साउन ११, बाजुरा । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का स्थायी कमिटी सदस्य एवं सुदूरपश्चिम प्रदेश इञ्चार्ज भीमबहादुर रावलले उपभोक्ता समितिको आश गर्ने कार्यकर्ता कम्युनिस्ट हुन नसक्ने बताएका छन्। नेकपा जिल्ला कमिटी बाजुराको सपथ ग्रहण समारोहमा बोल्दै लाभ लिने मानसिकता राखेर उपभोक्ता समितिको अध्यक्ष सचिव हुने सोच भएकाहरु वास्तविक कम्युनिष्ट हुन नसक्ने बताएका हुन् ।
देश परिवर्तनको लागि नेकपालाई सुनौलो अवसर प्राप्त भएको उल्लेख गर्दै यस्तो अवसर गुमाउन नेकपालाई छुट नभएको जिकिर समेत गरे । ७० वर्षपछि पाएको अवसरलाई सदुपयोग गर्न नसके नेकपाको पनि कांग्रेसकै हाल हुने उनको टिप्पणी थियो । यसै सन्दर्भमा उपभोक्ता समिति बनेर सिमित स्वार्थमा अल्मलिने चिन्तनको अन्त्य हुनुपर्नेमा जोड दिएका थिए ।
‘जनप्रतिनिधि जनताको आवाज सुन्ने, साझा हितको पक्षमा बोल्ने हुनुपर्छ,’ उनले भने, ‘सत्ता र शक्तिमा पुगेपछि कार्यकर्ता, पार्टी सबै बिर्सीने र निजी स्वार्थमा सीमीत हुने रोग सल्कीन दिन हुन्न ।’
नेकपाले जनतामाझ गरेका चुनावी बाचा पूरा गर्नुको विकल्प नरहेको बताउदै सरकारका लोकप्रिय कामको गाउँमा सन्देश लिएर जान समेत अनुरोध गरे ! राम्रा कार्यमध्येको वृद्धभत्ता बढेको खबर गर्न कार्यकर्तालाई रावलले अपिल गरेका थिए ।
नेकपा भित्र देखिने गलत प्रवृतिको कठोर टिप्पणी सम्म पछि नपर्ने नेता राउल जनपक्षीय मानिन्छन ।
प्रतिक्रिया दिनुहोस