खुलालु पुल निर्माण सुरु भएको ९ बर्ष बित्दा २५ प्रतिशत मात्र काम सम्पन्न


खडक बिश्वकर्मा/माघ १३ कालिकोट । कालिकोट जिल्लाको नरहरीनाथ गाँउपालिका स्थित खुलालु पुल निर्माण सुरु भएको ९ बर्ष बित्दा २५ प्रतिशत मात्र काम सम्पन्न भएको छ ।

२०६७ सालदेखी निर्माण सुरु भएको उक्त पुल निर्माण व्यवसायी र डिभिजन सडक कार्यालय जुम्लाको चरम लाप्रबाहीका कारण हालसम्म २५ प्रतिशत मात्र कार्य सम्पन्न भएको हो ।

२०६७ सालमा ठेक्का लिएको कन्काई नेपाल प्रगति जेभीले तीन बर्ष भित्र उक्त पुलको निर्माण सम्पन्न गर्ने समय थियो । तर उक्त समयमा नेपाल प्रगति निर्माण सेवाले सामान्य पुल आसपासको सडकमा माटो पन्छाएर ५० लाख रुपैया पेक्सी लिई फरार भयो ।

कन्काई र नेपाल प्रगति जेभीको सयुक्त ठेक्का भएकाले मुख्य फर्म कन्काई निर्माण सेवा समेत कालोे सुचीमा पर्ने भएपछि २०७३ सालमा आएर कामको पुन सुरुवात गरियो । तर कछुवाको गतिमा भईरहेको निर्माणले हालसम्म पनि निर्माणको प्रगति २५ प्रतिशतमै सीमीत छ ।

झण्डै दुई पटक त उक्त पुलको सिलान्यास मात्र गरियो । पुल निर्माणका लागि सम्बन्धित निकायले त्यति चासो देखाएन । खुलालु पुलको निर्माणको जिम्मा लिएको सहयोगी फर्मले निर्माण नगरेपछि कालो सुचीबाट जोगिन मुख्य फर्म कन्काई जेभीका प्रतिनिधिहरु नै स्थलमा आएर पुलको निर्माण सुरु भएको छ । पुलको साईटमा रहेका निर्माण व्यवसायीका प्रतिनिधि दिपक मैनालीले पुल निर्माण कार्य पुरा गर्न अझै एक बर्ष लाग्ने जानकारी दिए ।

उनले अहिले पुलको दुवै साईडका पिल्लर हाल्नका लागि फाउण्डेशन गरिसकेको बताउदै अबको एक हप्ताभित्र पिल्लरको काम सुरु हुने बताए । उनले पुलको डिजाईन नै परिवर्तन गर्नु पर्ने भएकाले सडक बिभागले समयमै डिजाईन सच्याएर नदिएको बताउनुभयो । कुल १२ करोडको लागतमा निर्माण भईरहेको उक्त पुलको ४ करोड बराबरको काम भईसक्दा पनि आफुलाई पेक्सी समेत नदिएको निर्माण व्यवसायी मैनालीले बताए ।

यता सडक डिभिजन कार्यलय जुम्लाका प्रमूख दिपेन्द्र पाण्डेले हालसम्म उक्त पुलको करीव २५ प्रतिश मात्र काम भएको र पुलका दुवै साईडका पिल्लरहरु हालिसकेपछि मात्र ठेक्काको म्याद थपको प्रक्रिया सुरु हुने बताए ।

उनले भने- ‘पहिलेको तुलनामा यस बर्ष कामले गति लिएको छ । जति सक्दो छिटो पुल निर्माण गर्न निर्माण व्यवसायीलाई ताकेता गरिरहेका छौ ।’, कर्णाली राजमार्ग अन्तगरत पर्ने जुम्ला सुर्खेत राजमार्गसँग जोडिएको कर्णाली करिडोरको पहिलो नाकाको पुल निर्माणमा ढिलाई हुँदा कर्णाली करिडोर निर्माण कार्य पनि प्रभावीत बनाएको छ ।

जिल्लाको रास्कोट नगरपालिका प्रमूख कासीचन्द्र बरालले खुलालु पुल निर्माण ढिलाई हुँदा स्थानिय तहलाई विकासका सामान तथा अन्य यातायातमा असहज भएको बताए ।

कर्णाली करिडोरको सुरुवातको पुल निर्माणमा भईरहेको ढिलाईले कर्णाली करिडोरको माथिल्लो भागसम्म निर्माण सामाग्री ढुवानी गर्न समस्या परिरहेको नेपाली सेनाले जनाएको छ ।

२०७५ माघ १३,आईतवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको