अब विमानस्थल दैनिक १० घन्टा बन्द हुने, यस्तो छ कारण


चैत १३, काठमाडौं । दैनिक २१ घन्टा सञ्चालनमा रहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल १८ चैतदेखि तीन महिना दैनिक १० घन्टा बन्द हुने भएको छ ।

फाइल तस्बिर 

यो खबर दिवाकर पन्तले आजको नयाँ पत्रिका दैनिकमा लेखेका छन् । धावनमार्गको पिच मर्मत गर्दा सञ्चालन अवधि १४ घन्टामा सीमित हुने विमानस्थलका प्रवक्ता प्रताप तिवारीले बताए । मर्मत गरिने अवधिभर विमानस्थल बिहान ८ बजेदेखि राति १० बजेसम्म मात्र खुला गर्ने तयारी छ । अहिले बिहान ६ बजेदेखि राति ३ बजेसम्म विमानस्थल सञ्चालन भइरहेको छ ।

दैनिक १० घन्टा विमानस्थल बन्द हुँदा करिब २० प्रतिशत उडान कटौती हुने प्रवक्ता तिवारीले बताए । ‘आन्तरिक र अन्तर्राष्ट्रिय दुवैमा गरी करिब २० प्रतिशत उडान कटौती हुने अवस्था छ,’ उनले भने, ‘पिच मर्मत गर्न विमानस्थल बन्द गर्नुपर्ने तथा खुला रहने समयमा पनि विमानस्थलको पार्किङ क्षमता तथा ह्यान्डलिङ क्षमतालाई ध्यानमा राखेर उडान तालिका बनाइएको छ ।’

विमानस्थलबाट अहिले दैनिक ३ सय ५० आन्तरिक र करिब १ सय अन्तर्राष्ट्रिय उडान भइरहेको छ । मर्मत अवधिभर भने नयाँ उडान तालिकाअनुसार दुवै गरी झन्डै ९० वटा उडान दैनिक कटौती हुने उनको भनाइ छ ।

एयर ट्राफिक बढ्ने सम्भावना

एयर ट्राफिक घटाउन गत जेठ ७ गतेदेखि त्रिभुवन विमानस्थलको सञ्चालन समय १८ घन्टाबाट बढाएर २१ घन्टा बनाइएको थियो ।

विमानस्थलको सञ्चालन समय बढाएसँगै एयर ट्राफिकमा कमी आउँदा यात्रुले सहज महसुस गरेका थिए । तर, फेरि विमानस्थलको सञ्चालन समय १४ घन्टामा खुम्चेपछि आकाशमा विमान घुमिरहनुपर्ने अवस्था निम्तिन सक्ने देखिएको छ । त्यसैले नेपालमा पर्यटकीय मौसम सुरु हुने समयमा विमानस्थलको सञ्चालन समय कटौती हुँदा त्यसको चाप उडानहरूमा पर्नेछ ।

एयर ट्राफिकको समस्या फेरि बल्झन गएमा त्यसले पर्यटकमा नकारात्मक छाप पर्ने नेपाल पर्वतारोहण संघका कोषाध्यक्ष सुदर्शन न्यौपानेले बताए । ‘पर्यटकीय सिजनकको तीन महिना मात्र अन्तर्राष्ट्रिय विमानस्थलको उडान कटौती हुँदा अन्तर्राष्ट्रिय स्तरमा राम्रो सन्देश जाँदैन,’ उनले भने, ‘नेपालमा आएका पर्यटकलाई पनि तालिकाअनुसार गन्तव्यमा पुर्‍याउन कठिन हुन सक्छ ।’

विमानस्थलले अप्रिल १ अर्थात् चैत १८ गतेदेखि लागू हुने गरी नयाँ तालिका स्वीकृति गरिसकेको छ । नयाँ तालिकाअनुसार कनेक्टिङ फ्लाइटको तालिका नमिल्ने केही विमान कम्पनीहरूले आफ्नो नेपाल उडानका केही संख्या कटौती गरिसकेका छन् । उडान हुने समयको चाप र विमानस्थलको क्षमतालाई ध्यान दिएर सकेसम्म बढी उडानको तालिका मिलाएको त्रिभुवन विमानस्थले जनाएको छ ।

उडानको सुरक्षालाई मुख्य प्राथमिकतामा राखेर उडानको संख्या निर्धारण हुने गरेकाले केही उडान बाध्य भएर कटौतीमा परेको विमानस्थलले जनाएको छ । विमानस्थलको उडान अवधि नै छोटिएपछि आन्तरिक र अन्तर्राष्ट्रिय सेवाका केही उडान स्वाभाविक रूपमा कटौतीमा गएका हुन् ।

तीन महिनासम्म पिच मर्मत हुने

विमानस्थलमा रहेको तीन किलोमिटर लामो एक मात्र धावनमार्ग मर्मत गर्न तीन महिना लाग्नेछ । हरेक दिन राति १० बजेदेखि बिहान ८ बजेसम्म धावनमार्ग पिच मर्मत हुनेछ ।

सो अवधिभित्र अहिले भइरहेको पिचको निश्चित भाग भत्काइने र नयाँ पिच राखेर बिहान उडान सञ्चालनयोग्य बनाइने विमानस्थलले जनाएको छ । देशको एक मात्र अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग २१ घन्टासम्म निरन्तर सञ्चालन हुँदा चाप बढेका कारण पिच उप्काएर नयाँ पिच लगाउन सेड्युअलअनुसार नै काम अघि बढाइएको हो ।

१३ चैत्र २०७५, बुधबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको