असोज ९, काठमाडौं । स्पेनिस क्लब बार्सिलोनाका कप्तान लियोनल मेस्सीले शनिबार गेटाफेसँगको खेल गुमाउने भएका छन्। बिहीबार इन्टर मिलानसँगको च्याम्पियन्स लिग खेलमा उनी मैदान फर्कने आश गरिए पनि यकिन छैन।
ला लिगा अन्तर्गत भिलारियलसँगको खेलमा सिजनकै पहिलोपटक सुरुवाती ११ मा खेलेका लियोनल मेस्सी घाइते भएका थिए। पहिलो हाफमा नै घाइते भएका उनको अब ठिक हुन लाग्ने समयअनुसार उनी फर्कने थाहा हुने बार्सिलोनाले जनाएको छ।
नयाँ सिजन सुरु हुनअघि पनि घाइते भएका मेस्सी सुरुवातका केही खेलमा टिमबाट बाहिर नै थिए। कोपा अमेरिकाको खेल सकाएर बिदापछि क्लब फर्किएका उनी अभ्यासको पहिलो दिनमै घाइते भएका थिए। त्यसबेला उनको दाहिने गोडाको पिडौंलामा चोट लागेको थियो। अहिले देब्रे गोडामा समस्या देखिएको हो।
मेस्सीले ला लिगामा एथ्लेटिको बिल्बाओसँग १-० ले हारेको पहिलो खेल, रियल बेटिसलाई ५-२ ले हराउँदा, ओसासुनासँग २-२ को बराबरी हुँदा र भ्यालेन्सियालाई ५-२ ले हराएको खेल गुमाएका थिए।
मेस्सीको पिडौंलामा लागेको चोट केही दिनमा ठिक हुने भनिए पनि उनी पूर्ण रुपमा ठिक नहुँदै अर्को चोट लागेको हो। त्यसैले च्याम्पियन्स लिगमा बोरुसिया डर्टमुन्ट र ला लिगामा ग्रानाडासँगको खेलमा उनी दोस्रो हाफको केही समय मैदानमा थिए।
यो सिजन ला लिगामा बार्सिलोनाको सुरुवात २५ वर्ष यताकै खराब भइरहेको छ। ६ खेलमा तीन खेलमा जित, एक बराबरी र दुई खेलमा हार खेलेको बार्सिलोना अंक तालिकामा पाँचौँ स्थानमा छ। यो सिजन अवे मैदानमा एउटै खेल नजितेको बार्सिलोनाले शनिबार बेलुका पौने ८ बजे गेटाफेसँग अवे मैदानमा खेल्दैछ।
प्रतिक्रिया दिनुहोस