ओली-प्रचण्डको आ-आफ्नै ताल, अब के होला ?


असार ११, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीभित्र आन्तरिक किचलो बढ्दै गएको छ। यो समाचार आजको नेपाल समाचारपत्रमा मधुसूदन रायमाझीले लेखेका छन् ।

पार्टी एकीकरण भएको १३ महिनापछि पुनः शीर्ष तहमा भएको सहमति लागू गर्ने कि नगर्ने भन्ने विवाद चुलिएको छ।

पार्टी एकतापूर्व नै पार्टी अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भएको आलोपालो नेतृत्व गर्ने र पार्टीको कार्यदिशाका बारेमा भएको सहमतिलाई लिएर शीर्ष तहमा नै आशंका बढेको छ। अध्यक्ष प्रचण्डले आलोपालो गर्ने सहमति भएको र कार्यान्वयन हुने अभिव्यक्ति दिएपछि पार्टीभित्र राजनीतिकरूपमा तरङ्ग ल्याएको थियो।

पार्टीका नेताहरूको कार्यविभाजन, जनसंगठनको एकीकरण, स्थानीय तहको एकताको विषय टुंगो लाग्न नसकेर सचिवालयको बैठक लम्बिँदै आएको छ। कार्यविभाजन पनि गुटगत स्वार्थका कारण लम्बिँदै आएको छ। पार्टी एकीकरण भएको तीन महिनामा सबै एकताको काम सम्पन्न गरे पनि १३ महिना बितिसक्दासमेत पूर्णता पाउन सकेको छैन।

पार्टीभित्र कार्यविभाजको विषय पेचिलो बन्दै गएका बेला पुनः सचिवालय बैठकमा राजनीतिक प्रतिवेदन संशोधन गर्ने प्रस्तावले नयाँ विवाद जन्माएको छ। सार्वजनिक हुने क्रममा रहेको नेकपाको राजनीतिक प्रतिवेदनमा पार्टीको कार्यदिशा समाजवाद उन्मुख जनताको जनवाद उल्लेख गरिएको छ। तर, पूर्वएमालेका केही नेताले जनताको बहुदलीय जनवादलाई नै राजनीतिक प्रतिवेदनमा समावेश गर्नुपर्ने प्रस्ताव राखेपछि सचिवालय बैठक नै अनिश्चित भएको छ।

पार्टीभित्र गुट व्यवस्थापनमा कठिनाइ बन्दै गएपछि नयाँ–नयाँ विषयले एकताको बाँकी काम भने धलेलिँदै आएको छ। शीर्ष तहमा विवाद हुँदा लामो समयसम्म कार्यकर्ता भूमिकाविहीन बनेका छन्।

पार्टीले पारित गरिसकेको राजनीतिक प्रतिवेदन संशोधन गर्ने नयाँ प्रस्तावले एकीकरणको मर्म र भावनाविपरीत हुने धारणा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सार्वजनिक कार्यक्रमबाटै व्यक्त गरिसक्नुभएको छ।

नेकपाका नेता भीम रावलले दुई ठूला कम्युनिस्ट पार्टी एकीकरण हुनुपूर्व अध्यक्षद्वयबीच भएको निश्चित सहमति अक्षरशः पालना हुनुपर्ने बताउनुहुन्छ। उहाँले नेपाल समाचारपत्रसँग भन्नुभयो, ‘केन्द्रमा कार्यविभाजनको टुंगो लगाउन बाँकी छ, स्थानीय तहको एकताले अझै पूर्णता पाउन सकेको छैन, जनसंगठनको एकता गर्नुछ, यस्तो संवेदनशील अवस्थामा भएका सहमति र कार्यान्वयन गरेर जानुको अर्को विकल्प छैन।’ सहमतिअनुसार बढ्दा नै पार्टीले गति लिने बताउँदै अनावश्यक विषयमा किचलो गर्नुभन्दा पनि सहमतिअनुसार नै अगाडि बढ्नु राम्रो हुने उहाँले बताउनुभयो।

शुक्रबार बसेको सचिवालय बैठकमा अचानक राजनीतिक प्रतिवेदन संशोधन गर्ने विषयले प्रवेश पाएपछि प्रचण्ड ओलीसँग संशङ्कित भएको बताइएको छ। दुई अध्यक्षले समन्वय गरेर सचिवालय बैठक बोलाउने सहमति भए पनि अध्यक्षद्वयबीच संवाद हुन सकेको छैन। नेकपाका नेता हरिबोल गजुरेलले सहमतिबाटै पार्टी अगाडि बढ्नुपर्ने बताउनुभयो। उहाँले भन्नुभया– ‘गाडीको चक्का बाङ्गिएपछि समयमा नै नकस्दा त्यसले असर गर्छ’, नट कस्न ढिला गर्दा त्यसको असर इन्जिनमा नै पर्दै गएको हो। ‘विशेष गरी गुटको व्यवस्थापन गर्न सकस भएकै कारण पारित भइसकेको राजनीतिक प्रतिवेदनको विषयलाई पुनः उठाउन जायज हुदैन’, –उहाँले भन्नुभयो।

११ असार २०७६, बुधबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको