संसदमा सरकारलाई कांग्रेसको प्रश्न: विप्लवको समूह राजनीतिक की आतंककारी ?


फाल्गुन १५, काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले विप्लव समूहको पार्टीप्रतिको सरकारको धारणा माग गरेको छ। बुधबार बसेको राष्ट्रियसभाको बैठकको विशेष समयमा बोल्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद जितेन्द्र नारायण देवले विप्लव समूह राजनीतिक पार्टी हो वा आतंककारी समूह भन्ने सम्बन्धमा धारणा सार्वजनिक गर्न सरकार र सत्तारुढ दलसंग माग गरेका छन्।

विप्लवका गतिविधिलाई सतही रुपमा आँखा चिम्लिएर हेर्ने हो भने नेपाल ठूलो राजनीतिक द्वन्द्वमा फस्ने भन्दै उनले तत्काल धारणा स्पष्ट पार्न सरकारको गम्भीर ध्यानाकर्षण गराए। उनले भने, ‘सरकार र सत्ताधारी पार्टी भएको नाताले नेकपाले विप्लबको पार्टी प्रतिको दृष्टिकोण के हो ? विप्लवको पार्टी एउटा आंतकवादी पार्टी हो कि ? विप्लवको पार्टी राजनीतिक हो कि ? विप्लवको राजनीतिक काम कारवाही आतंकवादी हो कि के हो ? के निष्कर्ष हो ? नेपाल सरकार र नेकपाको ? विप्लव समुहलाई विप्लवको पार्टीलाई हेर्ने दृष्टिकोण के हो ? अबिलम्ब म माग गर्न चाहन्छु सरकार र नेकपाको दृष्टिकोण के हो यो आउनुपर्छ।’

फागुन १० गते राजधानीको नख्खुस्थित एन सेलको केन्द्रीय कार्यालय सहित मुलुकका २१ स्थानमा एकै समय पारेर बम विस्फोट गराईएको घटनालाई ईकित गर्दै उनले यसलाई सामान्य नलिन ध्यानाकर्षण गराए।

पूर्व गृहमन्त्री समेत रहेका जनार्दन शर्माले संघियताको सन्दर्भमा उठाएका प्रश्न, संक्रमणकालिन न्यायको बारेमा मुलुकको राजनीति तातेका बेला नेकपाका अध्यक्ष पुष्पकमल दाहलले संविधान कार्यान्वयन नभए, संक्रमणकालिन न्यायको सम्पादन राम्रो संग नभए, यो देशमा अर्को माओवादी जन्मिन सक्छ भनेर उद्घोष गरेको भोलीपल्ट यस्तो घटना भएको भन्दै उहाँले यो के संयोग र के कागतालि हो ? भनी प्रश्न गरे। फेरी पनि नेपाली राजनीतिमा एउटा हिंसा र द्धन्दको काल पल्कन थालेको भन्दै उहाँले घटनालाई गम्भीर रुपमा लिन सरकारको ध्यानाकर्षण गराए।

सरकार र सत्तारुढ दलले घटनालाई सतही रुपमा लिने काम भए, त्यसले नेपाली राजनीतिलाई अत्यन्तै दुखद अवस्थामा रुपान्तरण गर्ने चेतावनी उनले दिए। फेरी राजनीतिमा हिंसा र आतंक प्रवेश गर्न खोजेको भन्दै उनले यस कार्यलाई गम्भीर ढंगले लिन सरकार र सत्तारुढदलको ध्यानाकर्षण गराए।

राज्यलाई कर नतिर्ने एनसेलको बचाउ गर्दै उनले भने विदेशीको लगानी भएको कम्पनीमाथि आक्रमण भएको भन्दै त्यसले नेपालमा लगानी गर्न आउने लगानीकर्तालाई लखेट्ने, विमुख बनाउने, आतंकित बनाउने र अन्तत आर्थिक रुपले राष्ट्रघात गर्ने नियोजित षडयन्त्र अनुरुप भएको टिप्पणी उनले गरे।

उनले हिंसात्मक कम्युनिष्ट आन्दोलनको आत्मसमिक्षा गर्नुपर्ने आवश्यकता औल्याए। उनले भने, ‘बारम्बार नेपाल कम्युनिष्ट आन्दोलन भित्र सत्ताको नालबाट मात्रै शासन आउछ भन्ने सिद्धान्त कम्युनिष्ट आन्दोलन भित्र मात्रै किन आउँछ ? जहिले पनि हिंसा र आन्दोलन भित्रको एउटा तप्काले सधै बन्दुक र बारुदको कुरा किन गर्छ ?’

उनले ‘समाजको रुपान्तरण हिंसा र हिंसात्मक गतिविधिबाट होइन। शान्तिपुर्ण र लोकतान्त्रिक तरीकाले जनताको मन जितेर सामाजिक परिर्वतन गर्न सकिन्छ भन्ने सिद्धान्तलाई कम्युनिष्ट आन्दोलन भित्र स्थापित किन नगर्ने ? भनी प्रश्न गरे।’

तात्कालिन नेता मदन भण्डारीले जनताको बहुदलिय जनवादको सिद्धान्तलाई अघि बढाएको स्मरण गर्दे उहाँले अहिलेको नेकपाको नेतृत्व सैद्धान्तिक अन्यौलको भुमरीमा परेको दाबी गरे। शान्तिपुर्ण तरिकाले नेपालमा सामाजिक रुपान्तरण गरिनुपर्ने भन्दै उनले त्यसबारे कम्युनिष्ट आन्दोलन र नेतृत्वले आफ्नो धारणा सार्वजनिक गर्नुपर्ने बताए।

उनले अहिले पनि मुलुकमा राजनीतिक समस्या सम्बोधन नभएको भन्दै संविधान संसोधन गरेर राजनीतिक दलहरुलाई एकठाउमा ल्याई आतंकवादी तथा हिंसात्मक गतिविधिलाई निमिट्यान्न पार्ने गरि योजनवद्ध ढंगले अघि बढ्न सरकारको ध्यानाकर्षण गराए।

१५ फाल्गुन २०७५, बुधबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको