भारतबाट आयात हुने तरकारीले गर्दा किलोकाे २ रुपैयाँमा पनि बिक्री नभएपछि तरकारी खेतीमै डोजर


माघ १३, भरतपुर । नेपाल देश कृषि प्रधान देशको रुपमा लिइन्छ तर कृषकको उत्पादनले मूल्य नपाउदा भएको जमिन पनि बाँझो रहने अबस्था छ ।आफूले उत्पादन गरेको तरकारीले मूल्य नपाएपछि खैरहनी नगरपालिका–६, तुलसीपुरका पुरन महतोले शुक्रबार बन्दाकोभी र मुला खेतमै डोजर लगाएका छन् । बजारमा प्रतिकेजी ३० रुपैयाँ मूल्यमा बिक्री भइरहेको बन्दाकोभी र १५ रुपैयाँ पर्ने मुला व्यापारीले प्रतिकेजी दुई रुपैयाँमा पनि नलगेपछि नष्ट गर्नुपरेको उनको भनाइ छ ।

लगानी र मिहिनेत नै नउठ्ने भएपछि १६ कट्ठा क्षेत्रफलमा लगाएको बन्दा र मुलाखेती नष्ट गरेको महतोले बताए । ‘आफूखुसी पैसा दिएर तरकारी लैजानूभन्दा पनि व्यापारीले तरकारी उठाएनन्, त्यसैले बाध्य भएर डोजर लगाउनुपर्‍यो,’ उनले भने ।

तरकारीले किन बजार पाएन ?

पछिल्लो समय भारतबाट अत्यधिक परिमाणमा तरकारी आयात हुने गरेका कारण नेपालका किसानले उत्पादन गरेको तरकारीले बजारमूल्य पाउन सकेको छैन । अहिले बन्दा र मुला उत्पादन हुने सिजन हो । किसानले आफ्ना घरका करेसाबारीमा खेती गरेकाले पनि बन्दा र मुलाले बजार नपाएको किसानहरूको भनाइ छ । घरघरमै उत्पादन हुने भएकाले पनि अहिले बन्दा र मुला बजारमा कम बिक्री हुने गरेको छ । ‘हामीले उत्पादन गरेको तरकारी लिनै मान्दैनन्,’ महतोले भने, ‘तरकारीको आयात बढ्दै गएका कारण हाम्रो उत्पादनले बजार पाएको छैन ।’

१० लाख घाटा, अझै १० कट्ठामा डोजर लगाउने तयारी

बजारमूल्यभन्दा १५ गुणा कम मूल्यमा पनि बिचौलियाले तरकारी नउठाएको उनले गुनासो गरे । उत्पादन भएको तरकारी बजार पठाउन नपाएका कारण १० लाख मूल्यबराबरको घाटा लागेको महतोले जानकारी दिए ।

मल, बीउ, सिँचाइ, औषधि र श्रमशक्ति खर्च गरेर उत्पादन गरेको तरकारी न्यूनतम मूल्यमा लैजानुभन्दा पनि व्यापारीले लैजान नमानेको उनले बताए । महतोले जग्गा भाडामा लिएर तरकारीखेती लगाउँदै आएका छन् । ‘अहिलेसम्म यस्तो अवस्था आएको थिएन,’ उनले भने, ‘विकल्प नभएपछि तरकारी नष्ट गरेँ ।’

उनले पाँच बिघा क्षेत्रफलमा तरकारीखेती गर्दै आएका छन् । उनको जग्गा १६ कट्ठा मात्र छ । बाँकी जमिन भाडामा लिएर तरकारीखेती गर्दै आएका छन् । उनले २६ कट्ठामा बन्दा र मुला लगाएका छन् । बजारमूल्य दिन व्यापारी आउँछन् कि भनेर १५ दिनसम्म कुर्दा पनि नआएपछि डोजर लगाएको उनको भनाइ छ । खेतबाट व्यापारीले तरकारी नउठाएपछि महतो काठमाडौंको कालीमाटी तरकारी बजारमा पनि पुगे । त्यहाँ पनि बन्दा, मुला र भान्टा लिँदैनौँ भनेपछि निराश भएर घर फर्केको उनले बताए । महतोले बन्दाकोभी, काउली, भान्टा, केराउ, खुर्सानी, आलु र राजमा लगाएका छन् । सबै तरकारी बजार पठाउने वेला भइसकेको छ । मौसमअनुसारका अरू तरकारी लगाउने वेला हुँदा पनि बिक्री नभएपछि नष्ट गरेको उनले बताए । अब बोडी, करेला र घिरौँलाखेती गर्ने महतोले सुनाए ।

-नया पत्रिकाबाट

२०७५ माघ १३,आईतवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको