चैत १३, दाङ । रोल्पामा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका तीन नेता धरौटीमा रिहा भएका छन्।
२५ दिनअघि पक्राउ परेका तीन नेता जिल्ला अदालतको आदेशमा रिहा भएका हुन् । रिहा हुनेहरु रोल्पा नगरपालिका वडा नं. ४ निवासी लालबहादुर सुनार, गंगादेव गाउँपालिका निवासी टिकाराम परियार (कपिल), सुनिल स्मृति १ घोडागाउँका नेपेन्द्र सेन हुन् ।
जिल्ला न्यायाधीश रमेश प्रसाद ज्ञवालीको इजलासले उनीहरूलाई जनही ६० हजार धरौटीमा छोडेको हो । नेकपा स्रोतका अनुसार उनीहरु मंगलबार तारेखमा रिहा भएका हुन् ।
उनीहरूमाथि रोल्पाको सुनील स्मृति गाउँपालिकाको टावरमा आगजनी गरी क्षति पुर्याएको आरोप थियो । उनीहरू तीनै जनाविरूद्ध सार्वजनिक सम्पत्ति नष्ट गरेको अभियोगसम्बन्धी मुद्दा लगाइएको छ ।
रिहा भएका नेपाली नेकपा निकट दलित राष्ट्रिय मुक्ति मोर्चाको केन्द्रीय सदस्य, सेन सुनिल स्मृति गाउँपालिकाका सेक्रेटरी र परियार दलित मुक्तिमोर्चाको पूर्वजिल्ला अध्यक्ष हुन् ।
नेकपाका जिल्ला सेक्रेटरी सन्तोष सुवेदी ‘प्रयास’ले प्रहरीले तीन नेतालाई बिनाकारण पक्राउ गरेको भन्दै रिहाइको माग गर्दै आएका थिए । नेकपाले पक्राउ परेका नेता कार्यकर्ताको रिहाइको माग गर्दै फागुन २३ गते राप्ती बन्द गरेको थियो ।
देशैभरि नेकपाका कार्यकर्तालाई सरकारले खोजी गर्दै धमाधम पक्राउ गरिरहेको समयमा रोल्पामा नेकपाका कार्यकर्ताहरू धरौटीमा रिहा हुनुलाई राजनीतिक वृत्तमा अर्थपूर्ण रूपमा हेरिएको छ ।
धरौटीमा छुटेपछि लालबहादुर सुनारले भने अब कुनै पनि राजनीतिक गतिविधिमा नलाग्ने प्रतिवद्धतासहितको वक्तव्य सार्वजनिक गरेका छन् । आगामी दिनमा स्वतन्त्र जीवनयापन गर्ने सुनारद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
सुनारले सदरमुकाम लिबाङमा फोटो स्टुडियो चलाउदै आएका छन् । सुनारलाई विगतमा पनि प्रहरीले पक्राउ गरी अनुसन्धानको दायरमा ल्याएको थियो ।
विप्लवको पार्टीमाथि सरकारले प्रतिबन्ध लगाएपछि जिल्लामा नेकपाका नेता कार्यकतामाथि प्रहरीले निगरानी बढाएको छ । एनसेल टावरमा आगजनी प्रकरणमा करिब १५ जनाको नामविरुद्ध मुद्दा दायर भएको छ । प्रहरीले सबैको खोजी भइरहेको बताएको छ ।
प्रतिक्रिया दिनुहोस