केबी गुरुङ । नेपाली फिल्ममा प्राय सहायक रोलमा देखिने कलाकार बुद्धि तामाङको थेगो ‘हैट’ धेरै नेपालीहरुको मुखार बिन्दुमा झुण्डीएको छ । ‘हैट’ थेगो प्रयोग गरेर नबोल्ने नेपाली प्राय कमै होलान । त्यसकारण बुद्धिमान तामाङ्गको नाम नै ‘हैट’ रहन गयो ।
त्यसैगरी यतिबेला गलबन्दीले ल्याएको ‘ढिला आयो कडा आयो’ थेगो हरेक नेपालीहरुको जिब्रोमा झुण्डिएको छ । आफुले गरेको केहि काम फत्य भैसके पछि वा कसैले खाँटी कुरा बोल्यो कि ‘ढिला आयो कडा आयो’ मुखारबिन्दुबाट फुत्त निस्किहाल्छ ।
गलबन्दीको सफलताको एउटा कारक तत्व यो पनि हो । यो गलबन्दीको सफलताको ह्याज ट्याग नै बन्यो ।
पछिल्लो समय लोक दोहोरि क्षेत्रमा पश्चिमाहरुको जबर्जस्त आक्रमण भैरहेको बेला, प्रकाश सपुतको बोलामाया र गलबन्दीले लगातार सफलता पाएपछि नेपाली लोक संस्कृतिको शिर उचो भएको छ । हाम्रो संस्कृति उचो हुँदा नेपाली शिर त्यसै पनि उचो हुने नै भयो । यतिबेला मेरो शिर उचो भएको महसुस गरेको छु ।
एक समय यस्तो सम्म थियो, लोक गित गाउँदा मिनिस्कट भित्रको रातो कट्टु देखाए पछि मात्रै लोक गित चल्छ भन्ने पश्चिमा कुसंस्कार जुर्मुराएको थियो । यस्तो संस्कार देशभित्र र बाहिर हुने विभिन्न नामका महोत्सबहरुले प्रमोट गरिरहेका थिए । महोत्सबमा प्रस्तुत हुने कार्यक्रमहरु मौलिक संस्कृतिको प्रदर्शन भनेर प्रचार-प्रसार गरिन्थे तर त्यहाँ मिनिस्कट भित्रको रातो कट्टुको प्रदर्शन हुन्थ्यो ।
यस्तो पश्चिमा शैलीलाई चिर्दै बोलामाया र गलबन्दीहरु आए । म त भन्छु, मौलिक संस्कृति जगेर्ना गर्ने असल कलाकारहरुको आगमनले भारतीय पोर्न स्टार सन्नी लियोनका नेपाली अनुयायीहरु लोप भए । आजकालका महोत्सबहरुमा मिनिस्कट भित्रको रातो कट्टु बिक्रि हुन छाड्यो ।
प्रकास सपुतको सबै भन्दा अब्बल पक्ष निर्देशन परिकल्पना हो । नेपाली समाजको मौलिक पक्षलाई टप्पक टिपेर छोटो म्युजिक भिडियो मार्फत सिंगो लोकबासीहरुको कथा समेट्न सक्ने खुबी उनि संग छ । त्यसैकारण बोलमाया पछि गलबन्दीले पनि अरु बेस्सरी जल्नेगरि सफलता पायो ।
सायद यति धेरै सफलता नपाएको भए अग्रजहरु यति सम्म जल्ने पनि थिएनन ।
सामन्ती अग्रजहरुको फन्दामा गलबन्दी
गलबन्दी बिबाद आपसमै मिल्यो, यो अति राम्रो भयो । आपसमा मिलिसकेको कुरालाई कोट्याई रहनु राम्रो होइन तर सामन्ती चरित्र बोकेका अग्रजहरुको कारण नयाँ कलाकार मानसिक रुपमा भयभित भैरहेको कुरालाई उजागर नगरी बस्न भने मनले मानेन ।
केहि दिन अघि नेपाल आइडल बिजेता रबि ओडले ‘सालको पात टपरी’ दर्शकको माग अनुसार स्टेजमा केहि टुक्का गाई दिएपछि उक्त गीतका निर्माता रबि प्रति खन्निए । आफ्नो सम्पति दुरुपयोग भएको आरोप लगाए ।
आज आएर फेरी शम्भु राईले गलबन्दी आफ्नो देउसी भैलोको गितसंग मिलेको गायक तथा निर्माता प्रकाश सपुतलाई आरोप लगाए । चोरी भएको भन्दै अदालत सम्म पुगे । अन्ततः उक्त गितको क्रियसन शम्भु राईले पाए । रिक्रियसनमा प्रकाश सपुत खुम्चिए । यस्ता घटनाहरु नेपाली गित संगीत क्षेत्रमा हुँदै आएका छन् ।
नेपाली कलाक्षेत्रमा सामन्ती चरित्र बोकेका अग्रजहरु छन्, जो मान-सम्मानको संधै प्यासी हुन्छन । सायद नवकलाकारहरुले सम्मान दिन नजानेर पनि प्यासी भएका हुनसक्छन । जसको चरित्र हेर्दा शाहाबंसीय राजाहरुको जस्तो बढेमानको देखिन्छ ।
राजनीतिक चेतहरुले राजाको बर्ग चरित्र फेरेर गणतन्त्र ल्याए तर कलाकर्मीहरुले आफ्ना अग्रजहरुमा हुर्किरहेको सामन्ती चरित्रलाई मलजल गरिरहे, जसको कारण आज आफै कत्लेआम हुँदैछन्।
यस्तो समस्या हाम्रो देशमा मात्रै नभएर भारतमा पनि देखिन्छ । भारतीय संस्कृतिबाट नेपाली कलाकारहरु प्रेरित देखिन्छन । जहाँ प्रखर प्रतिभा भएका तर आर्थिक स्थितिमा कम्जोर भएकाहरुलाई यो क्षेत्रमा टिक्न निकै मुस्किल छ ।
फलस्वरूप अत्यन्तै क्षमतावान कलाकारहरु आफु बस्ने देशबाटै पलायन भए, अझै हुँदै छन् ।
नेपाली कलाक्षेत्रमा आफुलाई दिग्गज ठान्ने अग्रज कलाकारहरुमा एउटा सामन्ती चरित्रको दम्भ यथावत छ । यसो भनि रहदा नवउदाउदा कलाकारहरुले अग्रजहरुलाई मान सम्मान नगर्ने भन्न खोजिएको होइन । तर अग्रजले आफै मान सम्मान खोज्न थालेपछि त्यो चरित्र शाहाबंशीय चरित्रसंग मिल्छ । आफै मान सम्मान खोज्ने अग्रजले प्रतिभाको घांटी निमोठ्ने गर्छ ।
गलबन्दी गितको बिबादको चरित्र पनि यस्तै सेन्समा भेटियो ।
शम्भु राई नेपाली गित संगीत क्षेत्रको नक्षेत्र हो । उसको उचाई छुन कसैले सक्दैन । उनलाई कसैले चाहेर पनि निश्तेज पार्न सक्दैन । उनको सफलताको उचाई निकै माथि छ । म त भन्छु शम्भू राईलाई राज्यले स्वर सम्राटको उपाधि दिनु पर्छ ।
यस्तो दिग्गज व्यक्तित्व कसैको उक्साहटमा लागेर नव कलाकार प्रति चोरी भएको आरोप लगाउनु आफ्नै फ्यानहरुको लागि दुखद कुरा हो । लोक गित मौलिक संस्कृतिको धरातलबाट उब्जिने भएको हुँदा सायद यसको संगीतलाई संकलन भनिएको हुनुपर्छ । लय संकलन गर्दा थोरै मिल्न जाने कुरा स्वाभाविक हुन्छ ।
त्यसो भए लोक गितको संगीतलाई ‘लय संकलन’ नभनेर ‘संगीत रचना’ किन नभन्ने ? यो एउटा बहसको बिषय बन्न जरुरि छ ।
यसरि नै लोक गितको लय मिलेको आधारमा कपि राईटको कैची लगाउदै जाने हो भने यहाँ कुनै लोक गितहरु अछुतो हुने छैनन् । त्यसकारण गलबन्दीको सफलतामा अग्रज शम्भु राई जलेकै हुन् ।
उनका धेरै गीतहरु पनि रक्तिम परिवारका कलाकार जिबन शर्माका गीतहरु संग मिलेका छन् । चर्चित गीतहरु नारायण गोपालको गीतको संगीत संग पनि मिलेका छन्।
प्रकाश सपुतका गित हिट हुनुमा उनको अथाह त्याग तपस्या र परिश्रम जोडिएको छ । दर्शकहरुको भाबनालाई समेत कदर नगरेर शम्भु राई गलबन्दीको संगीतमा आफ्नो नाम दर्ज गराउनु स्वभनिय चाहि कत्ति होइन ।
अग्रज दाजुलाई आत्मरति मिलेको भएपनि म फ्यानको हैसियतबाट हेर्दा अलिकति पनि सुहाएको देखिन । जाबो प्रकाश सपुतको दुइटा गित हिट हुँदा अग्रज किन तर्सिनु पर्यो ? किन अड्डा अदालत जानु पर्यो ?
यो त लंका धाउने हनुमान, पगरी गुठ्ने बाँदर भएन र ?
खासगरि अग्रज सम्भु राईलाई उचाल्लने केहि मिडियाहरु र राजनीतिक चलखेलको कारण यस्तो समस्या आएको धेरै दर्शकहरुको टिप्पणी रहेको छ ।
यति बेला सत्तासिन पत्रकारहरु पावरमा छन् । सत्तासिन कलाकारहरु बलिया छन् । सत्तासिन ब्याबसायीहरु मुनाफामा छन् । त्यसकारण सपुत पछि हटेर सम्झौतामा जानुपरेको बाध्यता हो भन्ने आंकलन गर्नेहरु पनि थुप्रै भेटिन्छन । यस्ता टिप्पणीका पछाडी यथार्थता हुन सक्छन ।
खैर जेहोस, ढिलो आयो कुरा मिल्यो । यसमा हाम्रो टाउको दुखाईको बिषय रहेन तर प्रकाश सपुतले शम्भु राईलाई पत्रमा लेखेको झैँ डर देखाएर, अग्रज कलाकारहरुले नव कलाकारहरुलाई भयभित बनाउन अड्डा अदालत जान हुन्थेन । कानुनमा लेखिएको नियम मात्रै सर्बोपरि होइन, दर्शक स्रोताहरुको भावनालाई पनि कदर गर्न सके अझै अग्रजको बिशाल हृदयको परिचय बन्ने थियो ।
प्रतिक्रिया दिनुहोस