भदौ १०, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठले पार्टी र सरकारको बारेमा सार्वजनिक टिप्पणी र आलोचना गर्न बन्देज नलगाइएको प्रष्ट पारेका छन् ।
पार्टीको नीति र नेतृत्वका सम्बन्धमा सार्वजनिक बिरोध वा आलोचना नगर्न कार्यकर्तालाई निर्देशन दिने निर्णयको भोलिपल्टै प्रवक्ता श्रेष्ठले व्यक्तिगत टीकाटिप्पणी सार्वजनिक रुपमा गर्नमात्र रोक लगाइएको बताएका हुन् ।
प्रवक्ता श्रेष्ठले ट्वीट गर्दै भनेका छन्– पार्टी कमरेडहरुले पनि पार्टी र सरकारबारे आलोचनात्मक टिप्पणी गर्न पाईन्छ । पाईन्छ मात्र होइन, गर्नुपर्छ । त्यसले पार्टी र सरकारलाई सही दिशामा लैजान मद्द्त गर्छ । आम जनताको निम्ति त यो अधिकार सुनिश्चित नै छ । खाली पार्टीकाले ब्यक्तिगत टिप्पणी भित्रै गरौं भनिएको हो ।
श्रेष्ठले पार्टीको निर्णयलाई सही रुपमा बुझौं भन्दै पार्टी र सरकारलाई कमजोर वा असफल पार्ने नियतले केही नगरौंमात्र भनिएको बताएका छन् । तर बैचारिक, नीतिगत बिषयमा सार्वजनिक छलफल वा आलोचनात्मक टिप्पणी गर्न सकिने उनको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस