हेलिकोप्टर दुर्घटनाको कारणबारे गृहमन्त्रालयले दियो यस्तो प्रतिक्रिया


 

फागुन १५, काठमाडौं । पर्यटनमन्त्री रवीन्द्र अधिकारीसहित ७ जनाको मृत्यु हुने गरी ताप्लेजुङमा भएको हेलिकोप्टर दुर्घटनाको खराब मौसमका कारण भएको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।

सिंहदरबारस्थित गृहमन्त्रालयमा आकस्मिक पत्रकार सम्मेलन गर्दै गृहप्रवक्ता रामकृष्ण सुवेदीले खराब मौसमका कारण दुर्घटना भएको बताएका हुन् ।

‘स्थानीय प्रशासनले दिएको जानकारी अनुसार ताप्लेजुङको पाथिभरा मन्दिर दर्शन गरेर फर्किने क्रममा डेढ किलोमिटर वर आइपुग्ने वित्तिकै दुर्घटना भएको हो’, सुवेदीले भने ।

उनका अनुसार तेह्रथुमको चुहानडाँडामा आयोजित एक कार्यक्रममा सहभागी भएर मन्त्री अधिकारीसहितको टोली पाथिभरा दर्शनका लागि गएको थियो । हाल मन्त्री अधिकारीसहित हेलिकोप्टरमा सवारी ७ जनाकै शव भेटिएको उनले बताए ।

दुर्घटनामा परि हेलिकोप्टरमा सवार मन्त्री अधिकारीसहित प्रधानमन्त्रीका निजी सचिव युवराज दाहाल, यति एयरलाईन्सका अध्यक्ष आङछिरिङ शेर्पा, नेपाल नागरिक उड्डयन प्राधिकरणका उपमहानिर्देशक विरेन्द्र प्रसाद श्रेष्ठ, नेपाल नागरिक उड्डयन प्राधिकरणका इन्जिनियर ध्रुबदास भोछिभया, मन्त्री अधिकारीका पिएसो अर्जुनकुमार घिमिरे र क्याप्टेन प्रभाकर केसीको निधन भएको सुबेदीले जानकारी दिए ।

उनका अनुसार मन्त्री अधिकारी र उनका पीएसओ सेनाका जमदार अर्जुन घिमिरको शव पहिचान भएको छ । अन्यको भने शव पहिचान भएको छैन ।अहिले

घटनास्थलमा सेनाको एमआई १७, सिम्रिक र डाइनेष्टीका एक–एकवटा हेलिकोप्टर गएको तर अवतरण गर्न नसकेको समेत प्रवक्ता सुवेदीले बताए । घटनास्थल निकै भिरालो र अप्ठ्यारो ठाउँमा भएकोले उद्धारका लागि करिब २ घण्टा लाग्ने समेत प्रवक्ता सुवेदीले बताए ।

 

२०७५ फाल्गुन १५,बुधबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको