन दिन जाने भनेको त्यही दिनकै टिकट पाइएन, काउन्टरमा बस्नेले त्यो दिनका लागि सबै बुक भइसकेको बताए ।’ उनी कसरी घर जानेर भनेर अन्योलमा छन् । चिनेको दाइलाई भन्न लगाइरहेको उनले सुनाए । ‘दसैंमा घर त जानैपर्छ,’ उनले भने, ‘त्यसैले सिट नपाए उभिएरै भए पनि जान तयार छु ।’ घर पुग्न दुई दिन लाग्छ । सदरमुकामसम्म गाडी पुग्छ ।

त्यसपछि कच्ची सडक हुँदै गाउँ पुग्ने उनले बताए । यो समस्या उनको मात्र होइन । टाढाटाढा जानेले टिकट नपाएको गुनासो गर्दै आएका छन् । काउन्टर जाँदा टिकट नभएको, अग्रिम रूपमा बुक भइसकेको जानकारी दने गरेको यात्रुले बताए । ‘१३ गते घर जाने भनेर बसे पनि त्यो दिनका लागि सबै टिकट बुक भइसकेको भन्ने मात्र सुन्छु,’ संखुवासभाकी सुमित्रा जिमीले भनिन्, ‘घरसम्मकै लागि पनि होइन, धरानसम्म मात्र जान खोजे पनि टिकट पाएको छैन ।’

उनले टिकट काउन्टरमा बुझी रहेको बताइन् । समस्या गाडीको मात्र होइन । जहाज पुग्ने जिल्लाका यात्रुले पनि टिकट पाएका छैनन् । टिकट नपाएपछि यात्रुलाई कसरी घरसम्म पुग्ने भन्ने चिन्ता छाएको छ । अहिले टिकट छैन भन्दै फर्काउने गरेको र दसैंको मुखमा टिकट कालोबजारी गरेर बेच्न लागिएको आरोप यात्रुको छ । ‘अहिले टिकट छैन, सबै बुक भइसक्यो मात्र भन्छन्,’ टिकट काट्न नयाँ बसपार्क पुगेका एक यात्रुले भने, ‘जब दसैं नजिकिन्छ, त्यसपछि अहिलेको भाडादरको दोब्बर पैसा लिएर टिकट बिक्री गर्छन् ।’

यता संखुवासभा खाँदबारीका विवश घिमिरेले जहाजमा घर जान टिकटको खोजी निकै गरे । १७ गतेका लागि टिकट बुक गर्न खोजे पनि कतै पाउन सकेनन् । गाडीमा जाँदा काठमाडौंबाट दुई दिन लाग्छ । ‘गाडीमा जाँदा उल्टी हुन्छ, चाडबाडमा घर पुग्दा तीन/चार दिननै बिरामी परेर सुत्नुपर्छ,’ उनले भने, ‘त्यही भएर जहाजमा जान निकै प्रयास गरें, टिकट नै पाउन सकिनँ ।’ गाडीमा जाने भएपछि १६ गतेका लागि टिकट बुक गरेको उनले बताए । तुम्लिङटार विमानस्थलमा बुद्ध र यती एयरले दैनिक एक/एक उडान भर्दै आएका छन् ।

चाडबाडको समयमा उडान संख्या थपिने आशमा उनले टिकट लिन खोजेको बताए । ‘जहाजको टिकट लिन जाँदा दसैंका लागि वैशाख/जेठबाटै टिकट बुक भएको जानकारी दिए,’ उनले भने, ‘अब कष्ट सहेरै भए पनि गाडीमा जानुको विकल्प भएन ।’ उनले रात्रि बसको टिकट काटेको सुनाए । यो समस्या उनको मात्र होइन । यात्रुले जहाज, गाडी, माइक्रो, जिपको टिकट सहज रूपमा नपाएको गुनासो गर्दै आएका छन् । रिजर्भ गरेर जान खोज्दा गाडीवालाले अघिपछि भन्दा दोब्बर पैसा भन्ने गरेको यात्रुले गुनासो गरे ।

दसैंमा उपत्यकाबाट करिब २० लाख यात्रु बाहिरिने गर्छन् । यातायात व्यवस्था विभागका महानिर्देशक गोगनबहादुर हमालले बसको टिकटमा समस्या नभएको दाबी गरे । ‘जुन दिन जाने भनिएको छ त्यो दिन नभए अघिपछि गरेर पनि जान सकिन्छ तर बसको टिकट पाइएन, कालोबजारी भयो भन्ने कुरा गलत हुन्,’ उनले भने, ‘माइक्रो र जिपको टिकट नपाएको भन्ने गुनासा धेरै आएका छन्, यसबारे शुक्रबार सम्बन्धित निकायलाई बोलाएर छलफल गर्दैछौं, समस्या समाधान हुन्छ ।’

गाडी पुग्ने/नपुग्ने भन्नेबारे पनि यातायात व्यवसायीसँग निरन्तर बुझिरहेको उनले बताए । सबैभन्दा बढी यात्रुको भीड नयाँ बसपार्कमा लाग्ने गरेको छ । ‘अघिपछि टिकटमा कालोबजारी गर्नेहरूको लिस्ट हामीसँग छ, कसले के गर्छ भन्ने सबै थाहा छ,’ उनले भने, ‘सादा पोसाकमा प्रहरी परिचालन गरिएको छ, कसैले यात्रुलाई ठग्न खोजे ठाउँको ठाउँ कारबाही हुनेछ ।’ टिकट अभाव हुन नदिने र यात्रुलाई गन्तव्यमा पुर्‍याएरै छाड्ने उनले दाबी गरे । पानी पर्न नरोकिएकाले ग्रामीण क्षेत्रमा जाने यात्रुले टिकट नपाउनु स्वाभाविक भएको यातायात व्यवसायी बताउँछन् ।

‘ग्रामीण क्षेत्रका सडक खुल्छन्/ खुल्दैनन अझै थाहा छैन,’ यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले भने, ‘ती ठाउँमा जाने यात्रुका लागि टिकट बुक गर्ने/नगर्ने भनेर व्यवसायी दोधारमा छन् ।’ अहिले सबैभन्दा बढी समस्या नागढुंगा–नौबिसे सडक खण्डमा देखिएको छ । दसैंको मुखमा सडक टाल्ने काम सुरु गर्दा दैनिक सवारी जाम हुने गरेको छ । त्यस्तै नुवाकोट जाने सडकको समस्या अझै समाधान भएको छैन ।

काठमाडौंबाट नजिक रहेका जिल्लाहरूका लागि भने शुक्रबारबाट टिकट बुकिङ खुल्दै छ । पोखरा जाने यात्रुले सुन्धरा र नयाँ बसपार्कबाट टिकट लिन पाउनेछन् । त्यस्तै गोरखाका लागि पनि शुक्रबारबाटै टिकट खुला भएको छ । पोखराबाट देशका विभिन्न जिल्ला जाने १० हजारले टिकट बुक गरिसकेका छन् । ‘हामीलाई मुख्य समस्या सडक नखुल्दा हो,’ महासचिव सिटौलाले भने, ‘सडक सुचारु भए यात्रुलाई गन्तव्यसम्म पुर्‍याउन समस्या छैन ।’

१० आश्विन २०७६, शुक्रबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको