भारत–पाकिस्तान युद्धको असर अन्तर्राष्ट्रिय विमानस्थलसम्म पर्यो


फागुन १५, काठमाडौं । भारत र पाकिस्तानको जारी युद्धका कारण काठमाडौंबाट उडान हुनुपर्ने कतार एयरवेज र टर्किस एयरलाइन्सका जहाज काठमाडौंमै रोकिएका छन्।

बिहान ११: ३० मा हुनुपर्ने कतार एयरवेजको उडान अझैसम्म हुन नसकेको हो। कतारको क्युआर ६५३ उडान हुन नसकेको हो। कतार एयरवेजको ए३३० सिरिजको जहाज त्रिभुवन अन्तरार्ष्ट्रिय विमानस्थल पार्किंगमा छ।

यसैगरी टर्किस एयरलान्यसको टीके ७२७ उडान पनि निर्धारित समयमा हुन सकेको छैन। सो उडान त्रिभुवन अन्तरार्ष्ट्रिय विमानस्थलबाट १२:३० मा हुनुपर्ने थियो। एयरबस ३३३ विमान उडान अनुमति पर्खेर बसेको छ।

दुवै वायु सेवा कम्पनीका यात्रुहरु त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमै छन्। पाकिस्तानले भारतको बाटो हुँदै आफ्नो आकाशेमा प्रवेश गर्न निषेध गरेपछि नेपालबाट भारत, पाकिस्तान हुँदै उड्नु पर्ने कतार र टर्किसको उडान प्रभावित भएको हो।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल एयर ट्राफिक कन्ट्रोल स्रोतका अनुसार यी विमानहरुलाई वैकल्पिक रुटबाट पठाउने तयारी भइरहेको छ। तर उडान समय निश्चित भइसकेको छैन।

यसैबीच भारत पाकिस्तान तनावका कारण भारतका पाँचवटा एयरपोर्टमा सर्वसाधारणको उडान प्रभावित भएको छ । भारतको श्रीनगर, जम्मु, लेह, अमृतसर र चण्डीगढ एयरपोर्टको उडान प्रभावित भएको हो ।

भारतीय युद्धक बिमानले मंगलबार बिहान ३: ३० बजे पाकिस्तान प्रशासित जम्मु कस्मिर भूभाग प्रवेश गरी आक्रमण गरेका थिए। त्यसको बदलामा पाकिस्तानी युद्धक बिमानले बुधबार भारतीय सीमाभित्र प्रवेश गरी आक्रमण गरेका छन्। दुई वटा भारतीय बिमान खसालेको पाकिस्तानले दाबी गरेको छ।

२०७५ फाल्गुन १५,बुधबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको