काम नगर्ने ठेकदारलाई कारबाही नभए आफैं आएर अनशन बस्छु: प्रचण्ड


मंसिर १०, काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मधेसमा विकास निर्माणको काम समयमा पूरा नगर्ने निर्माण व्यवसायीविरुद्ध आफू अनसन बस्न पनि तयार रहेको बताएका छन् ।

नेकपा प्रदेश २ ले बाराको निजगढमा मंगलबार गरेको कार्यक्रममा उनले समयमा विकास निर्माणको काम पूरा नगर्ने ठेकदारलाई कारबाही गर्न सरकारलाई आग्रह गर्ने र कारबाही नभए आफैं आएर अनशन बस्ने बताएका हुन् ।

‘यदि ठेकदारले युद्धस्तरमा काम गर्दैन भने तिनलाई के कारबाही गर्नुपर्ने म सरकारलाई भन्छु । यदि सरकारले सुन्न गाह्रो पर्‍यो भने म नै अनसनमा बसेर भए पनि तपाईहरुको साथमा रहने छु’ उनले भने ।

मधेससँग आफ्नो लभ परेको दोहोर्‍याउँदै उनले लभरलाई दुख दिनेविरुद्ध आफैं लड्ने प्रचण्डले बताए ।

कार्यक्रममा उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले तराई मधेसका जनताको विकास र समृद्धिको यात्रामा ध्यान केन्द्रित गर्ने जिम्मेवारी सरकार र पार्टीको भएको भन्दै यो प्रक्रियामा अवरोध आउन नदिने बताए ।

उनले बारा, रौतहट, सर्लाहीका खेतमा पानीको अभाव हुन नदिने, सुनकोशी कमला डाइभर्सन आयोजनाबाट सप्तरी, सिराहा र धनुषाको सिञ्चाई समस्या समाधान गर्ने पनि बताए । हुलाकी राजमार्गलाई निर्धारित समयमा निर्माण सक्न रकमको अभाव हुन नदिने पनि रक्षामन्त्री पोखरेलले बताए ।

१० मंसिर २०७६, मंगलवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको