संविधानको मर्म विपरीत बोल्ने नेताका विचार नितान्त निजी हुन्: नेता सिंह


चैत १३, ताप्लेजुङ । नेपाली काङ्ग्रेसका नेता प्रकाशमान सिंहले संविधानको मर्म र भावना विपरीत हिँड्ने आफ्ना पार्टीका जिम्मेवार नेताप्रति असन्तुष्टि जनाउनुभएको छ ।

जिम्मेवार नेताले संविधान विपरीत सङ्घीयता, गणतन्त्र र धर्म निरपेक्षताका विषयमा फरक विचार राख्दै हिँड्नुले पार्टी कमजोर अवस्थामा पुग्ने खतरा बढेको उहाँको भनाइ थियो ।

यहाँ आज आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा नेता सिंहले आफ्नै पार्टीको नेतृत्वमा बनेको संविधानमाथि नै प्रश्नचिह्न खडा हुने गरी पार्टीको विधान र निर्णय विपरीत नबोल्न आग्रह गर्नुभयो ।

पार्टीको महाधिवेशनले पारित गरेको विधान, नीति तथा कार्यक्रम नै पार्टीको आधिकारिक धारणा भएकाले संविधानको मर्म विपरीत बोल्ने नेताका विचार नितान्त निजी भएको उहाँले स्पष्ट पार्नुभयो ।

पार्टीको नेतृत्व कमजोर भएकाले पछिल्लो निर्वाचनमा पराजय बेहोर्नु परेको उहाँको तर्क थियो । पार्टीको विधान विपरीत नेतृत्वले एकलौटी गर्न खोजेकाले पार्टी कमजोर बनेको सिंहको भनाइ थियो ।

१३ चैत्र २०७५, बुधबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको