चैत १३, काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका मोरङ जिल्ला इञ्चार्ज कृष्णकुमार श्रेष्ठ (प्रज्ज्वल) पक्राउ परेका छन् ।
श्रेष्ठलाई बुधबार मोरङको सुन्दरहरैचाबाट प्रहरीले पक्राउ गरेको हो । यद्यपि, प्रहरीले यसको औपचारिक पुष्टि गरेको छैन ।
प्रज्ज्वल माओवादी जनयुद्धको क्रममा लडाकु थिए । शान्ति प्रक्रियापछि काठमाडौं आएका उनी मिर्मिरे एफएमको समाचार शाखा प्रमुखसमेत बनेका थिए । पार्टी विभाजनपछि उनी मोहन वैद्य हुँदै विप्लव समूहमा लागेका थिए ।
दुई दिनअघि मात्रै प्रहरीले कोशी ब्युरो इञ्चार्ज घनश्याम श्रेष्ठ (पुष्कर)लाई पनि पक्राउ गरेको थियो । सरकारले गत फागुन २८ गते प्रतिवन्ध लगाएपछि विप्लव नेकपाका नेता–कार्यकर्ताहरु धमाधम पक्राउ पर्न थालेका छन् ।
पक्राउ परेकाहरूमध्ये हालसम्म उच्चस्तरको नेता भने मध्यकमाण्ड इञ्चार्ज हेमन्त प्रकाश ओली (सुदर्शन) हुन् ।
प्रतिक्रिया दिनुहोस