कमल थापाको गीतिसंग्रह ‘मेरो प्यारो नेपाल’ आयो, एउटै गीत सात भाषामा ।


फागुन ११, काठमाडौं । राप्रपा अध्यक्ष समेत रहनु भएका गीतकार कमल थापाले रचना गर्नुभएको गीतिसंग्रह “मेरो प्यारो नेपाल” को आज लोकार्पण भएको छ । राजधानीको हिमालचुली कल्चरल सेन्टरमा आयोजित कार्यक्रममा विभिन्न श्रष्टाबाट संयुक्तरूपमा गीतिसंग्रहको विमोचन भएको हो ।

गीतिसंग्रहको शिर्ष गीतको रुपमा रहेको “जहाँ म जन्मे जहाँ हुर्की बढें, त्यहि माटो पानी मेरो भूस्वर्ग” बोलको गीत विभिन्न सातवटा भाषामा रेकर्डिङ भइ आज सार्वजनिक गरिएको छ । संगीतकार शम्भुजीत बाँस्कोटाको संगीत रहेको गीतकार कमल थापाको गीतिसंग्रहमा नेपाली भाषामा गायक राजसागर, नेवारी भाषामा अमला महर्जन, मैथिलीमा मेचु धिमाल, भोजपुरीमा हरिशंकर चौधरी, लिम्बू भाषामा खगेन्द्र याक्सो, तामाङ भाषामा टीका बम्जन र थारु भाषामा हरिशंकर चौधरीको गायन रहेको छ ।

कार्यक्रममा बोल्नु हुँदै गीतकार कमल थापाले विभिन्न सातवटा भाषामा गीतिसंग्रह सार्वजनिक हुन सकेकोमा प्रसन्नता व्यक्त गर्नुहुँदै यसबाट सांगीतिक क्षेत्रमा सानो रुपमै भएपनि योगदान पुग्न सके आफूलाई सन्तोष मिल्ने उल्लेख गर्नुभयो । श्रष्टाहरु रोयल्टीको मारमा परिरहेको अवस्थाको अन्त्य हुनुपर्ने बताउनु हुँदै उहाँले नेपाली गीत संगीतको समग्र विकासका लागि आफू सदैव चिन्तित रहेको उल्लेख गर्नुभयो । राष्ट्रिय प्रजातान्त्रिक सांस्कृतिक संगठनले आयोजना गरेको कार्यक्रममा गीतकार भुवन पाठक, भक्ति सिटौला र राजेश गिरीको एल्बम समेत लोकार्पण गरिएको छ, यसैगरी जहाँ छन् बुद्धका आँखा लगायत कैयन गीतका गीतकार डा.बमबहादुर थापा जितालीलाई सम्मान समेत गरिएको थियो ।

२०७५ फाल्गुन १५,बुधबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको