प्रहरी तस्कर संग मिलेर नुनदेखि सुनसम्म सेटिङ


बैशाख १४, जनकपुरधाम । सीमा क्षेत्रमा सशस्त्रको टोली सक्रिय नहुँदा तस्करी बढेको छ। भन्सार कर्मचारी रमिते बनेपछि महिनाथपुर क्षेत्रमा तस्करहरू सलबलाइरहेका छन्। कर्मचारी र सुरक्षाकर्मीले बेवास्ता गर्दा सेटिङमा तस्करी हुने गरेको पाइएको छ। केही घटनाले त्यसको पुष्टि हुन्छ।

धनुषाको विदेह नगरपालिका—१ महिनाथपुरमा सशस्त्रको पोस्टभन्दा २० मिटर परको घरबाट जनकपुर भन्सार कार्यालयको टोलीले बुधबार १९ लाखभन्दा बढीको सामान बरामद ग¥यो। स्थानीय नवलकिशोर रायको घरमा तस्करी गरी भन्सार छली ल्याइएको कपडा, भाँडावर्तन, खाद्यसामग्रीसहितका ३२ वटा पोका बरामद भएको थियो। नजिकैको सशस्त्र प्रहरी पोस्ट अनभिज्ञ भयो।


तस्करले कुटपिटका लागि प्रयोग गरेको मोटरसाइकलको सकर देखाउँदै जनकपुर भन्सार कार्यालयका प्रमुख

गत चैत १५ गते भन्सारका केही कर्मचारी हंसपुर नगरपालिका—८ मा तस्करीको सामान नियन्त्रण गर्न पुगे। सशस्त्र प्रहरी बेसक्याम्प सोनीगामा भन्दा ५ सय मिटर दुरीमा मोटरसाइकलबाट तस्करीका सामान लगिरहेको समूहलाई कर्मचारीले रोके। चारजना मात्र रहेका भन्सार कर्मचारीलाई तस्कर समूहले घेराबन्दीमा पा¥यो। घरेलु हतियार देखाएर कर्मचारीलाई तर्साउँदै तस्करले सबै सामान लुटेर लगे। कर्मचारीले सामान लुटिँदै गरेको भिडियो मोबाइलमा कैद गर्नुबाहेक अरू केही गर्न सकेनन्। नजिकै रहेको सशस्त्र प्रहरी बेस क्याम्पमा खबर गरेको एक घन्टापछि दुईजना प्रहरी कर्मचारी आइपुगे। त्यतिन्जेलसम्म तस्करले कुलेलम ठोकेका थिए।

चैत अन्तिम साता धनुषाको देउरीमा भन्सार कार्यालयबाट कर्मचारी टोली तीन तहको घेराबन्दी गरी तस्कर नियन्त्रणमा खटियो। पहिलो तहमा भन्सार प्रमुख रामेश्वरकुमार मिश्र र अर्का कर्मचारी थिए। दोस्रो र तेस्रो तहमा १५ जनाभन्दा बढी कर्मचारी थिए। मोटरसाइकलमा रहेका तस्कर उल्टै कर्मचारीमाथि जाइलागे। थोरै संख्यामा रहेका तस्करमाथि कर्मचारी समूहले घेराबन्दी गरेपछि तिनीहरू मोटरसाइकल र सामान छाडेर भागे।

यी घटना प्रदेश २ को राजधानी जनकपुर र आसपासका क्षेत्रमा हुने गरेको तस्करीका नमुना हुन्। प्रहरीसँगको सेटिङमा नुनदेखि सुनसम्मको तस्करी भइरहँदा भन्सार कार्यालय निमुखा बनेको छ। लाखौं करोडौंका सामान भयबिना वारपार गर्ने तस्कर समूहलाई प्रहरी र भन्सार कर्मचारीले राम्ररी चिन्छन्। तर, उनीहरूलाई पक्राउ गर्ने आँट गर्दैनन्।

तस्करीका सामान छ्यापछ्याप्ती

भारतीय ब्रान्डका सुर्तीजन्य पानमसाला रजनीगन्धा र तुलसी जनकपुर बजार मात्र नभई प्रदेश २ मै छ्यापछ्याप्ती बिक्री हुन्छ। प्रत्येक किराना पसल, खुद्रा पसल, चिया पसल, पान पसलमा रजनीगन्धा र तुलसी किन्न सकिन्छ। नेपाली ४५ रुपयौँमा एक पुरिया बिक्री हुने रजनीगन्धा र तुलसीमा प्रतिकिलो ८८५ रुपैयाँ अन्तःशुल्क तोकिएको छ। त्यसैगरी ३० प्रतिशत भन्सार र १३ प्रतिशत कर गरी एक किलोका लागि करिब १७ सय रुपैयाँ भन्सार बुझाउनुपर्छ। भन्सार बुझाएर ल्याउँदा महँगो पर्ने भएकाले तस्करीको बाटो प्रयोग गरी रजनीगन्धा र सुर्ती भिœयाइन्छ।

नेपाली बजारमा दैनिक करोडौंको कारोबार हुने रजनीगन्धा र तुलसीको तस्करी हुँदा पनि प्रहरी प्रशासन मुकदर्शक छ। नेपालमा साल्ट ट्रेडिङबाहेक अन्य कम्पनीको नुन बिक्री गर्न पाइँदैन। जनकपुरधामका अधिकांश पसलमा विभिन्न भारतीय ब्रान्डका नुन बिक्री गर्न राखिएको हुन्छ। त्यसैगरी सीमापारिबाट खानेतेल, मसला, माछा र खाद्यान्न सामग्रीको जताततै बिक्री हुने गरे पनि प्रशासनको आँखा पुगेको छैन।

जहाँ प्रहरी त्यहींं तस्करी

जनकपुर भन्सार कार्यालयले धनुषामा सर्वाधिक तस्करी हुने स्थान पहिचान गरेको छ। कार्यालय प्रमुखको कार्यकक्षमै सबैले हेर्ने गरी तस्करीका मुख्य स्थान भनी नक्सा सार्वजनिक गरिएको छ।

उल्लिखित अधिकांश स्थान सशस्त्र प्रहरी बेस क्याम्प नजिक वा प्रहरी युनिट भएकै क्षेत्रमा छन्। तस्करी हुने मुख्य क्षेत्रमा खजुरी, महुवा बलहा हुँदै जनकपुरदेखि दक्षिण पूर्व अन्दाजी २२ किमि क्षेत्र छ। खजुरीमा सशस्त्र प्रहरी पोस्ट छ।

इटर्वा, खरियानी जनकपुरदेखि पूर्व अन्दाजी ७ किमि, दुहवी जनकपुरदेखि पूर्व अन्दाजी ९ किमि, तुल्सीयाही, फूलगामा जनकपुरदेखि दक्षिणपश्चिम अन्दाजी १५ किमि, महिनाथपुर जनकपुरदेखि दक्षिण पूर्व १० किमि र भडरिया जनकपुरदेखि दक्षिण पूर्व ८ किमि मुख्य तस्करीका स्थान हुन्। यी क्षेत्रहरुमा तस्करी नियन्त्रण गर्न सशस्त्र र नेपाल प्रहरीको युनिट परिचालित छ। तर यही क्षेत्रबाट सर्वाधिक तस्करी हुने गरेको छ।

नियन्त्रणभन्दा असुली बढी

सीमा क्षेत्रमा हुने अवैध गतिविधि र तस्करी नियन्त्रणकै लागि सशस्त्र प्रहरी पोस्ट छन्। धनुषामा यस्ता ६ वटा पोस्ट छन्। जिल्लाका खजुरी, महिनाथपुर, धनौजी, डेबडिहा, जटही र फूलगामामा सशस्त्र पोस्ट छन्। यी पोस्टमा प्रहरी निरीक्षकको कमान्डमा ३५ जनाको दरबन्दी छ। जसले सीमा सुरक्षा र तस्करी नियन्त्रणको अभिभारा बोकेको छ। त्यसैगरी चोरीपैठारी नियन्त्रणका लागि सशस्त्रका डिएसपीको कमान्डमा २५ जना प्रहरी जनशक्ति भएको भन्सार सुरक्षा बेस क्याम्पसमेत छ। तस्करी नियन्त्रणकै लागि नेपाल प्रहरीका युनिट पनि खटिएका हुन्छन्। यी सबै बन्दोबस्त हुँदाहुँदै पनि तस्कर सक्रिय छन्। प्रहरीलाई महिनावारीका हिसाबले रकम बुझाएर तस्करी गर्ने गरेको दाबी तस्करको छ।

भारतीय नम्बर प्लेटको मोटरसाइकलमा तस्करीको सामान सीमापारिबाट ल्याउँदै।

जनकपुर भन्सार कार्यालयको तथ्यांकअनुसार चालु वर्षमा सशस्त्र प्रहरी नेपाल बल भन्सार सुरक्षा बेसले पाँच लाख ९३ हजारको चोरीपैठारीको सामान नियन्त्रण गरेको छ। सशस्त्र प्रहरी पोस्ट र अन्य सबै निकायले ८९ लाख ८२ हजारको तस्करीको सामान बरामद गरेका छन्। नेपाल प्रहरीले २ करोड ९३ लाख १९ हजारभन्दा बढीको सामान बरामद गरेको छ। जनकपुर भन्सार कार्यालयले आफ्नो पहलमा तीन करोड ५ लाख ७८ हजारको मालवस्तु बरामद गरेको छ।

प्रहरीको तुलनामा भन्सार गस्ती टोलीले सर्वाधिक तस्करीका सामान नियन्त्रणमा लिएको छ। तस्करी नियन्त्रणकै लागि तैनाथ प्रहरीको आँखैअगाडिबाट तस्करीका सामान भिœयाउने गरिए पनि एकदुई मात्र पक्राउ पर्ने गरेका छन्।

असुरक्षित भन्सार कर्मचारी

सीमा क्षेत्रबाट तस्करीका सामान भित्रिने क्रम जारी रहे पनि सकिएजति नियन्त्रण गर्न नसकिएको जनकपुर भन्सार कार्यालयका प्रमुख रामेश्वर कुमार मिश्र स्विकार्छन्। मिश्र भन्छन्, ‘हामीसँग २० जनाको जनशक्ति छ। ८ जनाले कार्यालय छाड्न मिल्दैन। बाँकी कर्मचारीलाई लिएर सकेजति गस्ती गरिराख्या छु।’ सशस्त्र प्रहरी र नेपाल प्रहरीबाट तस्करी नियन्त्रण गर्न काम भइरहे पनि प्रभावकारी हुन नसकेको उनको भनाइ छ।

भन्सारका कर्मचारी पर्याप्त सुरक्षा समन्वय नहुँदा निकै जोखिमपूर्ण र असुरक्षित अवस्थामा गस्ती गर्न बाध्य रहेको मिश्र बताउँछन्। उनी भन्छन्, ‘छापा हान्न जाँदा चाहिएजस्तो सहयोग प्रहरीबाट नहुँदा हामी जोखिममा पर्ने अवस्था आइरहन्छ।’

मनिका झा/अन्नपुर्ण पोष्ट

१४ बैशाख २०७६, शनिबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको