पाकिस्तानले भारतका दुई लडाकू विमान खसाल्यो


फागुन १५, इस्लामाबाद । पाकिस्तानी वायुसेनाको विमानले भारतीय लडाकु विमानलाई खसालेको छ । बुधबार पाकिस्तानी वायुसेनाको कारवाहीमा भारतीय लडाकु विमान खसालिएको पाकिस्तानी सञ्चारमाध्यमले दावी गरेका छन् ।

बुधबार बिहान भारत प्रशासित जम्मु कश्मीरको बडगाम नजिकै भारतीय वायुसेनाको विमान खसेको थियो ।

भारतीय सञ्चारमाध्यमले उक्त विमान प्राविधिक खराबीका कारण दुर्घटना भएको दावी गरिरहँदा पाकिस्तानी सञ्चारमाध्यमले भने उक्त विमान पाकिस्तानी वायुसेनाको कारवाहीमा खसालिएको दावी गरेका छन् ।

पाकिस्तानी सेनाका प्रवक्ता मेजर जनरल आसिफ गफुरले ट्वीट गर्दै पाकिस्तानी वायु सेनाले पाकिस्तानी एयर स्पेसमा प्रवेश गरेका दुई भारतीय लडाकु विमान खसालेको दाबी गरेका हुन् ।

मेजर जनरल आसिफ गफूरले ट्विट गर्दै लेखेका छन्, “आज बिहान पाकिस्तानी वायु सेनाको आक्रमणको जवाफमा भारतीय वायु सेनाले भारत-पाक नियन्त्रण रेखा (एलओसी) पार गर्‍यो। पाकिस्तानी वायु सेनाले पाकिस्तानी एयरस्पेसभित्र दुई भारतीय विमान खसाल्यो । एक विमान आजाद जम्मू काश्मीरमा खस्यो, अर्को भारत स्वशासित काश्मीरमा । एक भारतीय पायलटलाई गिरफ्तार गरिएको छ ।”

काश्मिरको बडेगामबाट ७ किलोमिटर टाढाकाे गाउँमा विमान खसेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । उक्त विमान दुर्घटनामा दुई जना पाइलटको ज्यान गएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

मिग २१ ले श्रीनगर बिमानस्थलबाट उडान भरेको थियो । उडान लगत्तै ठूलो आवाजसहित बिमान पड्कियो र खेतमा खस्यो । त्यसलगत्तै आगो दन्केको प्रत्यक्षदर्शीहरुले बताएका छन् ।अहिले श्रीनगर बिमानस्थलबाट उडान र अवतरण बन्द गरिएको छ ।

आजतक लगायत सञ्चारमाध्यमले पाकिस्तानी लडाकु विमान भारतीय क्षेत्रमा आएको जनाएका छन् । ती सञ्चारमाध्यमअनुसार पाकिस्तानी विमानले भारतीय क्षेत्रमा विस्फोटक खसालेको दावी पनि गरेका छन् ।

उता, पाकिस्तानी च्यानल एआरवाईका अनुसार पाकिस्तानी वायुसेनाले दुईवटा भारतीय विमानलाई लक्षित गरी आक्रमण गरेको छ । भारतीय क्षेत्रमा दुर्घटना भएको भनिएको भारतीय वायुसेनाको विमान पाकिस्तानी आक्रमणमा खसालिएको पनि सो च्यानलले दावी गरेको छ ।

पाकिस्तानी सञ्चारमाध्यमका अनुसार एउटा भारतीय विमान बडगाममा र अर्को विमान पाकिस्तानी सीमा क्षेत्रमा खसालिएको हो । यता, भारतले पनि पाकिस्तानी विमानलाई खसालेको दावी गरेको छ ।

नियन्त्रण रेखाका विभिन्न क्षेत्रमा भारत र पाकिस्तानका सुरक्षाकर्मीबिच गोली हानाहान भएको छ । सीमा क्षेत्रको कश्मीरसँग जोडिएको नियन्त्रण रेखामा लागु भएको युद्ध विराम उल्लंघन गरेको आरोप भारत र पाकिस्तानले एक अर्कामाथि लगाएका छन् ।

मंगलबार बेलुका भारतले पाकिस्तानको भुमिमा गरेको आक्रमण परी भारतीय सुरक्षाकर्मीको गोली लागेर चारजनाको ज्यान गएको भारतीय सञ्चारमाध्यमले दाबी गरेका छन् । उक्त घटनामा भारतीय सेनाको गोली लागेर तीन महिला र एक बच्चा मृत्यु भएको हिन्दीले उल्लेख गरेको छ।

तर भारतको आक्रमणको पाकिस्तानले खण्डन गरेको छ । भारतले पाकिस्तानी भूमिमा बम खसालेर तीन सयभन्दा बढी विद्रोहीको हत्या गरेको दाबीको खण्डन गर्दै पाकिस्तानले भारतलाई उचित जवाफ दिने चेतावनी दिएको थियो । पाकिस्तानी प्रधानमन्त्री इमरान खानले भारतीय लडाकु विमानले आफ्नो भूभागमा आक्रमण गरी विद्रोही मारेको भन्ने दाबीलाई ‘मनगढन्ते’ संज्ञा दिएका छन् । उनले विद्रोही मारिएको भारतीय दाबी अस्वीकारसमेत गरे ।

२०७५ फाल्गुन १५,बुधबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको