असार १२, काठमाडौं । सडकमाथिबाट खसेको लेदोले पृथ्वी राजमार्ग अवरुद्ध भएको छ । बिहीबार बिहान २ः३० बजे सडक बालुवाखानीको लेदोले पुरिएपछि सडक अवरुद्ध भएको हो ।
धादिङको गल्छी गाउँपालिका–६ स्थित बैरेनीबजारबाट महेशदोभान बजारसम्मको एक किलोमिटर सडक अवरुद्ध भएको छ।
लेदो खसेपछि गएरातिदेखि नै सवारी आवागमन प्रभावित भएको छ । प्रहरीका अनुसार दुवैतर्फ सवारीको लामो लाम लागेको छ । कतिपय सवारी सडकमा खसेको लेदोमा समेत फसेका छन् ।
अवरुद्ध सडक सञ्चालनमा ल्याउन गाउँपालिका र बालुवा व्यवसायीले डोजर परिचालन गरेर काम गरिरहेको प्रहरीले जनाएको छ । यो क्षेत्रमा सडकभन्दा माथिबाट बालुवा निकाल्ने गरिएको छ । जसका कारण पटक–पटक सडक अवरुद्ध हुँदै आएको छ ।
राजमार्ग माथिबाट खनिएको सडक पनि समस्याका रुपमा खडा भएको स्थानीयको गुनासो छ । अव्यवस्थित रुपमा खनिएको सडकको लेदो सोझै सडकमा खस्दा यसअघि पनि सडक अवरुद्ध भएको थियो ।
प्रतिक्रिया दिनुहोस