प्रचण्डलाई बाबुरामको प्रश्‍न : के तपाईं ‘डुप्लिकेट’ माओवादी हो ?


कार्तिक ०९, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को अभिव्यक्तिमाथि उनकै पूर्वसहयोद्धा डा.बाबुराम भट्टराईले प्रश्न गरेका छन्। मोरङमा शुक्रबार आयोजित शुभकामना आदान प्रदान कार्यक्रममा प्रचण्डले मदन भण्डारीसँगको आफ्नो सम्बन्धबारे दिएको अभिव्यक्तिप्रति टिप्पणी गर्दै बाबुरामले यस्तो प्रश्न गरेका हुन्। सामाजिक सञ्जालमा सक्रिय बाबुरामले ट्विटरमार्फत् प्रचण्डलाई प्रश्न गरेका हुन्।

भट्टराईले ट्वीटमा प्रचण्डलाई दोहोरो चरित्रको नेता भएको आरोपसमेत लगाएका छन्। उनले माछा देखेभित्र हात सर्प भए बाहिर हात कहिलेसम्म भन्दै ‘प्रचण्डको विरोध गरेका हुन्।

‘पुष्पलाल ओरिजनल नभएपछि उनका राजनीतिक सन्तान पनि हुने कुरा भएन ! आखिर तपाईंको ओरिजनल र डुप्लिकेट अवतार कसरी चिन्ने ?’, बाबुरामले ट्विटमा लेखेका छन्,’आफूलाई चौ म को मदन भण्डारी पनि भन्न भ्याउनुभएछ, पछि मदन र म सानैमा छुट्टिएका एउटै आमाका सन्तान पनि भन्ने हो कि? यसरी माछा देखेभित्र हात सर्प भए बाहिर हात कहिलेसम्म ?’

सँगै प्रचण्डको आफू ‘ओरिजनल माओवादी होइन’ भन्ने अभिव्यक्तिमाथि डा.भट्टराईले ‘तपाईं डुप्लिकेट माओवादी हो?’ भन्ने प्रश्न गरेका हुन्।

प्रचण्डले भनेका थिए,’इतिहासमा कहिलेकाहीँ बडो विचित्रको संयोग हुँदो रहेछ, म पनि ओरिजिनल चौँथो महाधिवेशन अथवा ओरिजिनल मसाल वा ओरिजिनल माओवादी होइन, तपाईंलाई ओरिजिनल नै होला जस्तो लागेको होला, मैले २०२८ सालमा पार्टी सदस्य लिएको पुष्पलालबाट हो। र, म पनि ०३३ सालमा पुष्पलाल समूह छोडेर मोहनविक्रमले नेतृत्व गरेको समूहमा प्रवेश गरेको मान्छे हुँ।’

आफूलाई मदन भण्डारीसँग तुलना गर्दै उनले थपे,’०४६ सालको ऐतिहासिक जनआन्दोलनभन्दा ठिक्क अगाडि जतिबेला मदन भण्डारी मालेको महासचिव हुनु भएछ, ठ्याक्कै त्यही बेला म पनि मसालको महासचिव भएछु’, उनले भने,’ यो के संयोग हो, यो के चिज होला कमरेडहरु तपाइँ आफै विचार गर्नुहोला, म धेरै भन्दिनँ।’

यही अभिव्यक्तिलाई आधार भन्दै डा.भट्टराईले प्रचण्डलाई प्रश्न गरे। ‘तपाईं ओरिजनल माओवादी नभए के तपाईं डुप्लिकेट माओवादी हो?’, उनले थपे,’यो तालले त कुनै दिन तपाईंले आफुलाई ओरिजनल कम्युनिस्ट पनि थिइनँ भन्नुपर्ला। किनकी पुष्पलालको हातबाट पार्टी सदस्यता लिएकाले त्यसो भन्ने हो भने पुष्पलाल स्वयं सुरूमा कांग्रेस हुनुहुन्थ्यो।’

‘प्रचण्ड’ले मदन भण्डारीसँग कम्युनिस्ट एकताको कुरा गर्दागर्दै मदनको हत्या भएको समेत बताएका थिए। ‘२०४६ सालपछि एमाले र एकता केन्द्रलाई मिलाउनुपर्छ भन्नेकुरा मसँग थियो र मित्र मदन भण्डारीसँग पनि थियो। हामीले एमाले र एकता केन्द्र मिलाउन सकिन्छ कि सकिदैन भनेर एकपल्ट एजेन्डामै बसेर छलफल गर्ने निधो गर्यौँ। कार्यक्रम पनि तय भयो। खानेकुराको लिस्ट पनि बनाइयो। ती मान्छे अहिले पनि जीवित छन् ललितपुरमा। तर, दुर्भाग्य त्यो भन्दा अगाडि नै मदन भण्डारीको अवशान भयो। उहाँको हत्या भयो।’ त्यो दिन आउँदै आएन’, प्रचण्डले इतिहासको त्यो घडी सम्झदै भनेका थिए, ‘त्यो दिन आएको भए के हुन्थ्यो होला भनेर मैले सोच्छु। त्यो दिन आएको भए मदन भण्डारी पनि सिर्जनशील ढंगले सोच्ने म पनि नयाँ ढंगले सोच्ने भएकाले मिल्न सक्थ्यौँ।’

उनले सबैलाई आफूलाई मदन भण्डारीसँग दाँजेर हेर्नसमेत आग्रह गरेका थिए। ‘मदन भण्डारीको विकासको संयोग र प्रचण्डको विकासको संयोगमा के समानता थियो के थिएन भन्ने बारेमा तपाईंहरुले विचार गरिदिनुहोला’, प्रचण्डले भनेका छन्, ‘त्यसो भएमा मदन भण्डारीलाई बुझ्न पनि प्रचण्डलाई बुझ्न पनि र अहिलेका नेता केपी ओली र अन्य नेतालाई बुझ्न पनि सजिलो हुन्छ भनेर सबै कमरेडलाई भन्न चाहन्छु।’

९ कार्तिक २०७६, शनिबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको